02/21/2026, 16:57:56
शनिबार, फागुन ०९, २०८२

७० कृतिसहित चिराग-शिवाङ्गिनीको ‘बिटविन टु वर्ल्ड्स’ प्रदर्शनी सुरु


काठमाडौँ,फागुन ९ गते। कलाकार चिराग वाङ्देल  र शिवाङ्गिनी राणाको संयुक्त कला प्रदर्शनी ‘बिटविन टु वर्ल्ड्स’ शुक्रबारदेखि नेपाल आर्ट काउन्सिल, बबरमहलमा सुरु भएको छ।

एक्रेलिक रङ्ग माध्यममा तयार गरिएका ७० कलाकृति समेटिएको प्रदर्शनीमा चिरागका २७, शिवाङ्गिनीका ४० र दुवैले क्यानभास साझेदारी गरेका तीन कृति समावेश छन्।

प्रदर्शनी आइतबारसम्म सञ्चालन हुनेछ। अमूर्त र अर्धमूर्त शैलीमा सिर्जित कृतिहरूले रङ्ग, विचार र भावनाको सहअस्तित्व खोज्ने प्रयास गरेका छन्। कवि, लेखक तथा चलचित्र निर्माता रूपमा समेत सक्रिय चिरागका अमूर्त कृतिले मानव जीवनका शाश्वत मूर्त बिम्ब बोकेको देखिन्छ।

उहाँका क्यानभासमा विचार र अनुभूतिको गहिराइ रङ्गमार्फत अभिव्यक्त भएको छ। ग्लास पेन्टिङबाट कला यात्रा सुरु गर्नुभएकी शिवाङ्गिनीका रङ्गले अमूर्तताको स्वच्छन्द सीमा नाघ्ने प्रयत्न गर्छन्।

सरल र सहज अभिव्यक्तिभित्र यथार्थको गहन बोध प्रस्तुत गर्ने उहाँका कृतिमा सुनौलो रङ्गको संयोजन विशेष रूपमा देखिन्छ।सुन रङ्गप्रतिको आकर्षणबारे उहाँ भन्नुहुन्छ, “खै किन हो, मलाई यो रङ्गमा बढी आनन्द मिल्छ। सायद यसले गतिशीलता र भावनामा जीवन्तता दिन्छ होला।

दुवै कलाकारले तीन क्यानभासमा संयुक्त रूपमा काम गर्दै रङ्ग र संवेदनाको संयोजन प्रस्तुत गर्नुभएको छ। सहअस्तित्व, संवाद र अनुभूतिको सेतु निर्माण गर्ने प्रयास स्वरूप प्रस्तुत ‘बिटविन टु वर्ल्ड्स’ले कला पारखीको ध्यान खिच्ने अपेक्षा गरिएको छ।