02/22/2026, 10:13:50
आइतबार, फागुन १०, २०८२

लगानी बढ्दा, बढ्यो सुनको आयात


काठमाडौँ, फागुन १० गते । लगानीकर्ता आकर्षित हुँदा सुन आयात बढेको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनामा २१ अर्ब २० करोड ७९ लाख रुपियाँ बरारको एक हजार ११४ केजी सुन आयात भएको छ । गत वर्ष साही अवधिमा १० अर्ब ४५ करोड ४९ लाख रुपियाँ बराबरको ८८७ केजी सुन आयात भएको थियो ।

एकै वर्षको अन्तरमा सुनको परिणाम र मूल्यको हिसाबले आयात बढेको विभागको तथ्याङ्कले देखाउँछ ।

सुनचाँदी व्यवसायी तेजरत्न शाक्यले सुनको मूल्य बढ्दा लगानीकर्ताले लगानी बढाएपछि आयात बढेको जानकारी दिनुभयो । “बजारमा मूल्य बढेकाले सुनको कारोबार ८० प्रतिशत घटेर सुन व्यवसायीलाई व्यवसाय सञ्चालन गर्न कठिन भइरहेको छ,” शाक्यले भन्नुुभयो, “तर भाउ बढ्दा लगानीकर्ताले सुनमा लगानी बढाएकाले पनि आयात बढेको देखिन्छ ।

निरन्तर सुनको मूल्य बढ्दै गएकाले नाफा कमाउन लगानीकर्ता सुनमा आकर्षित भई लगानी गरेको हुन सक्ने उहाँको भनाइ छ । नेपाल राष्ट्र बैङ्कले ढिका सुन खरिद गर्न नपाइने व्यवस्था गरे पनि लुकिछिपी बिक्री बढेकाले यसलाई नियमन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

२०८१ फागुन पहिलो साता प्रतितोला एक लाख ७० हजार रुपियाँ रहेको सुनको मूल्य अहिले बढेर तीन लाख चार हजार सात सय रुपियाँ पुगेको छ । एक वर्षको अवधिमा सुनको मूल्य तोलामा एक लाख ३४ हजार सात सय रुपियाँले बढेको छ । सुनको मूल्य निरन्तर बढ्दा सुनमा व्यावसायिक रूपमा लगानी बढ्न थालेको हो ।

– लक्ष्मी सापकोटा