02/08/2026, 13:57:01
आइतबार, माघ २५, २०८२

चुनावी एजेन्डा : पेट्रोलियम पदार्थ उत्खनन


पञ्चकोशी (दैलेख), माघ २५ गते । दैलेखमा उम्मेदवार चुनावी एजेन्डा लिएर मतदाताको घरदैलोमा पुग्न थालेका छन् । दैलेखका दुई निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि २१ जना उम्मेदवारले मतदातालाई आफ्नो चुनावी मुद्दा लिएर मतदाताको घरदैलोमा पुग्न थालेका हुन् ।

जिल्ला निर्वाचनलाई लक्षित गर्दै दैलेखका धेरै जसो उम्मेदवारले पेट्रोलियम पदार्थ अन्वेषण तथा उत्खननलाई आफ्नो चुनावी प्रतिबद्धतामा समेटेका छन् । जिल्लामा मुख्य राजनीतिक दल नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल कम्युनिस्ट पार्टी माओवादी लगायतका दल अहिले निर्वाचनलक्षित घोषणापत्रमा पेट्रोलियम पदार्थ अन्वेषणदेखि आफ्नो लक्ष्य पर्यटन प्रवर्धनलाई मुख्य चुनावी एजेन्डा बनाएका छन् ।

नेकपा (एमाले) का उम्मेदवार रवीन्द्रराज शर्माले जलजलेमा भएको पेट्रोलियम पदार्थ उत्खनन, अन्वेषण, उत्पादन र वितरणमा पहल गर्ने उल्लेख गर्दै कृषि र पूर्वाधार घोषणापत्रमा समेटिएको बताउनुभयो । उहाँले २०७४ सालमा आफू प्रतिनिधि सभामा निर्वाचित भएका बेला सुरु गरिएका योजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उद्योग, जडीबुडी सङ्कलन नागरिकको सेवा र सुविधामा सुधार ल्याउने गरी कार्यक्रम ल्याउने तयारी बताउनुभयो । गौरवको योजना मध्यपहाडी राजमार्ग अधुरो भएको काम पूरा गर्न पहल गरेको र केही जिल्लाका गौरवका अधुरो रहेका विकासनिर्माणका काम पूरा गर्ने उहाँको भनाइ छ ।

नेपाल कम्युनिस्ट पार्टी माओवादीबाट निर्वाचन क्षेत्र नं. १ उम्मेदवार बन्नुभएका रामलाल विश्वकर्माले पूर्वाधार विकास आफ्नो मूल मुद्दा हुने बताउनुभयो । उहाँले पेट्रोलियम पदार्थको उत्खनन गरी भण्डारण गर्न पहल गर्ने बताउनुभयो । उहाँले नमुना श्रम शिक्षा कार्यक्रमदेखि दैलेख–सुर्खेत सडक डबल लेन स्तरोन्नति गर्ने चुनावी एजेन्डा भएको बताउनुभयो ।

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार नन्दकिशोर बस्नेतले दैलेख जिल्ला पर्यटकीय हिसाबले महìवपूर्ण पर्यटन प्रवर्धनका लागि उचित कानुन निर्माणमा आफ्नो प्रयास हुने बताउनुभयो । दैलेखको पेट्रोललाई उत्खननका लागि पहल गरेको र बाँकी रहेका काम प्राथमिकता राखेर काम गर्ने उहाँको भनाइ छ ।

नेपाली कांग्रेसका उम्मेदवार बासना थापाले युवालक्षित कार्यक्रमदेखि पर्यटकीय हिसाबले महत्वपूर्ण महाबुधामसम्म पुग्ने सडकलाई प्राथमिकतामा राखेको बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टीका उम्मेदवार अम्मरबहादुर थापाले सुशासन र पारदर्शिता कायम गराउन, जिल्लाको विकास र समृद्धिका लागि विकासमा ध्यान दिने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्यदेखि महाबु सडक निर्माण गर्नेलगायत योजना उच्च प्राथमिकता दिएको जानकारी दिनुभयो । युवापुस्तालाई स्वरोजगार बनाउन, सुशासन कायम गर्ने, विकासनिर्माणलाई तीव्रता दिन आफ्नो प्रयास रहने उहाँको भनाइ छ ।

– यामराज विष्ट