02/10/2026, 17:58:00
मङ्गलबार, माघ २७, २०८२

चुनावी सुरक्षामा कुनै चुक नहोस् : प्रधानमन्त्री कार्की


काठमाडौँ, माघ २७ गते ।  रक्षामन्त्रीको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको सुरक्षामा कुनै पनि प्रकारको कमजोरी हुन नदिन नेपाली सेनालाई कडा निर्देशन दिएकी छन्।

मंगलबार जंगी अड्डामा आयोजित पृतनापति समन्वयात्मक बैठकको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले विगतका निर्वाचनमा देखिएका सुरक्षा संयन्त्रहरूबिचका समन्वयगत त्रुटि दोहोरिन नदिन विशेष सतर्कता अपनाउन आग्रह गरिन्।

प्रधानमन्त्री कार्कीले भनिन्, “विगतमा सुरक्षा संयन्त्रहरूबिच समन्वयमा कतै त्रुटि र रिक्तता भएका रहेछन् भने अब त्यो अवस्था दोहोरिन नदिनुहोस्। चुनावी सुरक्षामा कत्ति पनि चुक हुन नदिने गरी जिम्मेवारीपूर्वक अघि बढ्नुपर्छ।”

उनले यस निर्वाचनलाई सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गर्न अघिल्ला चुनावका अनुभव तथा आसन्न निर्वाचनका विभिन्न आयामहरूको गहिरो विश्लेषण आवश्यक रहेको उल्लेख गरिन्। सुरक्षा संवेदनशीलतालाई आधार मानेर सबै सुरक्षा निकायसँग प्रभावकारी समन्वय गर्दै त्रुटिरहित ढंगले काम गर्न पनि उनले सेनालाई निर्देशन दिइन्।

प्रधानमन्त्री कार्कीले जनतालाई पूर्ण सुरक्षाको प्रत्याभूति दिनुका साथै प्रहरी कारबाहीलाई सहजीकरण र सुरक्षित बनाउने दायित्व पनि सेनाको रहेको बताइन्। साथै, सबै राजनीतिक दलका गतिविधिहरू बिनाअवरोध सञ्चालन हुन सक्ने वातावरण सिर्जना गर्न अन्य सुरक्षा तथा प्रशासनिक निकायसँग स्पष्ट कार्ययोजनासहित सहकार्य गर्नुपर्नेमा जोड दिइन्।

“जनतालाई सुरक्षाको अनुभूति गराउने, प्रहरी कारबाहीलाई सहयोग र सुरक्षित गर्ने तथा सबै राजनीतिक दलका गतिविधिहरूलाई निर्बाध सञ्चालन गर्न आवश्यक वातावरण बनाउन अन्य निकायहरूसँग सहकार्य गर्दै स्पष्ट कार्ययोजनासहित अघि बढ्न म निर्देशन दिन्छु,” प्रधानमन्त्री कार्कीले भनिन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..