01/07/2026, 22:47:44
बुधबार, पुष २३, २०८२

बालेनलाई ‘चमेली’ को शोक मन्तव्य


मेयर बालेन साहज्यू, म चमेली । मलाई चिन्नुभयो ? ‘गाई त बाँध्यो ढुंग्रोमा, मोइ छैन मोइ छैन, गरिबको चमेली बोल्दिने कोही छैन’ – यो गीत तपाईंले अवश्य नै गाएको हुनुपर्छ । र, आशा छ, यो गीत तपाईंले अझै बिर्सिनुभएको छैन । म त्यही गीतकी पात्र, चमेली । आज म यहाँलाई कुनै माग, निवेदन वा फिराद सुनाउन नभई, मेरो आस्था र विश्वासको शोक मन्तव्य सुनाउन उपस्थित छु । कृपया सुन्नुहोला ।

पहिले नै स्पष्ट गर्छु, यो शोक मन्तव्य कुनै पूर्वाग्रह वा स्वार्थबाट प्रेरित छैन । न त यो मन्तव्य कसैको फगत विरोध हो, न त बदख्वाइँ । यो मन्तव्य मेरो मनको आवाज हो । आफ्नै विश्वासको सुस्केरा । जसलाई मैले मेरो हृदयमा लेखेको छु र मेरा मृत अपेक्षाहरू यसमा अक्षर बनेर बसेका छन् ।

कृपया, तपाईंभित्रका विरोधाभास र अहंकारहरूलाई एकछिन शान्त राखेर, तपाईं यो मन्तव्य सुन्नुहोला । हुन सक्छ, यो तपाईंलाई मन नपर्न सक्छ । तर शोक मन्तव्य कस्ता हुन्छन्, यो तपाईंले थाहा पाउनै पर्छ । त्यसैले नै यो म तपाईंलाई सुनाउँदै छु । यो मन्तव्य म तिनीहरूका नाममा तपाईंलाई सुनाउँदै छु, ज–जसले तपाईंले झैं चमेलीको गीत गाएर भोट मागे, चुनाव जिते र अन्ततः चमेलीका सपनामाथि सत्ताको उन्मत्त घोडा दौडाए ।

अनुरोध गर्छु, यो मन्तव्य सुनिरहँदा, तपाईं स्वयं आफ्नै समयसँग इमान्दार भएर सुन्नुहोला । यो मन्तव्य सुन्दा, तपाईंले लेख्ने गरेको शाह र तपाईंका पुर्खाहरूले भन्ने गरेको साहको सही अर्थ र उपस्थितिलाई परख गरेर सुन्नुहोला । यो सुनिरहँदा, तपाईं आफैंभित्र ऐतिहासिक चेतनाको उज्यालो खोजेर सुन्नुहोला । अन्यथा, तपाईंले यो मन्तव्यका शब्द, भाव र अर्थलाई बोध गर्न सक्नु हुने छैन । त्यसैले यो मन्तव्य सुन्दा तपाईं आफ्ना वाचा र प्रतिबद्धताको कसीमा स्वयंलाई परख गरेर सुन्नुहोला ।

प्रारम्भमा म केही सुखद विवरणहरू पेस गर्छु । म त्यो दिन निकै खुसी थिएँ, जुन दिन तपाईंका चुनाव प्रचारकहरू पहिलो पटक यो गीत बजाउँदै हाम्रो सुकुम्बासी बस्तीमा आइपुगे । मलाई अहिले पनि सम्झना छ, त्यो बेला, लाउडस्पिकरमा गीत बजिरहेको थियो— ‘धनीलाई धनमाथि धनै छ धनै छ, गरिबलाई चमेली ऋणमाथि ऋणै छ ।’  त्यो दिन मलाई मन पर्ने गीत मेरै झुप्रो अगाडि बजिरहेको थियो । जसले भन्थ्यो, ‘हुनुपर्छ चमेली सबैलाई बराबर ।

मलाई यो गीत मन पर्नुका दुइटा कारण थिए । पहिलो कारण, मेरो नाम नै चमेली हो, त्यसैले त्यो दिन मलाई लाग्यो, त्यो गीत मेरै लागि बजिरहेको छ । दोस्रो, गीतले भन्थ्यो  ‘हुनुपर्छ चमेली सबैलाई बराबर ।’ र, यहाँ बराबर शब्दले मेरा अनेकौं सपनाहरूको प्रतिनिधित्व गर्थ्यो । मलाई लाग्यो, त्यो दिन बागमती किनारमा तपाईं र तपाईंका मान्छेहरू, मेरै गीत गाएर मेरा सपनाहरू जागृत गरिरहेका छन् ।

त्यसपछि मैले लगभग पूरा दिन गीतमा भनेझैं ‘बराबरी’ को अर्थ खोज्दै बिताएँ । हामी यतिखेर त्यस्तो देशमा बाँचेका छौं, जहाँ कोही दरबारको रजगजमा छन्, कसैलाई चिहान खन्न पाँच फिट जमिन छैन । कोही सडकमा धूलो उडाउँदै हिँड्छन्, कोही त्यही धूलोमा पुरिएर बाँच्नुपरेको छ । हामी यस्ता मान्छे हौं, जो गाली, आरोप र अपहेलनासँगै बाँच्छौं । अलिकति मरेर, अलिकति बाँचेका हामी ।

काम पाइएन भने, भोकै सुत्नुपर्ने नियतिका सिकार हामी । कोभिडले थलिएका हामी । बेरोजगारीले पिरोलिएका हामी । रोगले क्षतविक्षत हामी । हिउँदमा कठांग्रिने हामी । गर्मीमा बाफिने हामी । प्रत्येक क्षण रुँदै हाँसेका हामी । हाँसेर पनि रमाउन नसकेका हामी । तर त्यो दिन, मेयर साह, जब मैले ‘हुनुपर्छ चमेली सबैलाई बराबर’ भन्ने गीत सुनें, मन उड्यो चंगाझैं आकाशमा ।

मलाई लाग्यो अब हामी पनि ती सबैसँग बराबर हुनेछौं, जसको अनुहारमा हामीले कहिल्यै आँखा उठाएर हेर्न पाएनौं । अब हामी अस्पतालमा बराबर हुनेछौं । स्कुलमा बराबर हुनेछौं । जागिरमा बराबर हुनेछौं । वेतनमा बराबर हुनेछौं । हामी सबैको हिँड्ने बाटो एउटै हुनेछ । र, महानगरको अफिसमा प्रवेश गर्दा, उनीहरू पनि त्यही लाइनमा उभिनेछन्, जहाँ हामी उभिनेछौं ।

मेयरसाब, त्यो रात मैले मेरी सानी छोरीलाई ‘चमेली’ गीतको अर्थ बुझाएँ । उसलाई तपाईंको फोटो देखाएँ । तपाईंको नाम बताएँ । अर्को दिन बिहान पहिलो पटक बागमती किनारमा उभिएर, पारि ठडिएका अग्ला महलहरू हेर्दै मेरी छोरी गर्वका साथ हाँसिरहेकी थिई । उसले मलाई बालसुलभ प्रश्न सोधी— ‘आमा, के अब मलाई त्यता जाँदा कसैले खाते भनेर लखेट्दैनन् ?’ मैले उसलाई आश्वस्त गरें । म आशावादी थिएँ र त्यही आशाले उत्साहित थिएँ ।

बागमती किनारको सुकुम्बासी बस्तीमा त्यसपछि चुनाव लाग्यो । पुराना पार्टीका मान्छेहरू पनि भोट माग्दै आए । तर उनीहरू र तपाईंमा मैले आकाश–जमिनको अन्तर देखें । त्यसपछि, तपाईंको विरोध गर्नेहरूसँग म लडें । तपाईंको आलोचना गर्नेहरूलाई झम्टिएँ । तपाईंका अन्तर्वार्ता हेरें र अरूलाई पनि हेर्न लगाएँ । तपाईंले थाहै नपाई म तपाईंको जुलुसमा हिँडें । र, मतगणना हुँदा सानी छोरीलाई डोर्‍याउँदै सभागृहको ढोकामा उभिएर प्रार्थना गरिरहें ।

नभन्दै, तपाईंले चुनाव जित्नुभयो । त्यो दिन म निकै खुसी भएँ । मैले तपाईंका चुनावी वाचाहरू सम्झिएँ । मेरो कल्पनामा आए– हाम्रा लागि महानगरपालिकाले बनाइदिएका एकै लहरका पसलहरू । सस्तो पानी । सस्तो बिजुजी । सस्तो स्कुल । सस्तो उपचार । जताततै शौचालय । मलाई लाग्यो– सडक व्यापारीलाई शौचालयको महत्त्व कति हुन्छ, त्यो नयाँ मेयरले बुझेको छ ।

मैले मनमनै सपना देखें– अग्ला घर अरूकै होलान्, हाम्रा लागि अब कम्तीमा ठेगाना मिल्नेछ । चिल्ला कारमा जो कुदुन्, फुटपाथ हाम्रो हुनेछ । अब हामीले आफ्नो गरिबी लुकाउनुपर्ने छैन । मलाई लाग्यो, अब महानगर हाम्रो हुनेछ । यहाँका चोक, फाल्चा र गल्लीहरू हाम्रा हुनेछन् । र, चमेली महानगरकी हुने छे ।

तर दुर्भाग्य, मेरा सपना धेरै टिकेनन् । एक दिन म सडकछेउको एउटा कुनामा मकै पोल्दै थिएँ । नजिकै मेरी साथी चटपटे बेच्दै थिई । अर्कोतिर साइकलमा फलफूल बेच्ने दाजुहरू थिए । हामी सबै ‘दैनिक कमाएर खाने’ मान्छे, हाम्रो बैंकमा बचत थिएन र हाम्रो हातमा थिए इमानका ठेला । त्यो दिन हामी नजिकै आउँदै गरेको चाडबाडका बारेमा कुरा गर्दै थियौं । मेरी साथी आफ्नी छोरीलाई दसैंमा जामा किनिदिने योजना सुनाउँदै थिई । जागेश्वर दाइ बिरामी बाबुलाई किन्नुपर्ने औषधिको हिसाब गर्दै थिए ।

म छोरीलाई स्कुल जाने एउटा राम्रो ब्याग किनिदिन चाहन्थें । त्यति नै बेला, अकस्मात् हाम्रो अगाडि ड्रेस लगाएका केही मान्छे आए । उनीहरूले भने, ‘तिमी फोहोरहरू यहाँ बस्न पाउँदैनौं । यहाँ मकै बेच्न निषेध छ । यहाँ चटपटे बेच्न निषेध छ । यहाँ फलफूल बेच्न निषेध छ ।

हामीले केही भन्न नपाउँदै, उनीहरूले हाम्रा सामान फ्याँक्न थाले । हामीलाई लछारपछार गरियो । हामी चिच्यायौं, रोयौं । तर न त कालो चस्माभित्रका ती मान्छेहरूमा कुनै पश्चाताप थियो, न त करुणाबोध । त्यो दिन राक्षसजस्ता विवेकहीन मान्छेहरू तपाईंको आदेशमा हाम्रो सपनामाथि मार्चपास गरिरहेका थिए र म छेउमा बसेर रुँदै थिएँ ।

त्यसपछि, मेरो तपाईंप्रतिको विश्वास ढल्यो । मेरो सपना ढल्यो । भरोसा ढल्यो । किनभने, त्यो दिन मलाई सडकबाट मात्र हटाइएन, मेरो आत्मसम्मानलाई पनि छियाछिया बनाइयो । मैले यो देशमा जमिन पाइनँ, घर पाइनँ, जागिर पाइनँ, मैले तपाईंको सहरमा सडकको सानो हिस्सा मागेकी थिएँ, त्यो पनि खोसियो । मैले तपाईंका मान्छेहरूलाई सोधें, मेरो देश कहाँ छ ? मेरो सरकार कहाँ छ ? म उभिने जमिन कहाँ छ ? मेरो राजधानी कहाँ छ ? तपाईंका मान्छेले भने, ‘यो मेयरसापको आदेश हो ।

त्यसपछि, मेरो चुल्होमा बल्दै गरेको आगो निभ्यो । र, त्यो रात मैले मेरी छोरीलाई भोकै सुताएँ । म आज तपाईंलाई सोध्छु, मेयर साह, के तपाईंको शासनमा एक जना गरिबले मकै पोलेर बेच्नु पनि अपराध हो ? हो भने, तपाईंले बजाएको चमेलीको गीत के हो ? हिजो तपाईंले किन हाम्रो भावनालाई सुमसुम्याउनुभयो र आज किन हाम्रो भावनामाथि छुरा धस्नुभयो ?

त्यो रात मैले तपाईंलाई आफैंले हालेको भोटका लागि पश्चाताप गरें । मेरी छोरीलाई देखाएका सपनाहरूका लागि पश्चाताप गरें । तपाईंका नाममा भगवान्सँग गरेको प्रार्थनाका लागि पश्चाताप गरें । मैले मनमनै गनें तपाईंका झूटा आश्वासनहरू । बागमती सफा गर्ने आश्वासन । फोहोरबाट बिजुली निकाल्ने आश्वासन । निर्माण एम्बुलेन्स ल्याउने आश्वासन । सार्वजनिक यातायात सुधार्ने आश्वासन ।

चमेलीका दुःख हर्ने आश्वासन । सडक व्यापारलाई व्यवस्थित गर्ने आश्वासन । आफ्नै आश्वासनका पोका खोल्नुहोस् महोदय र विवेचना गर्नुहोस्, के भनियो र के गरियो ? सोच्नुहोस्, जनताको प्रतिनिधि भएर जनताले नै भेट्न नपाउने, तपाईं को हो ? सम्राट् हो ? हतार–हतार चुच्चे नक्सा अफिसमा टाङ्ने र चमेलीको गीत गााउने तपाईं, मान्छेप्रति चाहिँ यति धेरै निरपेक्ष र असहिष्णु किन ? तपाईंका व्यवहारहरू हेर्दा लाग्छ, कालो चस्माभित्र छोपिएका तपाईंका आँखामा मान्छेका दुःख देख्ने प्रकाश छैन । न त तपाईंमा इतिहासको चेतना छ, न त समयबोध । त्यो दिन मलाई निश्चित भयो, तपाईं झूटो र समवेदनाहीन मान्छे हो ।

अब कुरा गर्छु आजको । धेरैपछि तपाईंले लेख्नुभएको एउटा स्टाटसले मेरो ध्यान खिच्यो । स्टाटस पढें, जहाँ तपाईंले लेख्नुभएको छ, ‘म नेपाल हाँसेको हेर्न चाहन्छु ।’ त्यो पढेपछि मेरो मनमा प्रश्न उठ्यो— मेयर साहले हेर्न चाहेको देशको हाँसो कस्तो होला ? जुन देशमा गरिबका लागि उभिने जमिन छैन । घर छैन । सडक छैन । रोजगारी छैन । आत्मसम्मान छैन ।

जुन देशमा, गरिबले भोट हालेर जिताएको मेयर गरिबको हुँदैन । र, जुन मेयरले गरिबलाई उसको सहरमा तरकारी बेच्ने विकल्प पनि दिँदैन, त्यो मेयरले हेर्न चाहेको देशको हाँसो कस्तो होला ? तपाईं र तपाईंका मान्छेहरू भन्छन्, हामीले तपाईंको राजधानीलाई फोहोर बनायौं । भन्नुहोस् महोदय, तपाईंहरू नाच्ने डिस्कोको आवाजले सहर फोहोर गरेको छैन ? तपाईंका स्टाटसहरू कस्ता उद्दण्ड र निर्लज्ज हुन्छन्, फर्केर हेर्नुहोस् । तपाईंले लेखेका सामाजिक सञ्जालका स्टाटसले सञ्जाल फोहोर गरेको छैन ?

तपाईंका समर्थकहरू जो मान्छेलाई गालीगलौज र हुलहुज्जत गर्दछन्, उनीहरूले हाम्रो ज्ञान, विवेक र बहसलाई फोहोर गरेका छैनन् ? चमेलीको गीत गाएर, त्यही चमेलीलाई सडकबाट खेद्ने तपाईंहरू, तपाईंहरूले राजनीतिक उत्तरदायित्व र उपादेयतालाई फोहोर गर्नुभएको छैन ? समाजलाई हामीले भन्दा धेरै तपाईंहरू फोहोर गर्दै हुनुहुन्छ, अनि तपाईंहरूलाई हाम्रो फोहोरले मात्र आँखामा बिझाउँछ कसरी ? म तपाईंलाई सोध्न चाहन्छु साहेब, हाम्रो फोहोर त कुचो लगाउँदा बढारिन्छ, तपाईंहरूले गरेको फोहोर पखालिन्छ कसरी ?

मेयर साह, तपाईंका समर्थक धेरै छन् । जो तपाईंले सिंहदरबार जलाउँछु भन्दा पनि ताली बजाउँछन् । गरिबलाई सडकबाट लखेट्दा पनि ताली बजाउँछन् र तपाईंले ‘फ..’ भन्दा पनी ताली बजाउँछन् । के उनीहरूबाट आफैंलाई जोगाउने तपाईंसँग सामर्थ्य छ ? मेयर साह, तपाईंमा अहिले राजनीतिको रंग चढेको छ । तपाईंभित्र प्रधानमन्त्री हुने महत्त्वाकांक्षा जागेको छ ।

तपाईं मन्त्री हुनुहोस्, प्रधानमन्त्री हुनुहोस्, राष्ट्रपति हुनुहोस्, शुभकामना छ । तर यति भन्नुहोस्, राजा, महाराजा जस्तो इन्द्रजात्रामा झुलुक्क देखिने तपाईंसँग लोकतान्त्रिक राजनीति गर्ने उदार चेतना र चरित्र छ ? तपाईं सडकमा उभिने गरिबको आत्मसम्मानमाथि खेलबाड गर्नुहुन्छ र देश बनाउने कुरा गर्नुहुन्छ, अब भन्नुहोस् तपाईंले बनाउने देश कस्तो हुन्छ ? मैले सुनेको छु, तपाईं सुशासनको कुरा गर्नुहुन्छ ।

तर स्वयं आफ्नो पार्टी सभापतिमाथि ठगीको आरोपमा अनेकौं न्यायिक प्रश्नहरू उठेका छन्, ती प्रश्नहरूलाई काँधमा बोकेर, तपाईं कस्तो सुशासन ल्याउनुहुन्छ ? तपाईंका स्टाटसहरू हेर्दा लाग्छ, तपाईं आफू प्रश्नबाट भाग्नुहुन्छ र अरूलाई प्रश्न सोध्नुहुन्छ । मेयर साह, भन्नुहोस्, भुइँका प्रश्नहरूबाट भागेर तपाईं कसरी जनताको प्रतिनिधित्व गर्नुहुन्छ ?

महोदय, कृपया यति कुरा बुझ्नुहोला, चमेलीहरू अन्याय, अत्याचार र अपहेलना सहन किमार्थ बाध्य छैनन् । चमेलीहरू नियतिको सिकार होइनन्, राज्यको नियोजित विभेदको सिकार हुन् । भन्नुहोस् महोदय, चमेलीहरूले भोगेको ऐतिहासिक विभेदबारे तपाईंलाई के ज्ञान छ ? मलाई तपाईंमाथि आशंका छ हजुर, किनभने तपाईं देश देख्नुहुन्छ, देशभित्रका चमेलीहरू देख्नुहुन्न त तपाईं कसको राजनीति गर्नुहुन्छ ? भन्नुहोस् महोदय, तपाईं मेयर हुँदा हामी गरिबले राजधानीको सडकमा उभिने ठाउँ पाएनौं, प्रधानमन्त्री भए, हामीलाई कहाँ खेद्नुहुन्छ ?

मेयर साह, (सबै ती मान्छेहरू जसले चमेलीको गीत गाए र चमेलीलाई नै ठगे) आज म तपाईंलाई यही शोक मन्तव्यमार्फत सुनाउँछु, त्यो चमेली अब मरिसकी, जो तपाईंले बजाउने गीतको भाका सुनेर दंग हुन्थी । र गुनगुनाएकी थिई, ‘हुनुपर्छ चमेली सबैलाई बराबर ।’ त्यो सिधा र सरल चमेली मरिसकी, जो हिजो मनमनै तपाईंहरूको विजयका लागि ईश्वरसँग प्रार्थना गर्थी ।

आज त्यो चमेली छैन, जसमाथि तपाईंहरूले अन्याय गर्नुभयो । उहिले उसको ठाउँमा अर्कै चमेली उपस्थित छे, जोसँग आफ्ना आशा, अपेक्षा र सपनाहरू जागृत गर्ने आफ्नै दृढता र अठोट छ । त्यसैले मेयरसाप, या त आफूलाई फेर्नुहोला र आफ्नै विगतप्रति प्रायश्चित गर्नुहोला । अन्यथा चमेलीहरूको भावनामा नखेल्नुहोला । र, मान्यवरहरू चमेलीको गीत गाएर चमेलीमाथि नै बुट बजार्ने राजनीति कृपया अब नगर्नुहोला ।

– केशव दाहाल