01/31/2026, 16:32:31
शनिबार, माघ १७, २०८२

किंवदन्तीमा सूर्यविनायक


लोकोक्तिहरूले हाम्रो सांस्कृतिक इतिहासमा महत्वपूर्ण स्थान ओगटेकै छ । यस्ता लोकोक्तिकै आधारमा भक्तपुरको सूर्यविनायक र वरपरका सम्पदालाई प्रसिद्ध ऐतिहासिक धार्मिक धरोहरका रूपमा लिन सकिन्छ । प्रसिद्ध गणेशमध्ये उपत्यकाका चार गणेश सूर्यविनायक, चन्द्रविनायक, अशोकविनायक र जलविनायकलाई लिइँदै आएको पाइन्छ । यी गणेशमध्ये भक्तपुरको दक्षिणतर्फ पर्ने सूर्यविनायक पनि हो । यी गणेशलाई सिद्धिविनायकका रूपमा पुजिन्छ ।

पहिले यी गणेशको नाम सिद्धिविनायक भएको कुरा शिव पुराण तथा स्वस्थानी व्रत कथाबाट पनि बुझिन्छ । हुन त गणेशका दुई शक्ति ऋद्धि र सिद्धिका पति (मालिक) भएको कारणबाट पनि सिद्धिविनायक नामकरण भएको हुन सक्छ । अर्को कुरा द्वापर युगको अन्तमा श्री सूर्यनारायणबाट सत्राजित राजालाई जिम्मा लगाएको सेमन्तक मणिको कथाबाट पनि केही बुझ्न सकिन्छ । श्री सूर्यनारायणबाट राजा सत्राजितलाई प्राप्त भएको यो मणि पछिल्लो कालमा आएर केही हेरफेर भयो । श्री सूर्यनारायणबाट सिद्धिविनायक (सूर्य विनायक) गणेशको जिम्मामा आयो । यसरी मणिको तेजले सिद्धिविनायक रहेको वनमा प्रभात कालको सूर्यकिरण प्रथम पर्न आयो ।

श्री सूर्यनारायणको प्रथम किरण पर्न आएको कारणले कालान्तरमा पछिका मानिसले यस ठाउँको नाउँ सूर्यविनायक र गणेशको नाउँ पनि श्री सूर्यविनायक गणेश भनेर भन्ने गरेको हुनु पर्छ । सिद्धिविनायकबाट सूर्यविनायक गणेश भनेर भन्ने गरेको हुनु पर्छ । सिद्धिविनायकबाट सूर्यविनायक भएको कुरा सत्यताको निकट पुग्छ । आज यो ठाउँ दर्शन तथा धार्मिक पर्यटनका लागि निकै आकर्षक केन्द्रका रूपमा रहेको छ । माघ महिनाको मङ्गलबार यहाँ ठुलो मेला लाग्छ । मङ्गलबार त गणेश कै बार भएकाले हजारौँ मानिस यस स्थानको दृश्यावलोकन गर्न आउने गर्छन् । यिनै सूर्यविनायक गणेश विराजमान भएको सुन्दर वनको बारेमा केही लोकोक्तिहरू प्रचलनमा छन् ।

केही सय वर्षअघि सूर्यविनायकको जङ्गलनजिकै एक ब्राह्मण परिवारको घर थियो । ब्रह्माण्डका छोराले गाई चराउन जाँदा खेल्दाखेल्दै बुटाको पात भाँची मुखमा हाले । त्यस दिनदेखि ब्राह्मण पुत्रले खाद्य तथा पेय पदार्थ ग्रहण गर्न छोडिदिए । लामो समयसम्म केही नखाँदा पनि बालकमा कुनै कमजोरी र दुब्लोपन देखिएन । बालक झन् हृष्टपुष्ट हुँदै गए । छोराको यो अवस्थाले ब्राह्मण परिवारमा पीर परेछ । यो विषय वैद्य, धामी र झाँक्रीलाई देखाउँदा केही कारण खुल्न सकेन ।

एक वर्षपछि ब्राह्मणको दैलोमा एक जना जोगीले ‘अलख’ जगाएछन् । ब्राह्मणले जोगीसँग आफ्नो छोराको सम्बन्धमा कुरा गरे छन् । बालकले मृत सञ्जीवनी बुटी खाएको कुरा जोगीले पत्ता पाएछन् । जोगीले झोलीबाट एक गोली औषधी झिकेर बालकलाई खान दिएछन् । उक्त बालकले बान्ता गर्न थाले । बान्तासँगै मृत सञ्जीवनी बुटीको रस पनि निस्केछ । अब बालकलाई निको भयो, अन्नग्रहण गर्ने छ भनी जोगी आफ्नो बाटो लागे छन् । त्यसै दिनदेखि ब्राह्मण पुत्रले खाने कुरा खान थाले छन् ।

रामायणको कथासँग जोडेर पनि केही लोकोक्ति चर्चा गरिन्छ । लोकोक्ति अनुसार रामसँग वनबास लागेका लक्ष्मण, राम र रावणको युद्धमा इन्द्रजितद्वारा मुर्छा पर्दा रामचन्द्रको आदेशले महाप्रतापी वायुपुत्र हनुमानले मृत सञ्जीवनी बुटीको खोजमा द्रोणचल पर्वतमा जाँदा उक्त बुटी चिन्न नसकी दोणचलै बोकी उडे । बाटोमा उक्त पर्वतको एक भाग खसी यो वन बनेको हो । लोकोक्ति अनुसार सूर्यविनायकको वनमा मृत सञ्जीवनी बुटी भएको अनुमान गरी माथिको कथालाई सार्थक पारेको होला भन्न सकिन्छ । यही कथाको भनाइ अनुसार पनि आजसम्म यस वनको गरिमा महत्वपूर्ण भएको मान्न सकिन्छ ।

एउटा अर्को लोकोक्ति अनुसार भक्तपुरका अन्तिम राजा रणजित मल्लका बाबु भूपतिन्द्र मल्ल आफ्नो राज्यकालमा इष्टदेवी तुलजा भवानीसँग पचपन्न झ्याले दरबारभित्र मध्यरातमा पासा खेल्ने गर्दथे । त्यस समयमा सूर्यविनायकको जङ्गलमा भएको मृत सञ्जीवनी बुटी रहेको वृक्षको टोड्कामा एउटा पाँचफणा भएको विशाल नाग बस्ने गर्दथ्यो । नागको पाँच टाउकोमा भएका नाग मणिहरूबाट बेग्लाबेग्लै पाँच प्रकारका प्रकाशहरू निस्कन्थे । यी पाँच प्रकारका प्रकाशमय मणिहरू भएको नागलाई राजा भूपतिन्द्र मल्लले तुलजा भवानीसँग पासा खेली सकेपछि सधैँ आफ्नो दरबारबाट जङ्गलतर्फ हेर्दा देख्थे । यो प्रकाशमय नागलाई राजा आफ्नो दरबारको माथिल्लो तलाबाट हेर्दथे ।

यस्तो अपूर्व नाग र मणि देखेर कौतूहल भएका राजा एक दिन रातको समयमा नागको खोजी गर्न सूर्यविनायकको जङ्गलमा प्रवेश गरे । नागको खोजी गर्दै जाँदा राजा जति नागको नजिक पुग्थे नाग राजा त्यति नै टाढा हुने गर्दथे । धेरै प्रयास गर्दा पनि नागराजाको नजिक पुग्न नसकेका राजा बिहान विवश भएर आफ्नै दरबारमा फर्कन्थे । यो क्रम हरेक रात चल्न लाग्यो । राजाले कुनै दिन पनि नागराजालाई नजिक पाएनन् । उपायका लागि राजाले नागराजाको भक्तिपूर्वक स्तुति गरे ।

नागको स्तुति गर्ने राजालाई एक रात सपना भयो । सपनामा राजालाई नागराजले “भोलि राति हात्तीमा सवारी भई त्यसमाथि पूर्ण सुवर्णकलश राखी आफ्नी रानीसाथ भएर मकहाँ आउनु” भने छन् । सपना भङ्ग भएर निन्द्राबाट ब्युँझँदा श्री सूर्यनारायणले आफ्नो प्रकाश पृथ्वीमा फिजाइसकेको पाउँछन् । राजा भूपतिन्द्र मल्ल त्यही दिनको राति तुलजा भवानीसँग पासा खेलिसकेपछि पूजाआराधनाका सामग्रीले सुसज्जित भई स्तुति गर्दै आफ्नी रानीसाथ हात्तीमा सवार भई सूर्यविनायकको जङ्गलतर्फ लागे । यसरी गएका राजाले नागराजको प्रत्यक्ष दर्शन पाए । नागको पूजा र स्तुति गरी उक्त नागराजलाई सुनको पेटारोमा हाली आफ्नो राजदरबार पछाडि सुन्दर तलाउ बनाई नागराजलाई त्यहाँ बसाले ।

राजाको कामबाट प्रसन्न भएका नागराजले तिम्रो दरबारअगाडिको सालिक सधैँ जीवित रहने छ भन्ने वरदान दिएका थिए । यही आधारमा राजा भूपतिन्द्र मल्ल आज पनि जीवित रहेको कुरामा विश्वास गर्ने चलन चलेकै छ । नागराजलाई प्रसन्न पारेका राजाले नागबाट रक्षा गरिएको मृत सञ्जीवनीको प्रभावबाट अझै राजा जीवित भएको किंवदन्ती पनि छ । यो लोकोक्ति आज पनि भक्तपुरमा प्रचलित छ ।

अर्को लाकोक्ति पनि छ । द्वापर युगमा सन्नाजित राजालाई जिम्मा दिएको सेमन्तक मणिबाट दिनको एक भारी रत्नादि पैदा हुन्थ्यो । राजा सन्नाजितको वंश नष्ट हुने समय आएपछि श्री सूर्यनारायणले सेमन्तक मणि श्री सिद्धिविनायक (सूर्यविनायक) को जिम्मा नासो छोडेका थिए । सिद्धिविनायकको भक्तहरूलाई आवश्यक परेको बेला सेवा गर्ने सन्तान श्री सम्पत्ति सेमन्तक मणिको प्रभावबाट सिद्धिविनायकद्वारा प्राप्त हुने गर्दथ्यो । यही आधारबाट दुःख निवारण निम्ति मानिस सूर्यविनायकको पूजाआराधना गर्दथे । सेमन्तक मणिको प्रभावले सिद्धि दिने गणेशको नाम नै कालान्तरमा सूर्यविनायक भनिन पुग्यो ।

स्कन्दपुराण हिमवत्खण्ड नेपाल माहात्म्यको छैटौँ अध्यायमा श्री सूर्यविनायक गणेशको उत्पत्तिको प्रसङ्ग आउँछ । सूर्यनारायणको प्रथम किरण पर्ने भनिएको त्यो वनमा सूर्यकै समान तेज भएको वेद शास्त्रको साथै आफ्नो स्वाध्यायमा रहेको गुणनिधि नामक ब्राह्मण बस्दथे । ब्राह्मण गुणनिधिकी अति सुन्दर तथा चालचलन, उत्कृष्ट भएकी लीलावती नामकी स्त्री थिइन् । यी दुवैका एक पुत्र पनि थिए जसको नामकरण प्राणनाथ भनेर गरिएको थियो । पिता गुणनाथ सधैँ बागमती नदीमा गई स्नान गर्ने र भगवान् पशुपतिनाथको दर्शन गरी यही सूर्यविनायक वनस्थित वासस्थानमा फर्कन्थे ।

कुनै दिन त्यो बालक वनविहार गर्दै हिँडिरहेका बेलामा अकस्मात् लड्न पुगे । बालक लडेको त्यस ठाउँलाई आजसम्म पनि ऋष्याश्रम भनिन्छ । आफ्नो पुत्र लडेर मृत्युमा पुगेको सुनेर पिता गुणनिधि र माता लीलावती लडी मुर्छा परेपछि चेतावस्थामा आएका गुणनिधि छोरा बोकेर पुशपतिनाथ गए । अरू जनसमुदायको साथमा लीलावती पनि गइन् । भगवान् पशुपतिनाथको द्वारमा मृतक पुत्रलाई राखेर सात दिनसम्म अहोरात्र उपवास बसी पुशपतिनाथको साधना गरे ।

भगवान् पशुपतिनाथ प्रकट भई “हे ब्राह्मणदेव तपाईं आफ्नो मृत छोरालाई लिएर सूर्यविनायकमै फर्कनुहोस् । मेरो पुत्र गणेशकै लीलाबाट तपाईंको पुत्रको मृत्यु भएको हो । अतः त्यहीँ फर्कनुहोस् । गणेशको कृपाद्वारा बालक पुत्र जीवित हुने छन् । बालकलाई बचाउने छन् । भोलि सूर्यनारायणको पहिलो किरण त्यहाँ पर्नासाथ मेरो पुत्र गणेश प्रकट भई बालकलाई बचाउने छन्,” भन्ने वरदान दिई पशुपतिनाथ अन्तध्र्यान भएको वर्णन पाइन्छ ।

भगवान् शिवको आज्ञा अनुसार सूर्यनारायणको उदयपछि बालकका पितासहित सबैले गणेशको स्तुति गरे । चार हात भएका गणेश प्रकट भए । कुनै वनस्पतिको लहरा दिँदै विनायक गणेशले भने, “यो लहराको रस बालकको मुख र आँखामा राखिदिनु ।” पिता गुणनिधिले आदेश अनुसार गरिदिए । बालक मृत्युको मुखबाट उठे । सबैले गणेशको स्तुति गरे । गणेशद्वारा वरदान माग्ने आज्ञा भयो । गुणनिधिसमेत सबैले यसै वनमा सदैव रहने वरदान मागे । गणेशद्वारा यस्तै होस् भन्ने वरदान दिए ।

भगवान् सूर्यनारायणको प्रथम किरणको अवलोकनबाट साक्षात् प्रकट भएका गणेशलाई नै सूर्यविनायकको नामबाट चिनिन्छ । हरेक मङ्गलबार तथा मङ्गल चौथी परेका दिन गणेशको दर्शन, पूजाअर्चना गर्ने गरिन्छ । साथै ब्राह्मण दम्पती, उनका छोरा र अरू भक्तजनले गणेशका स्थापना गरी यसकै ईशानकोणमा उत्तम शिवलिङ्गको स्थापना पनि गरे । यसै स्थानलाई मङ्गलेश्वर तीर्थसमेत भनिन्छ । यसरी हिमवत् खण्डको नेपाल माहात्म्यको अध्ययनबाट प्राचीन समयमा गुणनिधि ब्राह्मणले आफ्नो छोरा जो मृत्युको मुखबाट बचेका थिए । त्यै बखतबाट गणेश स्थापना गरेको भन्ने बुझिन्छ ।

– मोहन प्रसाद आचार्य