काठमाडौँ, माघ १७ गते । गत पुस १९ गतेदेखि सुरु भएको एकमहिने स्वस्थानी (माधवनारायण मेला) को आज २८ औँ दिनसम्म पनि काठमाडौँको साँखुस्थित शालीनदीमा स्नान गर्नेको घुइँचो उत्तिकै छ ।
यस वर्ष पनि शालीनदीमा स्नान एवं माधवनारायण र श्रीस्वस्थानीको दर्शनका लागि देशका विभिन्न भागबाट दशनार्थी आएको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालीनदी सुधार समितिका वरिष्ठ उपाध्यक्ष जीवनमान सिंहले बताउनुभयो । उहाँका अनुसार यो वर्ष भारतको बिहार र उत्तर प्रदेशबाट मात्र नभएर विदेशमा रहेका नेपालीसमेत माधवनारायण मेला हेर्न र दर्शन गर्न आउनुभएको थियो । अन्य दिनभन्दा सार्वजनिक बिदाको दिन दर्शनार्थीको धेरै भिड देखिने उहाँको भनाइ थियो ।

“यहाँ दर्शन गर्न आउने दर्शनार्थीको मुख्य उद्देश्य भनेकै शालीनदीमा नुहाइसकेपछि पुण्य लाभ गर्ने र स्वास्थ्य राम्रो हुने विश्वास रहिआएको छ,” उहाँले भन्नुभयो, “यस वर्ष महिला १६१ र पुरुष १५ गरी १७६ जना व्रतालु शालीनदीमा माधवनारायणको व्रत बसेका छन् । उहाँका अनुसार व्रतालुले मेलाको अन्तिम दिन अर्थात् आउँदो सोमबार बिहान स्नान गरेर मिगा पूजा गर्नुहुन्छ र केही खानेकुरा खाएर नुन चुकाएर एकमहिने व्रत समापन गर्नुहुन्छ । यस वर्ष १५ देखि १८ लाख दर्शनार्थी दर्शन गर्न आइसकेको उहाँले बताउनुभयो ।

स्वस्थानी व्रतकथामा उल्लेख भए अनुसार विवाहिता महिलाले एक महिनासम्म विधिपूर्वक स्वस्थानी माताको पूजा आराधाना गरे श्रीमान्को आयु बढ्ने र अविवाहितले सुयोग्य वर पाउने धार्मिक विश्वास छ । एक महिनासम्म श्री स्वस्थानी व्रतकथा श्रवण गरे मात्रै पनि शुभ फल प्राप्त हुने विश्वास गरिन्छ । स्वस्थानी व्रतकथासँग जोडिएको शालीनदीमा हरेक वर्ष एक महिनासम्म मेला लाग्ने गर्छ । पूर्वी काठमाडौँको साँखुस्थित शालीनदीमा मेला भर्न किशोर, किशोरी, बालक, वृद्ध र सन्तमहन्तको समेत भिड लाग्ने गरेको छ ।
शारीरिक शुद्धिदेखि लिएर मानसिक शुद्धि पनि अध्यात्ममा एकदमै जरुरी छ है भन्ने प्रेरणा स्वस्थानी कथाले कतै न कतै दिइरहेको हुन्छ । स्वथानन् भएको तीर्थको महìव छ है भन्ने र ‘नजिकको तीर्थलाई हेला नगर’ भन्ने भावना व्यक्त गर्ने हुनाले पनि यसको ठुलो योगदान रहिआएको छ ।
हनुमानघाटमा माधवनारायण मेला
भक्तपुरको हनुमन्तेस्थित हनुमानघाटमा माधवनारायण मेलाको चलहचहल निकै बढिरहेको छ । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दु धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको एक महिना चल्ने व्रत सकाउन केही दिन मात्र बाँकी हुँदा व्रतालुको सङ्ख्या थप्ने क्रम जारी छ ।

माधवनारायण व्रत सेवा समितिका लक्ष्मीप्रसाद रञ्जितले भन्नुभयो, “व्रतालुले पूरै एकै महिना व्रत बस्नु पर्दैन । आफूलाई कति दिन बस्न मन पर्छ त्यही अनुसार बस्ने सुविधा छ । पूरै एक महिना, १४ दिन, सात दिन या समापनको एकैदिन, जति दिन मन लाग्छ त्यति दिन व्रत बस्न पाइन्छ । शालीनदीमा बस्ने व्रतालुको जस्तो एक महिना नै बस्नु भने पर्दैन ।” श्रीस्वस्थानीको व्रत बसेमा वा कथा सुनेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास रहेकाले हरेक वर्ष व्रत बस्ने गरेको व्रतालु विज्ञान पक्काले बताउनुभयो । विगत १५ वर्षदेखि व्रत लिँदै आएका उहाँले पहिलो दिन र अन्तिम दिन मात्र व्रत बस्ने जानकारी दिनुभयो ।
पक्काले कार्यालय जानुपर्ने कारण पहिलो दिन नुहाउन व्रत आरम्भ गरेको र अन्तिम दिन सकाउने बताउनुभयो । पहिलो र अन्तिम दिन व्रत बसे पनि महिना दिनकै मोक्ष प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । “व्रत सकिने अन्तिम दिन माघ शुल्क पूर्णिमा अर्थात् १८ गते आइतबार परेको छ,” उहाँले भन्नुभयो । हनुमानघाट भजन मण्डलका सदस्य कृष्णहरि कोजूले पहिलो दिनमा नै सबै व्रत बस्नुपर्छ भन्ने छैन । धेरै व्रतालुले श्रीपञ्चमीको दिनदेखि पनि दिने गरेको जानकारी दिनुभयो । उहाँले धेरै अन्तिम दिनमा पनि आउने बताउनुभयो । एक महिनासम्म माधवनारायणको भजन गाउनुपर्ने जानकारी दिनुभयो ।

संस्कृतिविद् ओम धौभडेलले व्रत बस्ने विधिमा कठिनाइ भएको जानकारी दिँदै व्रतालुको शरीर त के छायामा पनि छुन हुँदैन भन्ने जनविश्वास रहेको बताउनुभयो । माघ व्रतको समयमा खाना खाने बेलामा कुनै कारणबस खानामा कपाल या कनिका आएमा व्रतालुले सो खानासमेत खान नहुने विधि रहेको जानकारी दिनुभयो । त्यसै गरी व्रत सकेर नारायण पूजा जाँदा माधवनारायण भनेर जप्दै जानु पर्छ ।
नेसं ७२२ माघ धलं नामक व्रतधर्म माघ महिनाभरि माधवनारायणको अनुष्ठान गरी माघ पूर्णिमा कथा सुन्ने चलन चलिआएको कुरा पुरानी थ्याः सफु (किताब) मा उल्लेख गरिएको छ । उक्त व्रतानुष्ठान भक्तपुरका राजोपाध्याय ब्रह्माणहरूले पनि चलाउँदै आएको थियो । नेसं. ८४९ मा रणजित मल्लले आफ्ना छोरालाई यस व्रतमा संलग्न गराई माधवनारायण, लक्ष्मी, सरस्वतीको ढुङ्गाको मूर्ति हनुमानघाटमा स्थापना गरी उक्त व्रतधर्म भक्तपुर उपाकर्म गुठीबाट आलोपालो चलाए धौभडेलले जानकारी दिनुभयो ।
– सुकृत नेपाल/यलु जोशी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















