परासी, पुस २२ : ठेक्का सम्झौता अनुसार काम भएको भए अहिले बुटवल–नारायणगढ सडक खण्डमा निर्वाध सवारी साधन सञ्चालन हुने थिए । करिब ३ घण्टा लाग्ने १ सय १४ किलोमिटरको यो राजमार्ग छिचोल्न अहिले कम्तीमा पनि छ/सात घण्टा लाग्ने गरेको छ । सामान्य वर्षा र शीतलहर चल्यो भने दाउन्ने खण्ड मात्र पार गर्न आठ/नौ घण्टासम्म लाग्ने गरेको छ ।
बुटवलमा विनोद परियार गत मङ्गलबार काठमाडौंबाट घर फर्किंदै थिए । राती १० बजे दुम्किबास आइपुगेका उनलाई दाउन्ने खण्डको आधा भाग छिचोल्न १० घण्टा लाग्यो । इभी भ्यान भएकाले साँघुरो सडकमा पनि ओभरटेक गर्दै मन्दिरसम्मको ७ किलोमिटर यात्रा तय गरेपछि अगाडि बढ्न सक्ने अवस्था भएन । त्यसपछि परियारसहित केही यात्रु हिँडेर बर्दघाटतर्फ लागे । सवारीको जाम, सडक हिलाम्य हुँदा हिँड्नसमेत सहज भएन । जसोतसो उनीहरू दुई घण्टाको पैदल यात्रा पछि बर्दघाटसम्म पुगे । त्यसपछि अर्को सवारी साधन खोजेर बुटवलतर्फ लागे ।
‘सामान्य शीतलहरमा पनि १४ किलोमिटर सडक पार गर्न १२ घण्टा लाग्यो । सवारी लेन कसैले पनि मिलाएको पाइएन । सडक जाम भयो, हिँडेर गन्तव्यमा जान पनि सडक हिलो र खाडलले गर्दा साह्रै आपत् पर्यो,’ परियारले भने, ‘जङ्गल र पहाडको बीचमा न त केही किनेर खान पाइन्छ, न दिसा पिसाब गर्ने स्थान नै छ । यो सास्ती कहिलेसम्म यात्रुले भोग्नुपर्ने हो । सरकार कहाँ छ, के गर्दै छ ? अत्तोपत्तो नै छैन ।’

सुन्दा पनि दिग्दार लाग्ने यो सास्ती दाउन्ने खण्डमा यात्रा गर्ने यात्रुले पटक–पटक भोग्दै आएका छन् । दाउन्ने खण्डबाट नजिकै पश्चिमतर्फ रूपन्देही र पूर्वतर्फ चितवन जाने यात्रु केही समय हिँडेर भए पनि अर्को सवारी साधनमा गन्तव्यसम्म पुग्छन् । तर, लामो दूरीका यात्रुलाई भने विकल्प केही छैन । दुई दिनसम्म पनि जाममा भोकै बस्नुपर्ने बाध्यतामा यात्रु छन् । बालबालिका, वृद्धवृद्धालाई त झन् यो सडक खण्डको यात्रा कुनै सजाय दिएभन्दा कम छैन ।
यस क्षेत्रमा यात्रा गर्ने यात्रुसँगै चालकको पीडा पनि उस्तै छ । गुल्मीका किरण गिरी सवारी चालक हुन् । उनी बुटवल लगायत पश्चिम क्षेत्रका बजार तथा उद्योगबाट सामान काठमाडौं लैजाने गर्छन् । दाउन्ने खण्डमा सडक जाम हुने र सवारी सञ्चालनमा समस्या हुने बित्तिकै ट्रक लगायतका ठूला सवारीलाई बर्दघाट वा दुम्कीबास नै रोक्ने गरिन्छ । पहिलो प्राथमिकता यात्रुवाहक सवारीलाई दिने भएकाले मालवाहक सवारी चार दिनसम्म पनि दाउन्ने खण्डको वारिपारि रोकिनुपर्ने अवस्था रहेको छ ।
यात्रुवाहक सवारी साधनका चालक दिनहुँ यही सडक भएर ओहोरदोहोर गर्दा धूलोले स्वास्थ्यमा समस्या आउनुका साथै हरेक दिनको जाम र सडकको दूरावस्थाका कारण सास्ती भोगिरहनु परेको छ । ‘यात्रुसँगै हामीले पनि निकै सास्ती भोगेका छौं । साना सवारीजस्तो हाम्रोमा एसी जडान हुँदैन । धूलो सबै गाडीभित्र पस्छ,’ गिरीले भने, ‘लगातार सात वर्षसम्मको यो खण्डको यात्रामा धूलोले खोकी लाग्ने र श्वासप्रश्वासमा समेत समस्या देखिएको छ । मास्क नलगाउने हो भने सवारी चलाउन नसक्ने अवस्था छ ।’
घन्टौंसम्म जाममा बस्नुपर्ने र सामान्य वर्षा हुँदा पनि सवारी चिप्लिने डरका बीचमा यात्रु दाउन्ने पहाडको जंगलमा बस्नुपर्ने बाध्यता छ । यो सडक खण्डको यात्रा गर्दा मौसमको जानकारी लिएर मात्र हिँड्नुपर्ने अवस्था छ ।

दाउन्नेको डिजाइनमै अलमल
दाउन्ने खण्डको ४ किलोमिटर सडकमा कालोपत्र वा ढलान के गर्ने भन्नेमा अझै अन्योल छ । दाउन्ने खण्डको १४ किलोमिटरमध्ये ४ किलोमिटर पूर्वी खण्ड र १० किलोमिटर पश्चिम खण्डमा पर्छ । ठेक्का सम्झौतामा सबै कालोपत्र गर्ने उल्लेख थियो । तर, पछि दाउन्नेमा कालोपत्र नटिक्ने, बगाउने, सडक भासिने समस्या हुँदा जोखिम क्षेत्रमा ढलान गर्ने योजना कार्यान्वयनमा आयो । अहिलेसम्म दाउन्ने खण्डमा पूर्वतर्फ २ किमि ढलान भएको छ भने पश्चिमतर्फ ५ किलोमिटर कालोपत्र गर्नुपर्नेमा ३ किलोमिटर कालोपत्र भएको छ भने २ किलोमिटर ढलान गर्ने काम भइरहेको छ ।
माघको दोस्रो हप्तासम्ममा अहिले भइरहेको कामको मल्याङ्कन गरेर चार किलोमिटर क्षेत्रमा कालोपत्र गर्ने कि ढलान गर्ने भन्ने निर्क्योल हुने बुटवल नारायणगढ सडक विस्तार आयोजना पश्चिम खण्डका प्रमुख पशुपति ज्ञवालीले बताए । ‘अहिले दाउन्नेमा काम धमाधम भइरहेको छ । यातायात सञ्चालनमा समस्या देखिएको यो खण्डमा कामले तीव्रता लिए पनि यात्रुले अनुभूत हुने गरेर काम देखिन अझै केही समय लाग्नेछ,’ उनले भने, ‘दाउन्ने खण्डको १४ किमि क्षेत्रमध्ये १० किलोमिटर क्षेत्रमा कालापत्र र ढलान स्वीकृत भए पनि चार किलोमिटर क्षेत्रमा के गर्ने भन्नेमा छलफलमा छौं । विभागीय मन्त्रीले पनि यो सडक खण्डको काममा निकै चासो दिनुभएको र जनवरीपछि कालोपत्र वा ढलान निर्क्योल गरेर आगामी असारसम्ममा दाउन्ने खण्डको काम सम्पन्न गर्ने लक्ष्यमा छौं ।’

दाउन्ने खण्डमा पश्चिमतर्फका दुईवटा बाहेक अरु कल्भर्ट बनाउने र साना तथा ठूला पुलको काम अन्तिम चरणमा छ । निर्माण कम्पनी चाइना स्टेट कर्पोरेसनले अहिले यस खण्डमा दुई सिफ्टमा काम गरिरहेको छ । दिन र रात दुवै समयमा काम गरिरहेको र जनवरीको अन्तिमसम्ममा अहिलेसम्म पाएको स्वीकृत काम सम्पन्न गर्ने निर्माण कम्पनीका इन्जिनियर विनीत कोइरालाले बताए ।
अहिलेसम्म स्वीकृत भएको काम सम्पन्न भएपछि बाँकी चार किमिमा आयोजनाले दिएको निर्देशनअनुसार काम हुनेछ । अहिलेसम्म काम सम्पन्न हुनुपर्नेमा अझै सडकको डिजाइनमा नै अलमल हुँदा यो काम समयमा नै सकिनेमा स्थानीय भने आशंका व्यक्त गर्छन् ।
६ महिनामा ३२ पटक सडक अवरुद्ध
नारायणगढ–बुटवल सडक विस्तारका क्रममा काम सुरु भएपछि सबैभन्दा बढी सवारी आवागमन अवरुद्ध दुम्कीबास र बर्दघाटको बीचमा रहेको दाउन्ने सडक खण्डमा भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका अनुसार दाउन्ने खण्डमा २०८२ साउन १ गतेदेखि पुस २० गतेसम्म ३२ पटक सडक अवरुद्ध भएको छ । यसले पनि दाउन्ने सडक खण्डको यात्रा कति कष्टकर छ भन्ने देखाउँछ । साँघुरो सडकमा अहिले पर्खाल लगाउने, कल्भर्ट बनाउने तथा ढलान गर्ने काम भइरहेको छ ।
एकतर्फी मात्र यातायात सञ्चालन गर्न सकिने अवस्थाको समयमा दुईतर्फी यातायात चलिरहेको छ । सडकको दुरावस्था छ । खाडल, हिलो र धूलोले गर्दा दिनहुँ सवारी बिग्रिने गर्छ । दुई–तीन स्थानमा ठूला सवारी साधन बिग्रिए भने पनि सडक एकतर्फी हुँदा यो सडक खण्ड पार गर्न लामो जाममा पर्नुपर्ने अवस्था आउँछ ।

‘सडकको अवस्था राम्रो छैन । मुख्य राजमार्ग भएकाले सवारीको चाप बढी छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रमुख कुशल बर्तौलाले भने, ‘हामीले सकेसम्म ट्राफिक व्यवस्थापन गर्ने काम गरिरहेका छौं । यो खण्डको सास्ती कम गर्न सडक निर्माणलाई तीव्रता दिनु नै दीर्घकालीन उपाय हो ।’
काममा ढिलाइ, सरकार म्याद थपेको थपै
४४ महिनामा निर्माण हुनुपर्ने सडक ७ वर्षमा पनि पूरा हुन सकेको छैन । सडक विस्तार समयमा नहुँदा यात्रु र स्थानीयले सास्ती भोगिरहँदा सरकारले भने चौथोपटक म्याद थपेको हो । २०७५ चैतमा काम सुरु गरेर २०७९ साउनमा निर्माण सम्पन्न हुनुपर्ने भए पनि पटक–पटक म्याद थप हुँदा काम सम्पन्न भएको छैन । पहिलो पटक थप भएको म्यादमा पनि कामले गति नलिएपछि दोस्रो पटकका लागि २०८१ साउन ८ गतेसम्म म्याद थप गरेको थियो ।
तर दोस्रो पटक पनि काम सम्पन्न नभएपछि २०८२ साउन ८ गतेसम्मका तेस्रो पटक म्याद थप भयो । त्यो अवधिमा पनि काम नसकिएपछि अहिले २०८३ साउन मसान्तसम्म म्याद थप भएको छ । अहिलेसम्म ७४ प्रतिशत काम भएको छ । १ सय १४ किलोमिटर सडक आयोजनालाई २ खण्डमा विभाजन गरेर ठेक्का सम्झौता गरिएको हो । पूर्वी नवलपरासीको गैंडाकोटदेखि दाउन्नेसम्म ६५ किलोमिटर सडकलाई खण्ड ‘क’ र दाउन्नेदेखि बुटवलसम्मको ४९ किलोमिटर लाई खण्ड ‘ख’ अन्तर्गत दुई क्षेत्रमा काम भइरहेको छ । एसियाली विकास बैंक (एडीबी)को ऋण सहयोगमा कुल १६ अर्ब ९९ करोड ५२ लाख लागतमा राजमार्गको विस्तार भइरहेको छ ।

विकल्प नसोच्दा सास्ती
बुटवल–नारायणगढ सडक खण्डको दाउन्ने खण्ड पार गर्ने वैकल्पिक मार्ग नहुँदा यात्रुले वर्षौंदेखि सास्ती भोगिरहेका छन् । विकल्पका रूपमा प्रयोग गर्न सकिने सडकमा राज्यले ध्यान दिएको छैन । यो सडक खण्डको विकल्पका रूपमा पश्चिमबाट बर्दघाटको भुताहाबाट उत्तरतर्फ आमवास हुँदै पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिकाको डाडाजोर, दुम्कीबास सडक खण्डलाई स्तरोन्नति गर्न सकिने भए पनि स्थानीय तह, प्रदेश र संघ तीनै सरकारले चासो देखाएका छैनन् ।
छोटो र सहज रूपमा दाउन्ने खण्ड पार गर्नका लागि साना सवारीलाई भुताहा, संसारकोट, पटुके, डाँडाजोर हुँदै दुम्कीबास निस्कन सहज मानिन्छ तर यो खण्ड मर्मत नहुँदा हिलो र साँघुरो सडकमा यात्रा गर्न सहज छैन । मालबाहक सवारीले भने लामो दूरीको रुट प्रयोग गर्नुपर्ने छ । १५ किलोमिटर लामो यो सडक ४ किलोमिटर कालोपत्र छ भने बाँकी कच्ची र साँघुरो भएकाले स्कारपियो, फोर ह्वील जिप मात्र सञ्चालन भइरहेको छन् । बीचमा पर्ने गँगटे खोलामा पुल नहुँदा वर्षामा यो खण्ड प्रयोग गर्न सकिँदैन ।

लुम्बिनी प्रदेश सरकारले दाउन्नेको वैकल्पिक मार्गका रूपमा काम अगाडि बढाएको भए पनि पर्याप्त बजेट नहुँदा सडक चौडा बनाउने काम ढिलो भएको छ । तदारुकताका साथमा यो खण्डमा काम भएको भए अहिले दाउन्ने खण्डमा सवारी रोकेर काम गर्नुपर्ने अवस्था आउने थिएन । पछिल्लो पाँच वर्षमा वैकल्पिक मार्गका रूपमा लिएको बर्दघाटको भुताहादेखि आमवाससम्म चार किलोमिटर मात्र कालोपत्र भएको छ । त्यसपछि यो खण्डमा बजेट परेको छैन ।
‘वैकल्पिक मार्गमा सङ्ग र प्रदेश सरकारले चासो दिएका छैनन् । स्थानीय तहले मात्र यो काम गर्न सक्दैन,’ बर्दघाट नगरपालिकाका प्रमुख शम्भुलाल श्रेष्ठले भने, ‘यो सडक स्तरोन्नति गर्ने हो भने पहाडी भेगको पर्यटन विकास र दाउन्ने खण्डको विकल्प हुने थियो । यात्रुले यसरी दुःख पाउनुपर्ने अवस्था आउने थिएन ।’

सडक विभाग र ट्राफिक प्रहरीले भने यो सडक खण्ड भएर सवारी सञ्चालन गर्न औपचारिक रूपमा सुझाव दिँदैनन् । वैकल्पिक मार्गको प्रयोग गर्दा सवारीधनीले रुट परमिट भने अनिवार्य रूपमा लिनुपर्ने छ । सडक विभागले नारायणगढबाट पश्चिम जाने सवारीलाई पूर्वी नवलपरासीको गैंडाकोटदेखि कालिगण्डकी करिडोर हुँदै पाल्पा निस्किएर बुटवल जानुपर्ने छ ।
यो खण्डमा मिनी बस र यात्रुवाहक बस सञ्चालन गर्न सकिनेछ । ठूला सवारी र मालवाहक ट्रकले चितवनको मुग्लिनबाट पोखरा, पाल्पा हुँदै बुटवल निस्कनुपर्ने छ ।
– नवीन पौडेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















