02/10/2026, 17:44:27
मङ्गलबार, माघ २७, २०८२

तामाकोशीमा बस खस्दा मृतक संख्या ९ पुग्यो


काठमाडौँ, माघ २७ गते । काठमाडौंबाट ओखलढुंगातर्फ जाँदै गरेको यात्रुवाहक बस मंगलबार मध्याह्न तामाकोशी नदीमा खस्दा ज्यान गुमाउनेको संख्या नौ पुगेको छ।

ओखलढुंगाका लागि छुटेको प्रदेश ३–०१–००५ ख ९९७५ नम्बरको यात्रुवाहक बस रामेछापको मन्थली नगरपालिका–६ त्रिवेणी घाटस्थित तामाकोशी नदीमा खसेर दुर्घटना हुँदा घटनास्थलमै ६ जनाको मृत्यु भएको थियो। उपचारका क्रममा थप तीन जनाको ज्यान गएपछि मृतक संख्या नौ पुगेको हो।

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार दुर्घटनापछि हालसम्म नौ जनाको मृत्यु पुष्टि भएको छ। घटनास्थलमा सशस्त्र प्रहरी बलको रामेछाप गुल्म र विपद् व्यवस्थापन बेस खुर्कोटबाट गोताखोरसहितको उद्धार टोली परिचालन गरिएको थियो। टोलीले बससँगै नदीमा डुबेका यात्रुहरूको खोजी कार्यसमेत जारी राखेको छ।

प्रारम्भिक जानकारीअनुसार काठमाडौंबाट बस ८ जना यात्रु बोकेर हिँडेको भए पनि बाटोमा टिकट नलिएका यात्रु थपिएपछि करिब १७ जना सवार रहेको खुलेको छ।

दुर्घटनाको कारण खुल्न बाँकी रहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..