01/08/2026, 10:09:29
बिहिबार, पुष २४, २०८२

भद्रपुर विमानस्थलको रनवे बाहिरको अन्धकारमा दुई एयरहोस्टेसले जुटाएको साहस


काठमाडौँ, पुस २३ : भद्रपुरमा बुद्ध एयरको जहाज धावनमार्गबाहिर चिप्लिएको दुर्घटनाको ठ्याक्कै एक वर्षअघि जापानको टोकियोस्थित हानेदा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै गरेको जापान एयरलाइन्सको ए–३५० विमान जापान कोस्ट गार्डको अर्को विमानसँग ठोक्कियो । दुवै विमानमा आगलागी भयो । कोस्ट गार्ड विमानमा सवार पाँच जना चालक दलको मृत्यु भयो । तर जापान एयरलाइन्सको यात्रुवाहक विमानभित्र रहेका ३७९ यात्रु र चालक दलका सबै सदस्य आगोको लप्काले पूरै जहाज खरानी बनाउनुअघि सुरक्षित रूपमा बाहिर निस्कन सफल भए ।

विश्व सञ्चारमाध्यमले यसलाई ‘चमत्कार’ भने । तर उड्डयन विज्ञहरूले यसलाई अर्कै शब्दमा व्याख्या गर्दै भने- ‘यो तालिम, अनुशासन, यात्रुको धैर्यता र समयको करामत हो ।

यो घटनाको वर्ष दिनमै जापानबाट हजारौं किलोमिटर दूरीमा रहेको नेपालको पूर्वी भेगको भद्रपुर विमानस्थलमा एउटा सानो घरेलु वायुसेवाको एटीआर विमान अवतरण गर्दै थियो । धावनमार्गबाट चिप्लिएर बाहिर गयो । बुद्ध एयरको उडान यु ४–९०१ साँझ ८ बजेर २३ मिनेटमा काठमाडौंबाट भद्रपुरतर्फ उडेको थियो । ९ बजेर ६ मिनेटमा अवतरण भयो । विमानमा ५१ यात्रु र चार जना चालक दल सदस्य थिए ।

अल्फा माइक फोक्सट्रट रजिस्ट्रेशन नम्बरको एटीआर–७२ विमानले त्यसदिन पहिले पोखरा र विराटनगर उडान पूरा गरिसकेको थियो । भद्रपुर उडान त्यस दिनको अन्तिम उडान थियो । ककपिटमा कप्तान शैलेश लिम्बू ‘पाइलट इन मोनिटरिङ’ को भूमिकामा थिए भने कोपाइलट सुशान्त श्रेष्ठ ‘पाइलट इन फ्लाइङ’ थिए । दुवै अनुभवी थिए । यसअघि कोपाइलट श्रेष्ठका दुई वटा अवतरण सामान्य भएका थिए ।

ककपिट पछाडि क्याबिनमा दुई परिचारिका थिए । एटीआर विमानको संरचनाअनुसार एक अगाडि, अर्को पछाडि । अगाडिको जम्प सिटमा अञ्जली खड्का थिइन्, जो करिब एक वर्षदेखि बुद्ध एयरको एटीआर फ्लिटमा कार्यरत थिइन् । उनको छेउका इमर्जेन्सी लगायत अरू सिटहरू त्यस साँझ खाली थिए ।

यू ४–९०१ उडानभित्र रहेका यात्रुलाई क्याबिन क्रूले अवतरणको भद्रपुरमा अवतरणको खबर सुनाएपछि उनीहरू खुसी नहुने कुरै भएन । अवतरण सुरुवातमा असामान्य थिएन । तर केही सेकेन्डमै अवस्था फेरियो । विमानले धावनमार्ग छोयो, तर अपेक्षित रूपमा गति कम भएन । यात्रुले जहाज चिप्लिएर दूरी लामो भएको अनुभव गरे । अन्ततः विमान धावनमार्ग बाहिर खोल्सोतर्फ पुगेर अड्कियो ।

क्याबिनभित्र झट्का महसुस भयो । यात्रुहरू झस्किए । जहाज गुड्दै गर्दा त्यसैबेला क्याबिनका सबै बत्ती निभे । इन्टरकम टेलिफोन पनि बन्द भयो । धमाधम सिट बेल्ट खोलिए । केही सेकेन्डमै सबै जना पछाडितर्फ रहेको ढोकातर्फ दौडिन थाले ।

यो घटनालाई नजिकैबाट हेरिरहेका एक जना इन्जिनियरका अनुसार, बत्ती निभ्नुमा आगलागीको जोखिम घटाउन ककपिटबाट पाइलटले तत्काल ब्याट्री लाइन काटेको हुन सक्छ । त्यो निर्णयले सम्भावित आगो टार्‍यो, तर ककपिट र क्याबिनबीचको सम्पर्क नहुँदा यात्रुहरूले के भएको हो ? के गर्ने भेउ पाउन सकेनन् ।

त्यहाँ न त पहिल्यै इमर्जेन्सी घोषणा भएको थियो न त कप्तानबाट कुनै आदेश जारी भएको थियो । अन्धकारकाबीच अगाडि जम्पसिटमा बसेकी अञ्जलीले सिटमुनिको टर्च निकालिन् । तालिमअनुसार दायाँपट्टिको इमर्जेन्सी ढोकातर्फ गइन् । तर बाहिर इन्जिन अझै घुमिरहेको देखियो । त्यो ढोका खोल्नु विनाशकारी हुन्थ्यो । पखेटाले अँध्यारोमा मान्छे काटिन सक्छ ।

उनी फर्केर बायाँपट्टिको इमर्जेन्सी ढोकामा पुगिन् र लक हटाइदिइन् । परिचारिका अञ्जली पछाडितर्फ यात्रुलाई धैर्यताका लागि आश्वस्त पार्न खोज्दै थिइन् । भिडले बाटो छेक्यो । उनलाई सुनेन । कसैले उनको हातै समातेर भन्यो ‘हिँड ढोका खोल्न’ र पछाडि लिएर गयो ।

एटीआर विमानका इमर्जेन्सी ढोका ‘पुस एन्ड पुल’ गर्दा खुल्छन् । यो कुरा यात्रुलाई उडानअघि नै अभ्यासमार्फत् बताइन्छ । तर भद्रपुरमा त्यो रात क्याबिन क्रूलाई कोही कसैलाई सुनिरहेको थिएन । न त अभ्यासमै भनेको स्मरण गरे । यात्रु चिच्याइरहेका थिए । होहल्ला फैलियो । त्रास थियो । केही सिटमाथिको कम्पार्टमेन्टबाट लगेज निकालिँदै थिए । केही गल्लीबाट निस्किन खोज्दै थिए । जहाजको गल्ली जाम भइसकेको थियो ।

एक यात्रुले अगाडिको लक खोलिसकेको इमर्जेन्सी ढोकामा लात्ती र बल प्रयोग गरे । ढोका खुल्यो । यो कुरा दुवै एयरहोस्टेसले देखेनन् । किनकि यो यस्तो बेला थियो, जहाजमा कुनै पनि बेला आगलागी हुन सक्ने त्रासमा भागदौड चलिरहेको थियो ।

यो घटनापछि अवलोकन तथा जाँच गर्न भद्रपुर पुगेका प्राधिकरणका सरकारी अधिकारीहरूका अनुसार, पाँच–आठ जना यात्रुले अन्धकारमा इमर्जेन्सी ढोकाबाट हाम फालेका थिए । बाहिर के छ, केमा फाल हाने भन्ने थाहा नपाई अन्धकारमा ।

पछाडिको मुख्य ढोका बन्द थियो । तर त्यसको ठिक अगाडि सर्भिस डोर खुला थियो । त्यहाँ लगेजको थुप्रो थियो । अञ्जलीले झोला लात्तीले हटाइन् । सर्भिस डोरबाट धेरै जसो निस्किसकेका थिए । त्यहाँ आरती अधिकारी थिइनन् । बाहिरको हावा इन्धन र तेलको गन्धले भरिएको थियो । पखेटा र इन्जिन प्रणालीबाट निस्किएको तेलले कपडामा छिटा परिरहेको थियो । आगो लागेको थिएन । तर समय अत्यन्त संवेदनशील थियो ।

अञ्जलीले अलि पर पुगेका एक यात्रुलाई बोलाइन् र ढोका थाम्न लगाइन् । उनी पुनः भित्र बोर्डमै पसिन् । बाँकी रहेका यात्रुलाई निकाल्न थालिन् । भित्र अझै एक वृद्ध यात्रु सिट समातेर उभिएका थिए । बोलाउँदा पनि हिँडेनन् । उनी अशक्त रहेछन् । अन्ततः उनलाई अञ्जलीले समातेर बाहिर निकालिन् । सबै यात्रु बाहिरिएपछि मात्र अञ्जली आफैं सर्भिस डोरबाट निस्किइन्–इमर्जेन्सी डोरबाट होइन । उनी भागिनन् । उनी निस्किनै लाग्दा कोपाइलट श्रेष्ठ पछाडि आइपुगे ।

जहाज जोखिममुक्त भइसकेकाले उनी खासमा पछाडि सघाउन आएका रहेछन् । तर त्यसबेला सबै ५१ यात्रु जहाजबाट झरिसकेका थिए । श्रेष्ठले अञ्जलीलाई इमर्जेन्सीबाट निस्किन भने । तर उनी पुन: जहाज भित्र फर्किन् । बरु उनले पखेटा घुमिनै रहेको र केही यात्रु र आफ्नो पोसाकमा पखेटाको हावाले तेल(आयल)को छिटो परेको बताइन् । उनको सुझावपछि कोपाइलट पुन: ककपिटमा पसे । उनले के–के गरे अबको प्राविधिक अनुसन्धानबाट थाहा होला ।

अन्जली हुलमूलसँगै सर्भिस डोरमा आउँदा आरती थिइनन् । तर पछाडिको भागमा आरतीले पनि उस्तै त्रासमान यात्रुको अराजकता भोगिरहेकी रहिछन् । सात वर्षको अनुभव भएकी उनले पहिला त मूल ढोका नै खोल्ने प्रयास गरेकी थिइन् । तर सकिनन् । अनि उनले कार्गो राख्न प्रयोग हुने सर्भिस डोरमा बल लगाइन् । खुल्यो ।

त्यो खोल्ने प्रयास गर्दै उनको पछाडि अघि नै भिड जम्मा भइसकेको थियो । ढोका खुलेसँगै यात्रुहरूको धक्काले उनी नै भुइँमा लडिन् । उनले आपत्कालीन अवस्थामा के गर्ने/नगर्ने बारे लिएका तालिम अनुसार, भुइँमा छरिएका यात्रुलाई सम्हालेर जोखिम क्षेत्रतर्फ जान नदिई अँध्यारोमा जहाजबाट टाढा पठाउन थालिन् ।

उनको फोन झोलामा जहाज भित्रै थियो । न इन्टरकम थियो । ककपिटबाट के गर्ने आदेश थिएन । इभ्याकुएसन इमर्जेन्सी म्यानुअल अनुसार आधिकारिक थियो कि थिएन भन्ने जानकारी पनि थिएन । तर जोखिम मूल्यांकन गरेर यात्रुलाई इन्जिन र विमानबाट टाढा सुरक्षित स्थानतर्फ लैजाने कामलाई उनले निरन्तर गरिरहिन् ।

केही यात्रुले उनलाई अन्धकारमै ढोका खोलेकोमा खुसीले अँगालो हाले । पछि दुवै परिचारिकाको भेट टर्मिनलमा भयो । सर्भिस डोर थम्याउन सघाउने यात्रुले राति भद्रपुर टर्मिनलमा अन्जलीले गरेको उद्धारबाट प्रभावित भई फोटो खिचे ।

उनीहरूले दिएको घटनाको बयान अनुसार ५/८ जना अगाडिको इमर्जेन्सी ढोकाबाट निस्किएका थिए । बाँकी सबै आरतीले खोलेको सर्भिस डोरबाटै निस्किएका थिए । जहाँ ऊँचो ढिस्को भएकाले यात्रुहरूलाई टेक्न सहज भएछ । यात्रु सबै निस्किएपछि सुरक्षाकर्मी टर्च बालेर घटनास्थल पुगेको बयानमा भनिएको छ ।

जापानको घटनालाई ‘चमत्कार’ मान्ने हो भने भद्रपुरको घटनामा बाहिर आएका यात्रुका एकतर्फी बयान भिडियो नियमनकारी निकाय, वायुसेवा कम्पनीका लागि ‘चेतावनी’ मूलक सन्देश हुन् । यो तुलना प्रविधिको होइन । तर दुवै विमान अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षित थिए । दुवै चालक दल प्रशिक्षित थिए । फरक मानवीय व्यवहारमा देखियो ।

हानेदामा यात्रुले आगोका बीच पनि निर्देशन कुर्दै बसे । झोला छोडे । अनुशासन देखाए । प्रणालीले काम गर्‍यो । भद्रपुरमा डरले इमर्जेन्सीका बेला अपनाइने प्रोटोकललाई उछिन्यो । मूल्यांकन नगरी ढोका खोलियो । लगेजले ढोका छेक्यो । क्यानबिन क्रूले केही पनि होइन भन्ने मानसिकतामा जहाजका सिसा फुटाउन बहादुरी प्रदर्शन भयो । निर्देशन सुनिएन ।

उड्डयन सुरक्षामा ‘९० सेकेन्ड’ एउटा मन्त्र छ । यसबारे हरेक क्याबिन क्रू जानकार हुन्छन् । हरेक व्यावसायिक विमान ९० सेकेन्डभित्र पूर्ण इभ्याकुएसन गर्न सक्षम हुनुपर्छ–आधा ढोका नखुले पनि । जोखिमको अवस्था हेरेर कसले कति पालना गर्छ घटना अनुसार फरक पर्छ । तर भद्रपुरमा भएको शान्त र नर्मल ल्यान्डिङमा २/४ सेकेन्डसम्म केही भएको थिएन ।

चालक दलको प्रारम्भिक बयान अनुसार, ७२ सिट क्षमताको जहाज अवतरण हुनुपर्ने विन्दुमा ल्यान्डिङ गियरले टेक्न पाएनन् । केही सय मिटर अगाडि पाङ्ग्रा टेकाइँदा ३५ सिटर एभ्रोका लागि बनाइएको (पछि विस्तार गरिएको) धावनमार्गमा यदि ३/४ सय मिटर परसम्म समथर भइदिएको भए सायदै जहाजले स्टक्चर ड्यामेजको क्षति बेहोर्नु नपर्ने हुन सक्थ्यो ।

झन्डै ५० करोड मूल्य बराबरको बुद्धको यो एटीआर–७२ अहिले भद्रपुर विमानस्थलमा ‘डिजेबल एयरक्राफ्ट’का रूपमा अलगै राखिएको छ । प्राविधिक परीक्षणले अब उड्न मिल्छ कि मिल्दैन भन्ने निर्णय गर्नेछ । १८ पुस शुक्रबारका दिन बिहान भद्रपुरमा यसको उडान त्यसको पहिलो थियो । यदि अब उड्न नमिल्ने ठहरियो भने भद्रपुरमै यसको अन्तिम गन्तव्य हुन सक्ने छ । किनकि इन्जिनियरहरूले अब यो विमान मर्मत गरेर उडाउँदा जहाजको मूल्यभन्दा धेरै महँगो हुने भनेका छन् ।

– सुरज कुँवर