02/21/2026, 23:34:27
शनिबार, फागुन ०९, २०८२

धनकुटामा हाइस दुर्घटना : सातजना घाइते


धनकुटा, फागुन ९ गते । कोशी राजमार्गमा पर्ने धनकुटा नगरपालिका–१ स्थित निगालेमा हाइस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । शनिबार साँझ करिब ५ बजे काठमाडौँबाट धनकुटाको हिलेतर्फ जाँदै गरेको बा २ ख १५६७ नम्बरको हाइस अनियन्त्रित भई सडकबाट करिब १० फिट तल खसेर दुर्घटना भएको हो ।

घाइते हुनेमा धनकुटा नगरपालिका–१ बस्ने ३६ वर्षीय रामचन्द्र तामाङ, १८ वर्षीय अभिषेक मगर, ३५ वर्षीय उमेस विक, १३ वर्षीया निश्मा विक र ३५ वर्षीया कल्पना विक रहेका छन् । त्यस्तै पाख्रिबास नगरपालिका–६ बस्ने ३० वर्षीय डिकबहादुर मगर र सोही स्थानका ४० वर्षीय झमकबहादुर आले पनि घाइते भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता ज्ञानकुमार महतोले जानकारी दिनुभयो।

blog

घाइतेमध्ये टाउकोमा चोट लागेका रामचन्द्र तामाङलाई जिल्ला अस्पताल धनकुटामा सामान्य उपचारपश्चात् थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको प्रहरीले जनाएको छ । अन्य ६ जना घाइतेको जिल्ला अस्पताल धनकुटामै उपचार भइरहेको छ ।

हुम्ला स्थायी घर भई हाल काठमाडौँ महानगरपालिका–९ एकान्तकुना बस्ने ३९ वर्षीय चालक विजय कार्कीलाई प्रहरी चौकी हिलेले नियन्त्रणमा लिएको छ ।

– सन्तोष सुवेदी