गुलरिया(बर्दिया) पुस २२ गते । बर्दियामा रहेका ४८ हजार पशुलाई खोरेत रोग विरुद्धको भ्याक्सिन लगाउन सुरु गरिएको छ । पशु चौपायमा तिव्र रुपमा फैलने खोरेत रोग नियन्त्रणका लागि बर्दिया जिल्लाका आठ ओटै पालिकासँग सहकार्य गरेर एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयले भ्याक्सिन लगाउन सुरु गरेको हो ।
खोरेत रोग पशुचौपायमा तिव्र रुपमा फैलने रोग हो । रोगी पशु अर्को पशुमा सम्पर्कमा आएपछि खोरेत रोग सर्ने गर्दछ । रोगले महामारी कै रुप लिइ पशुस्वास्थ्यमा असर गर्न थालेपछि सरकारले सन् २०१५ देखि भ्याक्सिन लगाउन थालेको हो ।
बर्दियामा वन्यजन्तुबाट पनि सहजै खोरेत रोग सर्ने गर्दछ । गाई भैँसी बाख्रा सुँगुर लगाएतका घरपालुवा जनावरलाई खोरेत विरुद्धको भ्याक्सिन लगाइने पशु सेवा अधिकृत रुपेन्द्रकुमार ओलीले बताउनुभयो । उहाँले लुम्बनी प्रदेश सरकारले बर्दियाका लागि ४८ हजार डोज भ्याक्सिन उपलब्ध गराएको बताउँदै सबै पालिकामा एकैपटक भ्याक्सीनेसनको कार्यक्रम सञ्चालन गरिएको बताउनु भयो ।
एकीकृत कृषि तथा पशुपक्षी विकास कार्यालयका अनुसार यस वर्ष ४८ हजार पशुलाई भ्याक्सिन लगाउने गरी ४७ जना भ्याक्सिनेटर सहित जनशक्ति परिचालन गरेको छ । गत वर्ष कार्यालयले ४० हजार पशुलाई खोरेत भ्याक्सिन लगाएको थियो । भने अघिल्लो आर्थिक वर्ष २०८०-८१ मा ४५ हजार पशुलाई खोरेत रोगविरुद्धको भ्याक्सिन लगाएको थियो ।
पशु सेवा अधिकृत ओलीका अनुसार खोरेत लागेका पशुमा उच्च ज्वरो आउने, मुख, जिब्रो र गिँजामा घाउ हुने, र्याल चुहाउने, खुरको बिचमा घाउ हुने, खाना नखाने, दुधको उत्पादन घट्ने, दुब्लाउने हुन्छ । रोगको समयमा उपचार नभएमा, उत्पादनमा कमी आउने, लंगडोपन हुने र पशु पनि मर्न सक्ने सम्भावना हुन्छ । खोरेत रोगबाट दुध र मासु उत्पादनमा कमी नआओस भनेर सरकारले खोरेत रोगको खोप नियमित उपलब्ध गराउँदै आएको छ ।
उहाँले रोगी जनावरसँग प्रत्यक्ष सम्पर्क भएमा वा रोगी जनावरको मासु र काँचो दुघ खाएमा मानिसमा पनि सर्न सक्ने बताउनुभयो । रोगबाट पशुचौपायलाई बचाउनका लागि नियमित रुपमा खोप लगाउनु पर्ने, बिरामी पशुलाई अलग राख्नु पर्ने र अरु पशुलााई सम्पर्कमा आउन दिन नहुने उहाँले बताउनुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















