काठमाडौँ मन्दिरै मन्दिरको सहरका रूपमा परिचित छ । यस सहरमा सानाठूला गरी सयौँको सङ्ख्यामा मठ-मन्दिर रहेका छन् ।
धार्मिक आस्था र विश्वासका कारणले पनि घरको मूलढोकादेखि सडक बाटो, खोला किनार र सार्वजनिक स्थलमा जताततै आकर्षक मठ-मन्दिर यहाँ देख्न सकिन्छ ।
मठ-मन्दिरप्रतिको अगाध आस्था, सांस्कृतिक महत्व र सामाजिक एकता कति धेरै गाढा रहेको छ भने सार्वजनिक सडकका बीचमा पर्ने देवी-देउताका मन्दिरको महत्व उत्तिकै छ । यसको एक उदाहरण हो लैनचौरको मध्यसडकमा रहेको एक मन्दिर । यो मन्दिर ज्यापू समुदायको कुल देउता हो । काठमाडौँ क्वाबःहालका ज्यापू समुदायले सडक छेकेरै भए पनि त्यहाँ विशेष पूजा गर्ने चलन छ ।
यस मन्दिर र मन्दिरभित्रका देवी-देउताप्रतिको अगाध आस्था र विश्वासले गर्दा उपत्यका तथा उपत्यकाबाहिर छरिएर बसेका ज्यापू समुदायलाई पूजाका बेला एकै ठाउँमा आउन उत्प्रेरित गर्ने गरेको छ । मल्लकालीन समयमा भुइँमै जग जोडेर बनाइएको यो मन्दिरलाई पछि मात्र मन्दिरको स्वरूप दिइएको ज्यापू समुदायका जानकार बताउँछन् । उनीहरूका अनुसार पहिले यो मन्दिर गोरेटो बाटोको किनारमा थियो ।
समाज कल्याण परिषद्को कार्यालय स्थापना भएपछि भने बाटो किनारको मन्दिर परिषद्को परिसरभित्र पुग्यो । पछि सडक फराकिलो पार्ने क्रममा परिषद्को परिसरको मन्दिर बाटो किनारमा र किनारबाट मध्यसडकमा परेको भनाइ उनीहरूको छ ।
वर्तमान समयमा फलामे तारबारले घेरेर मन्दिरको सुरक्षा व्यवस्था मिलाइएको छ । विशेष पूजाका बेला भने दुईतर्फीको आधा आधा सडक छेकेर भोज खुवाउने गरिएको छ । परम्परागत मूल्य मान्यता, आर्थिक तथा सामाजिक एकता र धार्मिक आस्था जोडिएकाले यस्ता मन्दिरलाई अन्यत्र सार्न नमिल्ने भनाइ उनीहरूको छ । विशेष गरी धर्मपथ, ओमबहाल चोक, नक्साल–हाँडीगाउँ क्षेत्रमा यस्ता थुप्रै मन्दिर भेटिन्छन् ।
त्यस्तै गोङ्गबुको गणेश मन्दिर तथा धर्मपथ, क्षेत्रपाटी र यट्काको गणेश मन्दिर बाटोको मध्यभागमा रहेका चर्चित मन्दिर हुन् । संस्कृति संरक्षणकर्मी रमेश मुनिकारको भनाइमा सडक विस्तार गर्ने क्रममा बाटो किनारका मन्दिर सडकको मध्यभागमा परेका हुन् ।
सरकारले घर-जग्गाधनीलाई मुआब्जा दिए पनि मठ-मन्दिर हटाउन मुआब्जाभन्दा धार्मिक आस्था, परम्परागत चलन र गुठी महत्वपूर्ण हुने भएकाले मठमन्दिर यथावत् अवस्थामा राखेर सडक विस्तार गरिएको बताइन्छ ।
विशेष गरी घेरबार एवं पर्खालभित्रको भन्दा चौबाटो, सडकचोक, बाटो किनाराका ढुङ्गा वा धातुका मूर्तिको नियमित पूजाआजा गरिनुका साथै तिनलाई दैवी शक्ति र धार्मिक आस्थाको धरोहर मानिँदै आएको छ ।
संस्कृति संरक्षक मुनिकारका अनुसार नेवार समुदायले मानिआएका कतिपय देवी-देउता घरभित्र राख्नै नहुने छन् । त्यस्ता देवी-देउतालाई घरबाहिर राखेर पूजा-आजा गर्दा शुभ हुने गर्छ । जस्तै भूतेश्वर भैरव । बच्चालाई भूतप्रेत वा रुन्चे नलागोस् भनेर भूतेश्वर भैरवको पूजा गरिन्छ । यसको मन्दिर बाटोको मध्यभाग वा किनारामा बनाइएको हुन्छ । यस्ता केही मन्दिर नेवार समुदायको कुल देउता पूजा स्थल पर्ने भएकाले गुठी पूजा गर्ने चलन छ ।
घरपरिवारका सदस्यमा रोगव्याधि नलागोस्, मनोकाङ्क्षा पूरा होस् भन्नका लागि गणेशको पूजा गरिन्छ भने नवदुर्गा, सङ्कटा, अजिमा लगायतसँग भाकल गर्ने चलन छ । सामान्यतः देवी-देउता भनेको सानो मूर्ति त हो नि लाग्ला तर आस्था र विश्वासकै शक्तिका कारण तिनलाई एक स्थानबाट अर्को स्थानमा सार्न मिल्दैन ।
परापूर्वकालमा स्थापना गरिएको मन्दिर वा मूर्तिलाई स्थानान्तरण गर्न सकिन्छ तर विस्थापन सम्भव नभएकाले मठ-मन्दिर जोगाएर विकास निर्माण कार्य हुने गरेका छन् ।
काठमाडौँका नेवार समुदायमा ‘पिखालाखु’ पूजा पनि धार्मिक आस्था र भरोसाका लागि महत्वपूर्ण मानिँदै आएको छ । पिखालाखुः घरअगाडि बनाइएको सानो मन्दिर वा पूजा स्थान हो । यस स्थानमा बिहान जल, फूलपाती, अन्न, पाकेको खाने कुरा चढाउने गरिन्छ । यसलाई खुट्टाले कुल्चिनु र नाघ्नु हुँदैन ।
नेवार समुदायको मुख्य बस्तीमा पिखालाखुः अचेल पनि जीवित छ तर बसाइँ सरेकाले भने बिर्सन थालेका छन् । घरको मूलढोकाअगाडि पूजा गर्दा वा प्रसाद चढाउँदा शुभसाइत पर्ने विश्वास रहिआएको छ ।
पिखालाखुः पूजाले धार्मिक आस्था प्रगाढ बनाउनुका साथै पानी, फलफूल, अन्नपात चढाउँदा कुकुर, काग, मैना, परेवा, भँगेरा लगायत पशुपन्छीले आहारा पाउने गर्छन् ।
धार्मिक आस्था र विश्वासभन्दा माथि विकास निर्माण हुँदैन भन्ने कुराको ज्वलन्त उदाहरण बनेका छन् काठमाडौँका कैयन् यस्ता मठ-मन्दिर वा चोक जो वर्सौंदेखि जीवन्त छन् ।
–देवबहादुर कुँवर
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















