काठमाडौँ, माघ २५ गते । बजारमा पेट्रोलियम पदार्थको खपत बढ्न थालेको छ । आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधि सभाको निर्वाचन नजिकिँदै गर्दा डिजेल पेट्रोलको खपत बढ्न थालेको हो । चुनाव प्रसारप्रसारमा चारपाङ्ग्रे गाडी र मोटरसाइकलको प्रयोग बढ्दा पेट्रोलको खपत बढ्न थालेको नेपाल आयल निगमले जनाएको छ ।
निगमका प्रवक्ता मनोजकुमार ठाकुरले प्रतिनिधि सभा निर्वाचनमा इन्धन खपत सामान्य बढ्ने बताउनुभयो । चुनाव प्रचार प्रसारको मौन अवधि सुरु हुनुभन्दा अघि एक हप्ताको समयमा डिजेल/पेट्रोल १० देखि १५ प्रतिशत खपत बढ्ने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । चुनावको बेला प्रचार-प्रसारका गतिविधिमा गाडीको प्रयोग बढी हुने भएकाले पनि डिजेलको तुलनामा पेट्रोलको खपत बढी हुने उहाँको भनाइ छ ।
निगमका अनुसार हाल सामान्य अवस्थामा दैनिक औसत २२ देखि २५ लाख लिटर पेट्रोल र ४० देखि ४५ लाख लिटर डिजेल खपत हुँदै आएको छ । निर्वाचनको मुख्य प्रचारप्रसार अवधि सुरु हुने मौन अवधिसम्म पेट्रोलको दैनिक खपत २५ देखि २७ लाख लिटरसम्म पुग्न सक्ने निगमको अनुमान छ ।
निर्वाचनमा ग्यासको खपत पनि बढ्ने देखिन्छ । गाउँ गाउँमा साना साना खाजा नास्ता र चिया पसलदेखि रेस्टुराँ चल्ने भएकाले पनि ग्यासको खपत धेरै हुने गर्छ । निर्वाचनका बेला केही दिन सीमानाका बन्द हुने सम्भावनालाई ध्यानमा राख्दै त्यस अवधिका लागि समेत पर्याप्त मौज्दात राख्ने तयारी गरिएको निगमले जनाएको छ । हाल निगमसँग डिजेल करिब १४ दिन र पेट्रोल करिब १२ दिनका लागि भण्डारण गर्ने क्षमता रहेको छ ।
सोह्र प्रतिशतले घट्यो पट्रोलियम पदार्थको मूल्य एक वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १६.७ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क अनुसार अन्तर्राष्ट्रिय बजारमा २०८१ पुसमा प्रतिब्यारेल ८२.६९ अमेरिकी डलर रहेकामा २०८२ पुसमा १६.७ प्रतिशतले घटेर प्रतिब्यारेल ६८.८७ अमेरिकी डलरमा झरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको छ । नेपालमा उत्पादन नहुने पेट्रोलियम पदार्थ छिमेकी मुलुक भारतबाट आयात हुने गर्छ ।
निगमका अनुसार एक वर्षको बजारमा सबैभन्दा धेरै डिजेल र मटितेल लिटरमा २४ रुपियाँ मूल्य घटेको छ । पेट्रोल लिटरमा ११ रुपियाँ मूल्य घटेको छ । यस्तै हवाई इन्धन आन्तरिक लिटरमा चार रुपियाँ मूल्य घटेको छ ।
निगमका अनुसार २०८१ माघ दोस्रो साता पेट्रोल प्रतिलिटर १६७ रुपियाँ रहेकोमा अहिले घटेर १५६ रुपियाँमा झरेको छ । यस्तै गत वर्ष माघ दोस्रो साता प्रतिलिटर १६० रुपियाँ रहेको डिजेल/मटितेल अहिले घटेर १३६ रुपियाँमा झरेको छ । गत आवमा प्रतिलिटरमा १३२ रुपियाँ रहेको हवाई इन्धन आन्तरिकतर्फ अहिले घटेर लिटरमा १२८ रुपियाँ मूल्य रहेको छ ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् रही प्रतिसिलिन्डर एक हजार ९१० रुपियाँ रहेको छ । निगमले दुई वर्षदेखि पेट्रोलियम पदार्थमा स्वचालित मूल्य लागु गरेको छ । स्वचालित मूल्य प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा मूल्य घट्दा घट्ने र बढ्दा बढ्ने गर्छ ।
इन्डियन आयल कर्पोरेसन (आइओसी) ले प्रत्येक महिना दुई पटक नयाँ मूल्य पठाउने गर्छ । सोही मूल्य अनुसार निगमले स्थानीय बजारमा मूल्य समायोजन गर्दै आएको छ । गत शनिबार आइओसीले पठाएको नयाँ मूल्य अनुसार ग्यास प्रतिसिलिन्डर ४५.६६ रुपियाँले बढेर आए पनि मूल्यवृद्धि नगरिएको निगमले जनाएको छ ।
नेपालमा औसत मासिक रूपमा पेट्रोल ६० हजार किलोलिटर, डिजेल एक लाख २० हजार किलोलिटर, हवाई इन्धन १६ हजार किलोलिटर तथा खाना पकाउने ग्यास ४५ हजार मेट्रिक टन खपत हुने गरेको निगमको तथ्याङ्क छ ।
– लक्ष्मी सापकोटा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











