काठमाडौँ, फागुन १० गते । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएका विश्वव्यापी कर अर्थात् आयात शुल्क त्यहाँको सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।
ह्वाइट हाउसले गत वर्ष घोषणा गरेका अधिकांश कर अवैध रहेको ठहर सर्वोच्चले गरेपछि राष्ट्रपति ट्रम्पले नयाँ १० प्रतिशत करको घोषणा गर्नुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ ।
अदालतमा बहुमत न्यायाधीशले ट्रम्पले आफ्नो अधिकार हद पार गरेको ठहर गरेका थिए । छ जना न्यायाधीशले कर अवैध भएको ठहर गर्दा बाँकी तीन जना विपक्षमा उभिएका थिए । सर्वोच्चको यसले नयाँ करबापत जम्मा भएको अर्बौं डलर फिर्ता हुने बाटो पनि खोल्ने ठानिएको छ तर ह्वाइट हाउसमा बोल्दै ट्रम्पले कानुनी लडाइँबिना कर फिर्ता नहुने सङ्केत गर्नुभएको छ ।
अदालतको यो फैसलाले विश्वव्यापी व्यापारमा भने नयाँ अनिश्चय थपेको छ । गत वर्ष मेक्सिकोलाई लक्षित गरेर लागु गर्न सुरु गरिएको कर पछि क्यानडा, चीनसहित दर्जनौँ अमेरिकी व्यापारिक साझेदार देशबाट आयात हुने सामग्रीमा विस्तार गरिएको थियो ।
सर्वोच्चले ट्रम्पको कर नीतिमाथि रोक लगाएपछि अर्थतन्त्रको सुस्त वृद्धि र आप्रवासन दमनप्रति बढ्दो जनअसन्तुष्टिले उहाँको राजनीतिक धारलाई चुनौती दिएको छ । नोभेम्बरमा हुने मध्यावधि निर्वाचन नजिकिँदै जाँदा प्रतिनिधि सभा र सिनेटको एक तिहाइ सिट दाउमा छन् ।
राष्ट्रपति ट्रम्पले डेमोक्रेटले नियन्त्रण लिए महाभियोगको प्रयास हुन सक्ने चेतावनी दिँदै आउनुभएको छ । यद्यपि हालसम्म दुवै सदन रिपब्लिकन नियन्त्रणमै छन् । यद्यपि नीतिगत चुनौती अदालतमार्फत अगाडि बढ्दै रहे पनि राष्ट्रपति ट्रम्प सन् २०२९ सम्म ह्वाइट हाउसमा रहने निश्चित छ ।
आउँदो मङ्गलबारको सम्बोधनमार्फत उहाँले आफ्नो उपलब्धि प्रस्तुत गर्दै आगामी राजनीतिक यात्राको दिशा स्पष्ट पार्ने अपेक्षा गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















