01/15/2026, 14:27:53
बिहिबार, माघ ०१, २०८२

थारू माघी पर्व र यसको महत्व


पश्चिमा थारूले मनाउने विशेष पर्व हो ‘माघ’ । ठाउँ अनुसार यसलाई ‘माघ, माघी, खिचरा, तिला सङ्क्राइत, माघे सङ्क्रान्ति’ पनि भनिन्छ । दाङ पश्चिमका थारूले माघ भन्छन् । पूर्वका थारूले ‘तिला सङ्क्राइत’ भन्छन् भने बिच (कपिलवस्तु–चितवन) का थारूले खिचरा, खिचरी भन्छन् । काठमाडौँ उपत्यकासहित पश्चिम कञ्चनपुरदेखि पूर्वको झापासम्म २६ जिल्लामा थारूहरूको सघन बसोबास छ । त्यही भएर ठाउँ अनुसार यो पर्वको नाम फरक भएको हो ।

माघे सङ्क्रान्तिको नामले सबै नेपाली समुदायले यस पर्वलाई माघ १ गते मनाउने प्रचलन रहँदैआएको छ । बाह्र महिनामध्ये एउटा महिना माघ हो । माघ महिनाको नामबाटै यो पर्वको नाम ‘माघ’ रहन गएको हो । यद्यपि पछि यसलाई ‘माघी’ को नामले सम्बोधन गर्न थालियो । विशेष गरी थारू समुदायको छाता सङ्गठन थारू कल्याणकारिणी सभा (थाकस) ले २०५९ सालदेखि काठमाडौँमा माघी महोत्सव मनाउन सुरु गरेपछि माघलाई माघी भन्न थालियो ।

पश्चिमका थारूले यो पर्वलाई माघको रूपमा मनाउँछन् । पूर्वका थारू र काठमाडौँ उपत्यकामा कामविशेषले बसोबास गर्ने थारूले साझा पर्वको रूपमा माघलाई ‘माघी’ को रूपमा मनाउँदै आएका छन् । उच्चारण जुन शब्दबाट गरिए पनि भन्न खोजेको ‘माघ’ नै हो । यो पर्वको सुरुवात पश्चिमा थारूले गरेका हुन् । पश्चिमा थारूले यसलाई विशेष पर्व (नयाँ वर्ष) को रूपमा मनाउने गर्छन् ।

स्वतन्त्र विश्वकोष, नेपाली विकिपिडियाले ‘माघी’ सम्बोधन गरेको छ । त्यसमा लेखिएको छ, “माघी नेपालमा बसोबास गर्ने थारू समुदायले मनाउने प्रमुख चाड हो । माघीलाई थारूहरूको मौलिक संस्कृतिले भरिएको सबैभन्दा ठुलो पर्वको रूपमा लिइन्छ ।” माघे सङ्क्रान्तिको अघिल्लो दिन अर्थात् पुसको अन्तिम दिन थारू गाउँमा सुँगुर काट्ने प्रचलन छ । जसलाई थारूमा ‘जिता मर्ना’ भनिन्छ ।

सुँगुरको मासुसँग थारू परिकार ढिक्री, माछा, घोँगी, सिपी, गँगटा, अनदीको भात, मुरही, जाँर रक्सी आदि परिकार खाने प्रचलन छ । पुसको अन्तिम दिन रातभरि थारू जाग्राम बस्छन् । त्यस रात दफुको साथमा ‘धमार, धुमरु’ गीत गाउँछन् । भाले नबास्दासम्म गाइने सो गीतमा थारू इतिहास, रहनसहन, खेतबारी गर्ने चेतनामूलक गीत गाइन्छ ।

गीत सबै मौखिक हुन्छ । थारू अगुवाले गीतलाई कण्ठस्थ पारेका हुन्छन् । अर्थात् उनीहरू धमार गीत रचना गर्न विशेष सिपालु हुन्छन् । रातभरि जाग्राम बसी गीत गाउने गायकको सत्कारका लागि जाँर रक्सी र विशेष खानपानको व्यवस्था गरिएको हुन्छ । जाग्राम बसी गीत गाउनेलाई विशेष सम्मान र आतिथ्यता प्रदान गर्ने चलन छ ।

के हो माघ लहान

माघ १ गतेलाई पवित्र दिनका रूपमा हेरिन्छ । सुँगुर, बँगुर, हाँस, कुखुराको मासु खाने दिन पुस अन्तिम दिन हो । भोलि पल्ट अर्थात् माघ १ गते परम्परागत बाजागाजासहित सामूहिक रूपमा नजिकको जलाशयमा गई स्नान गर्ने गरिन्छ । जसलाई थारूहरूले ‘माघ लहान’ भन्छन् । नुहाउने कर्मलाई थारू भाषामा ‘लहैना’ भनिन्छ । त्यसैबाट माघ लहान भएको हो । यस दिन जलदेवतासँग पानी खरिद गरेर थारूहरू स्नान गर्छन् । पोखरी, नदीमा डुबुल्की मार्छन् । डुबुल्कीअघि पानीमा सिक्का छाड्छन् । जलदेवतासँग पानी खरिद गरेर नुहाउँदा वर्षभर जानअन्जानमा गरिएका गल्ती (पापकर्म) पखालिन्छ, नष्ट हुन्छ भन्ने विश्वास थारूमा छ ।

नुहाउन जाँदा बाटोभरि धमार गीत गाउने, मघौटा नाच नाच्ने चलन छ । जसको नेतृत्व घरमुली वा बरघरले गर्छन् । गाउँभरिका सदस्य सामूहिक रूपमा जलाशयमा रमाइलो गर्दै जाने र नुहाउने गर्छन् । यो परम्पराले सामूहिकताको विकास गरेको छ । सहयोगको भावनाको विकास गरेको छ ।

सेवा ढोग आशीर्वाद

उसो त घरका ज्येष्ठ सदस्य तथा आफन्तबाट लामो समयपछि भेट हुँदा सम्मान स्वरूप सेवा ढोग गर्ने र आशीर्वाद लिने प्रचलन सबै समुदायमा छ । थारू समुदायमा पनि त्यो विद्यमान छ । तथापि गाउँघरका सदस्यले कामविशेषले देशबाहिर, गाउँबाहिर रहँदा वर्ष दिनपछि घरमा जम्मा हुने र माघ १ गते चोखो पानीमा स्नान गरी ठुलालाई ढोग गरी आशीर्वाद लिनुमा छुट्टै मजा छ । यसले ठुलालाई सम्मान दिन्छ र दीर्घायु तथा सुखी जीवनको मनग्य आशीर्वाद पनि प्राप्त हुन्छ ।

त्यसैले सेवा ढोग आशीर्वादले एकअर्कालाई जोडेको छ । ठुलाको सम्मान र सानाको माया यसमा अन्तरनिहित छ । यसले व्यक्ति–व्यक्तिलाई मात्र जोड्ने होइन, समाज र देशलाई नै जोडेको छ । व्यक्तिको मनमा शान्ति भएपछि समाज गाउँमा शान्ति कायम हुन्छ । समाजमा शान्ति भएमा देशभर शान्ति हुन्छ र अहिंसारूपी समाजको सिर्जना हुन जान्छ । त्यसैले सेवा ढोग आशीर्वादको महत्व सबै समुदायमा छ ।

थारूहरूले माघ १ गते स्नान गरेपछि ठुला (अभिभावक) को आशीर्वादका लागि चामल, नुन, दाललाई साक्षी राख्छन् । घरको देवता कोठा (दिहुरार) मा गुन्द्रीमा अलग–अलग ती सामान राखिएका हुन्छन् । स्नान गरेर घरमा आएपछि पहिले घरका सदस्यले ती चामल, नुन र दाललाई पाँच–पाँच अञ्जुली अलग भाँडामा राख्छन् । त्यसपछि मात्र आफूभन्दा ठुलाको आशीर्वाद थाप्छन् । थारूहरूले नुहाएर चोखो भएपछि सगुनको रूपमा ती चिजलाई छोएपछि अभिभावकको आशीर्वाद लिन्छन् ।

नजिकमा मठमन्दिर वा देवालय भएका गाउँका सदस्यले चोखो मनले भगवान्को पूजापाठ गर्छन् । ढोग आशीर्वादमा अभिभावकले वर्षभरका लागि सुख, शान्ति, प्रगतिको आशीर्वाद प्रदान गर्छन् । घरका सदस्यले गाउँका सबै अभिभावककहाँ गएर आशीर्वाद लिने प्रचलन छ । यो प्रचलनले गाउँका सदस्यबिच एकअर्कासँग सम्बन्ध प्रगाढ बनाउने भूमिका खेल्छ । सेवाढोग आशीर्वाद पछि मात्र खानपिन गरिन्छ । खानपिन पनि सामूहिक रूपमा आगो ताप्दै गर्ने प्रचलन छ । सुख दुःखका कुरा साटासाट पनि त्यहीबेला गरिन्छ ।

विवाहित चेलीलाई निसराउ

माघ १ गते थारूहरूले विवाहित चेलीलाई विशेष उपहार दिन्छन् । यसलाई थारू भाषामा ‘निसराउ’ दिने भनिन्छ । नुहाएर घर आएपछि घरमा सगुनको रूपमा छोएको चामल, नुन र दाल नै निसराउ हो । त्यसमा थपेर चेलीबेटीलाई उपहारस्वरूप नगदसहित प्रदान गरिन्छ । माघी पर्वमा विवाहित चेलीलाई अनिवार्य रूपमा माइत ल्याइएको हुन्छ । माइत आएका चेली फर्कने बेलामा निसराउ लिएर फर्किन्छन् । कुनै कारणबस माइत आउन नपाएका चेलीलाई घरका सदस्यले निसराउ दिन चेलीबेटीको घर जान्छन् । निसराउ दिने प्रचलनले घरका सदस्य र विवाहित चेलीबिचको सम्बन्धलाई अझ प्रगाढ बनाउँछ । नाता कुटुम्बलाई जोड्ने काम गर्छ । त्यसैले पनि निसराउ (उपहार) दिने चलनलाई महìवका साथ हेरिन्छ ।

सम्बन्ध जोड्ने पर्व

माघी पर्वले एक अर्काबिच भएको तिक्तता हटाउँछ । काम गर्ने सिलसिलामा कसैसँग रिइस्बी भएको छ भने माघ १ गते जलाशयमा स्नानपछि सेवा ढोग र अङ्कमाल गर्नाले वर्षभरको रिसराग हट्ने र नयाँ सम्बन्ध कायम हुने विश्वास गरिन्छ । चोखो पानीमा स्नान गर्नाले शरीरको रोग, विमार सबै हट्ने र वर्षभरको पाप पखालिने विश्वास गरिन्छ । त्यसैले माघ पर्वलाई मेलमिलापको पर्वको रूपमा हेरिन्छ । एकअर्कालाई ढोग आशीर्वाद लिने प्रचलनलाई थारूहरूले ‘सेवा सलाम लग्ना’ भन्छन् । यसो गर्दा गाउँका सदस्यबिच एकता, मित्रता र आपसी सहयोगको भावनामा वृद्धि हुन जान्छ ।

माघ नयाँ वर्ष

थारू सवंत् अनुसार यो माघ २६४९ औँ हो । माघ पर्वलाई थारूहरूले नयाँ वर्षको रूपमा मनाउँछन् । कारण–पुस मसान्तसम्म आफ्नो लेनदेन, हरहिसाब गर्छन् । माघ १ गतेदेखि नयाँ खाता सुचारु गर्छन् । वर्ष दिन गरेको कामको लेखाजोखा, हिसाब फरफारक तथा गाउँको काम गर्नका लागि नियुक्त गरिएकाहरूको पारिश्रमिक दिने गर्छन् । माघ १ गतेदेखि नयाँ नियुक्ति गर्छन् । गाउँ सञ्चालन गर्न बरघर, गुरुवा, चिरक्या, घरमुली, अघारी, चौकीदार, कुलापानी गर्ने व्यक्ति, फलामको काम गर्ने व्यक्ति, गोठालो आदिको नयाँ नियुक्ति गरिन्छ । जवान भएका छोराछोरीको विवाह पनि माघ महिनाबाटै सुरु गर्ने गरिन्छ । वर्ष दिनका लागि नयाँ योजना बनाउने र त्यसको कार्यान्वयनका लागि जिम्मेवारी सुम्पने काम हुने भएकाले थारूहरूले यस पर्वलाई नयाँ वर्षको रूपमा लिन्छन् ।

अन्त्यमा थारूहरूले माघी पर्वका लागि महिना दिनसम्म तयारी गर्छन् । भात खान चामलदेखि, पैसाको जोहो, ढिक्रीलगायतका परिकार बनाउने सामग्री, तेल, नुन, खुर्सानी सबै चिजको जोहो गर्छन् । मासुका लागि सुँगुर बँगुर खोज्नेदेखि खोलामा गएर माछा मार्ने, घोङ्घी, गँगटा, सिपी खोज्नेसम्मको तयारी गर्न महिना दिनको समय चाहिन्छ । अहिले काठमाडौँ उपत्यकासहित गाउँघरमा महोत्सव गर्ने प्रचलन बढेको छ । जिल्ला जिल्लामा माघी महोत्सव, खिचरा महोत्सव, तिला सङ्व्रmाइत महोत्सव सुरु हुने गरेका छन् । यसले थारू समुदायको कला संस्कृतिको जगेर्ना गरेको छ ।

अर्कोतर्फ आफ्नै घरमा उत्पादित परिकार बिक्री गरेर आम्दानी पनि भएको छ । माघ पर्वको बारेमा राष्ट्रिय अन्तर्राष्ट्रिय क्षेत्रमा यसको प्रचारप्रसारले पर्यटन प्रवर्धनमा सहयोग पुगेको छ । यो पर्वमा विशेष गरी मघौटा नाच, छोक्रा, हुरदङ्ग्वा नाचिन्छ । थारूहरूले पुसको अन्तिम दिन जिता मार्ने, माघ १ गते लहान गर्ने, २ गते खिचडी खाने र बाँकी साताभरि रमाइलो गर्छन् ।

– लक्की चौधरी