नेपालगन्ज (बाँके), माघ ४ गते । विभिन्न दुई सय प्रकारका म:मको स्वाद प्राप्त गर्नेगरी यहाँ ‘म:म फेस्टिबल’को चौथो संस्करण सुरु गरिएको छ ।
नेपालगन्जमा रहेको सिद्धार्थ कटेजले सुरु गरेको तीनदिने म:म महोत्सवको शुभारम्भ गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यस्ता महोत्सवले नेपालगन्जको आर्थिक कारोबार चलायमान हुने विश्वास व्यक्त गरे ।
सिद्धार्थ बिजनेश ग्रुप अफ हस्पिटालिटीका पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख केशव न्यौपानेले महोत्सव नाफामुखी नभई स्वादको सहर नेपालगन्जलाई देशभर ब्रान्डिङको उद्देश्य राखिएर सुरु गरिएको जानकारी दिए । अङ्ग्रेजी नयाँ वर्ष २०२६ का अवसरमा सुरु गरिएको महोत्सवलाई आगामी वर्षदेखि नेपालगन्जको साझा आयोजनाका रूपमा अगाडि बढाउने लक्ष्य लिइएको उनको भनाइ छ ।
पश्चिम क्षेत्रीय कार्यकारी प्रमुख न्यौपानेका अनुसार आज सांस्कृतिक कार्यक्रमसँगै म:म मेकिङ एन्ड कुकिङ प्रतियोगिता पनि आयोजना गरिने बताए। सो महोत्सवमा दुई सयभन्दा बढी प्रकारका म:म सहभागी गराइएको सिद्धार्थ ग्रुपका हेड अफ सेफ एलबी कौशलले जानकारी दिए। स्थानीय स्वादसँगै नयाँनयाँ फ्लेवरका म:मले महोत्सवलाई विशेष बनाएको उनको भनाइ छ । कौशलले अकबरे खुर्सानी, कोदो, फापर तरुललगायत दुई सय प्रकारका म:म महोत्सवमा प्राप्त हुने बताए।
महोत्सवको अन्तिम दिन सोमबार, राष्ट्रिय तथा स्थानीय ब्यान्डहरूको प्रस्तुति रहने छ भने राष्ट्रिय तथा स्थानीय कलाकारको नृत्य प्रस्तुत गरिने आयोजकले जनाएको छ । स्वादको सहर मानिएको नेपालगन्जमा शनिबारदेखि सुरु भएको म:म महोत्सवले खाद्य पर्यटनलाई थप उचाइ दिने अपेक्षा गरिएको छ ।
कटेजले २०८० सालदेखि निरन्तर रूपमा सो महोत्सव आयोजना गर्दै आएको थियो । सिद्धार्थ ग्रुपअन्तर्गत नेपालगन्जको चारतारे लक्जरी होटल सिद्धार्थसहित देशभर ३३ वटा होटल, रिसोर्ट, रेष्टुरेन्ट तथा क्याफे सञ्चालनमा छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















