02/08/2026, 20:28:31
आइतबार, माघ २५, २०८२

झापा–५ मा चुनावी रौनक : ओली र शाह घरदैलोमा


दमक, माघ २५ गते । प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिएसँगै झापा क्षेत्र नं. ५ को चुनावी माहोल तातेको छ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली  र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह  दुवैजना मतदाताको घरदैलोमा पुग्न थालेसँगै यहाँको चुनावी सरगर्मी बढेको हो ।

मुलुककै ध्यान केन्द्रित भएको यस क्षेत्रमा प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरिएका दुवै उम्मेदवार एकसाथ मतदाताको घरदैलोमा पुगेका हुन् । दुवै प्रभावशाली उम्मेदवार दमकमा रहेकाले स्थानीय सुरक्षा व्यवस्थासमेत कडा पारिएको प्रहरी स्रोतले जनाएको छ । दमकका प्रमुख चोक तथा बजार क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको छ ।

बिहीबार झापा आउनुभएका अध्यक्ष ओली शनिबारदेखि गृह नगर दमकमा केन्द्रित हुनुभएको छ । आइतबार उहाँले कमल गाउँपालिकाका विभिन्न चोक तथा बजारमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्नुभएको छ । घरदैलोका क्रममा स्थानीय बासिन्दाले लालपुर्जाको समस्या, सडक पूर्वाधार र कमल गाउँपालिकामा निर्माणाधीन आदिवासी रङ्गशालाका विषयमा अध्यक्ष ओलीको ध्यानाकर्षण गराएका थिए । चुनावी अभियानका क्रममा ओलीले आफ्नो क्षेत्रका बिरामीहरूको घरमै पुगेर स्वास्थ्य अवस्थाबारे समेत जानकारी लिनुभएको छ ।

मतदातासँगको भेटमा अध्यक्ष ओलीले देशको विकास र समृद्धिको सपना साकार पार्ने शक्ति एमाले मात्र भएको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “हामीले धेरै गौरवका योजना सुरु गरेका थियौँ, जसको काम अन्तिम चरणमा पुगेका बेला अरूले रोक्ने प्रयास गरेका छन् । यस्ता भ्रमबाट मुक्त भई विकासको पक्षमा उभिन आग्रह गर्दछु ।

यसैगरी, रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले पनि आइतबार अपरान्हदेखि दमकमा घरदैलो कार्यक्रम सुरु गर्नुभएको छ । उहाँले दमकका विभिन्न वडा, मुख्य बजार र मतदाताको बाक्लो उपस्थिति रहने क्षेत्रमा पुगेर मत माग्नुभएको छ । आइतबार मात्रै एक दर्जनभन्दा बढी स्थानमा चुनावी अभियान अन्तर्गत भेटघाट सम्पन्न भएको रास्वपाका नेता भेषराज भट्टराईले जानकारी दिनुभयो ।

झापा क्षेत्र नं. ५ मा ओली र शाह बाहेक नेपाली कांग्रेसकी मन्धरा पौडेल, नेकपाका रञ्जित तामाङ  र राप्रपाकी लक्ष्मी संग्रौला  लगायतका उम्मेदवारहरू पनि चुनावी अभियानमा सक्रिय हुनुहुन्छ । यद्यपि, दुई प्रमुख नेताको उपस्थितिले यस क्षेत्रको प्रतिस्पर्धालाई थप रोचक बनाएको छ ।

– विष्णुप्रसाद पोखरेल