02/08/2026, 13:57:23
आइतबार, माघ २५, २०८२

कञ्चनपुरमा हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु


कञ्चनपुर, माघ २५ गते । कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एक बालिकाको मृत्यु भएको छ । जिल्लाको लालझाँडी गाउँपालिका–६ ढक्का चानदेवमा जङ्गली हात्तीको आक्रमणबाट ६ वर्षीय बालिका रोजिना साउदको उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, गए राती २ः३० बजेको समयमा ढक्का चनादेवका स्थानीय किसन सिंह साउदको घरमा हात्तीले आक्रमण गरेको थियो । घरबाट भाग्ने क्रममा साउँदका ५५ वर्षीय आमा पार्वती साउद र उहाँका ६ वर्षीय छोरी रोजिनामाथि हात्तीले आक्रमण गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीका अनुसार, हात्तीको आक्रमणबाट गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि टिएण्डी अस्पताल झलारीमा लगिएको थियो । तर अवस्था गम्भीर भएपछि राति नै थप उपचारका लागि धनगढी लगिएकोमा आज बिहान ६ वर्षीय बालिका रोजिनाको नवजीवन अस्पतालमा उपचारका क्रममा निधन भएको प्रनाउ बोहराले बताउनुभयो । उहाँका ५५ वर्षीय आमाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

निकुञ्ज भएर बस्तीमा प्रवेश गरेको हात्तीको आतङ्कले यहाँका स्थानीयहरू आजित बनेका छन् ।

-भवानीदत्त भट्ट