01/31/2026, 16:32:33
शनिबार, माघ १७, २०८२

आरन व्यवसाय सङ्कटमा पर्दा व्यवसायीको बढ्यो चिन्ता


बाजुरा, माघ १७ गते । बाजुराका आरन सङ्कटमा पर्दै गएपछि यहाँका आरन व्यवसायी  चिन्तामा परेका छन् । गाउँमा खेतीपाती गर्न छोडेर पैसाको लोभमा अधिकांश युवापुस्ता रोजगारीका लागि बाहिर जानथालेपछि यहाँका आरन व्यवसाय  सङ्कटमा पर्दैगएको हो ।

म लामो समयदेखि गाउँमा आरन व्यवसाय गर्दैआएको छु । पहिला यो व्यवसायले मलाई परिवार पाल्न सहज थियो । अहिले यो व्यवसाय सङ्कटमा पर्दै गएपछि कसरी परिवार पाल्ने भनेर निकै चिन्ता लागेको  हिमाली गाउँपालिका –६ का अमलाल लुहारले बताउनुभयो ।

उहाँले भन्नभुयो, “पहिला यो गाउँमा सबै खेतीपाती गर्थे । बुवा बाजेले त्यो खेती उत्पादनका लागि विभिन्न कृषि औजार बनाउनु हुन्थ्यो । उहाँले आरन व्यवसाय गरेर हामीलाई पालन पोषण गर्नुभएको हो । त्यही बावु बाजेको सीप सिकेर अहिले म पनि गाउँमा आरन व्यवसाय गर्दैआएको छु ।

पहिला केही वर्षमा त यो व्यवसाय निकै राम्रोसँग सञ्चालन भएको थियो । पछिल्लो समय सङकटमा पर्दै गएपछि अब कसरी घर खर्च चलाउन निकै चिन्ता लाग्न थालेको लुहारले बताउनुभयो ।

अम्मलालको घरमा सात जनाको परिवार छ । दुई छोरा तीन छोरी श्रीमती र आफू गरी पाँच जनाको परिवारलाई उहाँले यो व्यवसायले नै पालनपोषण गर्नुभएको थियो । पहिला आरन व्यवसाय गरेर उहाँले परिवार पाल्दैआएको भएका भए पनि अहिले त्यो आरन व्यवसाय सङकटमा पर्न थालेपछि उहाँलाई छोराछोरी पढाउन र परिवार पाल्न सकस भएको छ ।

यो पीडा उहाँको मात्र होइन, त्यसै हिमाली गाउँपालिका –६ पाडीका अर्को बलबहादुर लुहारको पनि अवथा उस्तै हो । उहाँ पनि लामो समयदेखि त्यसैगाउँमा आरन व्यवसाय गर्दै आउनुभएको छ । अहिले पनि उहाँ आरन व्यवसाय गरी रहनु भएको छ । उहाँको त्यो आरन व्यवसाय पहिलाजस्तो चलेको छैन । उहाँलाई त्यो व्यवसायबाट राम्रो पाइदा छैन ।

पहिला यहाँका सबैले खेतीपाती लगाउने गर्थे । लुहारले बनाउने आँसी बाउसो कुटो बन्चरो लगायतका कृषि सामग्री खपत हुनेगरेको थियो । अहिले प्रायः गाउँमा खेती कम लगाउने गर्छन् । लुहारले बनाउने ती कृषि सामग्री पनि खपत हुँदैनन् । त्यसैका कारण अहिले बलबहादुर लुहारको आरन व्यवसाय सङ्कटमा पर्दै गएको हो ।

हिमालीको पाडीमा अहिले झण्डै सात जना लुहारका परिवारको बसोबास छ । यी सबै परिवार कृषि औजार बनाउने काम गर्छौ । हाम्रा पुर्खाको जसरी अहिले हामी पनि यही आरन व्यवसायको भरमा परिवार पाल्ने गथ्र्यो । अहिले यो आरन व्यवसाय विस्तारै लोप हुँदै गएपछि अब कसरी पेट पाल्ने चिन्ता लागेको  हिमाली गाउँपालका – ६ का बलबहादुर लुहारले बताउनुभयो ।

उहाँले भन्नुभयो, “यहाँका युवा अहिले प्राय विदेशमा जाने गर्छन् । उतादेखि उनीहरु घरपरिवारलाई पैसा पठाउने गर्छन् । यता घरपरिवार पनि त्यही पैैसाले खाद्यान सामग्री ल्याउने गर्छन् । त्यही पैसाको लोभका कारण अहिले यहाँ कोही पनि खेती गर्दैन ।

गाउँका युवा सबै विदेशमा जानु गाउँमा रहेको सबै जमिन बाँझो रहनु र खेतीप्रति कसैको चासो नहुनुले आरन व्यवसाय सङ्कटमा पर्दैगएको लुहारले बताउनुभयो ।

यहाँको हिमाली, स्वामिकार्तिक खापर, जगनाथ, बुढीनन्दा बडीमालिका, गौमुल, बुढीगङ्गा त्रिवेणी र खप्तड छेडेदह लगायतका पालिका आरन व्यवसाय पछिल्लो समय लोप हुने अवस्थामा छन् । यहाँ सञ्चालन हुँदैआएका यी आरन व्यवसायीलाई थप प्रोत्साह गर्नेगरी आधुनिक तालिम तथा केही अनुदानका कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको हिमाली गाउँपलिका अध्यक्ष गोविन्दबहादुर मल्लले बताउनुभयो ।

– शेरबहादुर सार्की