पाँचथर, माघ २५ : बाढीले खेत लग्यो, सिँचाइ गर्ने कुलो बग्यो । आगलागी हुँदा खानेपानीको पाइप नै जल्यो । विपद्ले तीन वर्षयता निरन्तर दुःख पाइरहेका हिलिहाङका किसान विगतमा जिताएर पठाएका जनप्रतिनिधिले अनुहार समेत नदेखाएको गुनासो गरिरहेका छन्।
‘फेरि पनि मौका दिनुहोस् भन्दै धाउन थालिसके, चुनाव पूर्व भोट माग्न आउने दलका नेता र उम्मेदवारलाई सख्खर र खुदो चखाएर पठाउने गरेका छौं,’ हिलिहाङ ७ का किसान टीकाराम पोखरेल भन्छन्।
विगतमा धान उत्पादनका लागि उर्बर हेंवा गड्तीरका खोला खेतमा किसानले पछिल्लो समय व्यवसायिक उखु खेती गरिरहेका छन् । उखु खेती पनि बाढी र पहिरो लगायतका समस्याले पटक पटक प्रभावित हुने गरेको छ । विपद्ले किसानलाई अप्ठेरो पार्दा संघ र प्रदेश मात्रै नभएर स्थानीय तहका जनप्रतिनिधि समेत भेट्न नआएको गुनासो यस क्षेत्रका किसानको छ ।
खोला गड्तीरमा उखुको रस पेलेर खुदो पकाइरहेका लोकबहादुर थापालाई पनि निर्वाचनप्रति चासो छैन । ‘यसअघि पटक पटक जिताएर पठाएकै हौं, जितेर गएपछि फर्केर आएनन्, कसलाई भोट दिने हो सोचिसकेका छौं, खला खेतसम्म आइपुगेर आश्वासन दिने दलका नेता र उम्मेदवारलाई उखु, रस, खुदो र सख्खर दिने गरेका छौं,’ व्यंग्य गर्दै थापाले भने, ‘पटक–पटक निर्वाचन जितेर पनि किसानसित गरेका बाचा बिर्सिएका दल र उम्मेदवारलाई चुनावमा पनि खुदो खुवाउँछौं ।’
घरदैलो गरिरहेका दल र तीनका उम्मेदवार र नेताहरुलाई स्थानीयले पछिल्ला तीन वर्षमा हेंवा खोला गड्तीर क्षेत्रमा बाढीले मच्चाएको वितण्डाको बेलिबिस्तार लगाउने गरेका छन् । २०८० असार २ गते आएको बाढीले यस क्षेत्रमा सयौं मुरी धान फल्ने खेत बगाइदियो । त्यसपछि २०८१ असोज १२ गते दोस्रो पटक बाढी आँउदा सिँचाइ गर्ने कुलो नास परिदियो । गत असोज १७ गतेको बाढीले बचेखुचेका पानीका मुहान बगाइदियो ।
गत वर्षको खडेरीमा फिदिम–४ तर्फका किसानले उपभोग गर्दै आएको पानी ल्याउने पाइप पनि डढेलोले जल्दा चुनौतीमाथि चुनौती थपिएको किसानहरुको गुनासो छ ।

धान फल्ने खेत र कुलो बगेपछि यस क्षेत्रका किसान बचे खुचेका जग्गामा उखु रोपेर खुदो र सख्खर तयार पार्दै बिक्री गरिरहेका छन् । ‘उखु खेती गर्न पनि सिँचाइ अनिवार्य हो, बाढीले दुःख दिन थालेपछि स्थानीय तहसँगै प्रदेश र संघीय सरकारमा प्रतिनिधित्व गर्ने दल र निकटका नेता कार्यकर्तालाई कुलो निर्माण गर्न, पाइप उपलव्ध गराउन र खानेपानी व्यवस्थापन गर्न पटक पटक अनुरोध गर्दा सुनुवाई भएन, त्यही भएर पनि यसपटक किसानका समस्या नसुन्नेलाई मतपत्र मार्फत नै खुदो चखाउन मन छ,’ फिदिम ४ की किसान मिना पोखरेलले भनिन्।
हेंवा खोला गड्तीरमा पर्ने फिदिम–४ र हिलिहाङ–७ मा गरी २५ किसान व्यावसायिक उखु खेतीमा निर्भर छन् । उनीहरु अधिकांशले कालो ज्ञवरा जातको सँगै सेतो र रातो उखु रोपेका छन् । यो सिजनमा उनीहरु ती उखु पेलेर रस निकाल्दै पकार खुदो सख्खर बनाउन व्यस्त छन् ।
पुस १५ देखि सुरु भएको किसानको त्यो चटारो फागुनभर जारी रहन्छ । भोट माग्न आउने नेताका टोल भेला, घरदैलो र भेटघाट हुँदै कोणसभा र आमसभामा समय दिँदा उखु छिप्पिने र सख्खर बिग्रिने भएकाले पनि आफुहरुलाई चुनावी भाषण सुन्ने फुर्सद नभएको किसानहरुको टिप्पणी छ ।
यस क्षेत्रका किसाजले उत्पादन गरेको खुदो र सख्खर इलाम, झापा र काठमाडौंसम्म बिक्री हुने गरेको छ। किसानले आफुहरुलाई प्रोत्साहन गर्न अनुदान, कुलो निर्माण र मर्मत, उखु पेल्ने मेसिनको उपलव्धता र खानेपानीका लागि पाइपको व्यवस्थापन गर्नका साथै बाली बिमा र क्षति भएका बालीको मूल्यांकन गरी राहत उपलव्ध गराउनु पर्ने जस्ता प्रतिवद्वता उम्मेदवारबाट खोजिरहेका छन् ।
– लक्ष्मी गौतम
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










