बर्दिबास, माघ १७ गते । प्रतिनिधिसभा निर्वाचन स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मधेश प्रदेशमा कडा तथा भरपर्दो सुरक्षा व्यवस्था मिलाइएको दाबी गरिएको छ । प्रदेशभर तीन तहको सुरक्षा परिचालन गरिनुका साथै अतिसंवेदनशील मतदानस्थलमा ड्रोन र सीसी क्यामेरामार्फत निगरानीको व्यवस्था गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले जनाएको छ ।
यहाँका आठ जिल्लामा कुल दुई हजार १६० मतदानस्थल र चार हजार ४७१ मतदान केन्द्र रहेका छन् । तीमध्ये ५७ प्रतिशत अर्थात एक हजार २३७ मतदान केन्द्र अतिसंवेदनशील सूचीमा परेको प्रदेश प्रहरीले जनाएको छ ।
प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआइजी) गोविन्द थपलियाका अनुसार मतदाताको चाप, निर्वाचन क्षेत्रको सामाजिक–सांस्कृतिक परिवेश, विगतका घटनाक्रम, भौगोलिक अवस्था, स्थानीय मनोभावना तथा राजनीतिक गतिविधि लगायतका आधारमा मतदानस्थलको वर्गीकरण गरिएको हो ।
उहाँका अनुसार मधेश प्रदेशका आठ जिल्लामा एक हजार २३७ मतदान स्थल र दुई हजार ६१३ मतदान केन्द्र अतिसंवेदनशील, ७६३ मतदान स्थल र एक हजार ५५४ मतदान केन्द्र संवेदनशील तथा १६० मतदान स्थल र ३०४ मतदान केन्द्रलाई सामान्य श्रेणीमा वर्गीकरण गरी सोहीअनुसार सुरक्षा परिचालन गरिएको छ ।
खुला सीमा र विगतका घटनाक्रमका कारण मधेश प्रदेशमा निर्वाचन व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको सुरक्षा निकायको ठम्याइ छ । करिब ४६४ किलोमिटर लामो खुला सीमाका कारण अवैध प्रवेश, दोहोरो मतदाता बन्ने प्रयास तथा अन्य अवाञ्छित गतिविधिले निर्वाचन सुरक्षालाई संवेदनशील बनाउने गरेको सुरक्षा निकायको बुझाइ छ ।
यस्ता चुनौतीलाई मध्यनजर गर्दै संवेदनशील मतदान स्थलमा सुरक्षा सक्रियता थप सुदृढ बनाइएको डिआइजी थपलियाले जानकारी दिनुभयो । उहाँका अनुसार दुई हजार ६०० नेपाल प्रहरी र दुई हजार २९५ निर्वाचन प्रहरी परिचालनको तयारी गरिएको छ । साथै सुरक्षा घेरामा सशस्त्र प्रहरी बल र नेपाली सेनाको समेत सक्रिय सहभागिताले सुरक्षा घेरालाई थप सुदृढ बनाएको छ ।
यसैबिच, बर्दीबासस्थित सशस्त्र प्रहरी बल नेपाल नं २ छिन्नमस्ता वाहिनी मुख्यालयका डिआइजी कृष्ण ढकालले प्रतिनिधि सभा निर्वाचनका लागि प्रदेशका आठै जिल्लामा चार हजार ३३६ सशस्त्र प्रहरी र दुई हजार ८३२ निर्वाचन प्रहरी तयारी अवस्थामा राखिएको बताउनुभयो ।
सशस्त्रले निर्वाचनलाई लक्षित गर्दै मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, निर्वाचन सुरक्षा बेस, मोबाइल टोली, स्ट्राइकिङ टोली र रिजर्भ फोर्समा जनशक्ति परिचालन गरेको छ ।
महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार भारतको बिहार राज्यअन्तर्गत सीतामढी र मधुवनी जिल्लासँग करिब ३९ किलोमिटर सीमा जोडिएको महोत्तरीेका २५८ मतदानस्थलमध्ये ६३ प्रतिशत अर्थात १६३ स्थल अतिसंवेदनशील, ३४ प्रतिशत अर्थात ८९ स्थल संवेदनशील र मात्र २ प्रतिशत अर्थात ६ मतदानस्थल सामान्य श्रेणीमा रहेका छन् ।
प्रजिअ यादवले जिल्लाको आन्तरिक सुरक्षा व्यवस्था चुस्त रहेको दाबी गर्दै खुला सीमा मधेशको सामाजिक–सांस्कृतिक यथार्थ भए पनि निर्वाचनजस्ता लोकतान्त्रिक प्रक्रियामा यसको प्रभावकारी व्यवस्थापन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
उहाँका अनुसार सीमा पारिबाट हुन सक्ने सुरक्षा चुनौतीबारे सीतामढी जिल्लाका समकक्षीसँग पुस २४ गते चन्द्रनिगाहापुरमा सुरक्षा बैठक सम्पन्न भइसकेको छ भने मधुवनी जिल्लासँग फागुन ९ गते जनकपुरमा सीमा सुरक्षा बैठक गर्ने तयारी भइरहेको छ । प्रजिअ यादवले भन्नुभयो ‘‘यसले निर्वाचन सुरक्षा व्यवस्थापनलाई अझ सशक्त र भरपर्दो बनाउने विश्वास लिइएको छ ।’’
– रवीन्द्र उप्रेती
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










