12/25/2025, 18:07:56
बिहिबार, पुष १०, २०८२

वैकल्पिक शक्तिको खोजमा नेपालको राजनीतिक परिवेश


नेपालको राजनीतिक परिवेश आज एक निर्णायक मोडमा उभिएको छ । यो मोड सामान्य सत्ता हस्तान्तरण, सरकार परिवर्तन वा निर्वाचन चक्रको औपचारिक निरन्तरता मात्र होइन, बरु राज्य सञ्चालनको सोच, राजनीतिक संस्कार र नेतृत्वप्रतिको जनविश्वाससँग प्रत्यक्ष जोडिएको ऐतिहासिक क्षण हो । दशकौँदेखि सत्तामा पालैपालो पुगेका परम्परागत राजनीतिक दल जनआकाङ्क्षा सम्बोधन गर्न असफल हुँदै आएका छन् । भ्रष्टाचार, कुशासन, जवाफदेहिताको अभाव, सत्तामोह र अकर्मण्यताले राजनीतिक प्रणालीलाई नै जनताप्रति अविश्वसनीय बनाइदिएको छ । यो विषय बुझ्न जरुरी छ । आजको जनआक्रोश कुनै एक घटना, एक सरकार वा एक नेताप्रति सीमित छैन । यो सम्पूर्ण राजनीतिक संरचना, संस्कार र व्यवहारप्रतिको अस्वीकार हो । यही पृष्ठभूमिमा देशले नयाँ अनुहार मात्र होइन, विश्वसनीय, कार्यमुखी र परिणाममुखी वैकल्पिक राजनीतिक शक्तिको गम्भीर खोज गरिरहेको छ । यो खोज कुनै भावनात्मक लहर होइन, बरु लामो समयको असफलताबाट जन्मिएको विवश आवश्यकता हो ।

नयाँ अनुहार र नयाँ सोच

नेपालको राजनीतिमा पटक–पटक ‘नयाँ अनुहार’ प्रस्तुत गरिए । पुरानै सोच, शैली र स्वार्थ हाबी रहे । त्यसैले आज जनताले अनुहार होइन, नयाँ राजनीतिक सोच, प्राथमिकता र संस्कार खोजिरहेका छन् । यही कारण कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङ, रवि लामिछाने (राष्ट्रिय स्वतन्त्र पार्टी) र जेन-जी आन्दोलन जस्ता नयाँ धाराका नेतृत्वप्रति जन-आकर्षण तीव्र रूपमा बढ्दै गएको देखिन्छ । यो आकर्षण कुनै सुनियोजित राजनीतिक प्रचारको परिणाम होइन । न त यो परम्परागत सङ्गठन, झन्डा वा नाराबाट सृजित हो । यो आकर्षण काम, साहस, स्पष्टता र इमानदारीबाट उत्पन्न भएको जनआशा हो । कुलमान घिसिङले लोडसेडिङ अन्त्य गरेर देखाएको प्रशासकीय दृढता, बालेन साहले काठमाडौँ महानगरपालिकामा देखाएको निर्णय क्षमता र नियम पालनाको साहस, हर्क साम्पाङले धरानमा देखाएको जनसहभागितामूलक विकास अभ्यासले एउटै सन्देश दिएका छन् : राजनीति फरक तरिकाले पनि गर्न सकिन्छ ।

सङ्गठन अघि जनविश्वास

आजको वैकल्पिक राजनीतिक चेतना परम्परागत अर्थमा सङ्गठन–केन्द्रित होइन, विश्वास–केन्द्रित छ । नागरिकहरू दलको झन्डाभन्दा व्यक्तिको चरित्र, नीतिभन्दा व्यवहार र घोषणापत्रभन्दा परिणामलाई महत्व दिन थालेका छन् । यो प्रवृत्ति विशेष गरी युवा पुस्ता, सहरी मध्यम वर्ग, उद्यमी र बिदेसिएका नेपाली परिवारमा स्पष्ट देखिन्छ तर यहीँ एउटा गम्भीर यथार्थ छ । जनसमर्थन व्यापक भए पनि यो समर्थन पूर्ण रूपमा सङ्गठित र संस्थागत छैन । धेरै नागरिक परिवर्तन चाहन्छन्, मतदान गर्न तयार छन् तर अनिवार्य रूपमा कुनै एक दलको कठोर संरचनामा बाँधिन चाहँदैनन् । आजको जनमत भावना, भरोसा र अपेक्षामा आधारित छ । यही यथार्थलाई नबुझी पुरानो साङ्गठनिक ढाँचामा जबर्जस्ती अगाडि बढ्ने हो भने वैकल्पिक राजनीति स्वयम् आफ्नै सम्भावनाको हत्यारा बन्न सक्छ ।

ऐतिहासिक अवसर गुम्ने खतरा

नेपालको राजनीतिक इतिहासमा यस्ता क्षण बारम्बार आउँदैनन्, जहाँ जनताले सामूहिक रूपमा परम्परागत शक्तिप्रति अस्वीकृति जनाउँछन् । आज समाजका सबै तह युवा, श्रमिक, किसान, मध्यम वर्ग, उद्यमी, बुद्धिजीवी र प्रवासी नेपाली राज्य सञ्चालनप्रति गहिरो असन्तुष्टि व्यक्त गरिरहेका छन् । यो असन्तुष्टि केवल आलोचनामा सीमित छैन, यो परिवर्तनको तीव्र चाहनामा रूपान्तरण हुँदै छ । यस्तो अवस्थामा वैकल्पिक नेतृत्वले समयमै सही निर्णय गर्न सकेन भने यो ऊर्जा परिवर्तनमा होइन, पुनः निराशा, उदासीनता र आक्रोशमा परिणत हुने जोखिम अत्यन्त उच्च छ । इतिहासले देखाइसकेको छ, निराश जनता लामो समय मौन बस्दैनन् । त्यो मौनता कहिले राजनीतिक उदासीनतामा, कहिले अस्थिरतामा र कहिले खतरनाक प्रतिक्रियामा बदलिन सक्छ ।

आजको चुनौती केवल चुनाव जित्ने वा केही सिट सुरक्षित गर्ने मात्र होइन । वास्तविक चुनौती हो, जनआकाङ्क्षालाई साझा, संस्थागत र दिगो राजनीतिक शक्तिमा रूपान्तरण गर्ने । यो कार्य भावनात्मक भाषण वा सामाजिक सञ्जालको लोकप्रियताबाट सम्भव हुँदैन ।

यसका लागि दीर्घकालीन दृष्टि, रणनीतिक परिपक्वता र आपसी विश्वास आवश्यक छ ।

भित्री अवरोध : अहङ्कार र प्रतिस्पर्धा

वैकल्पिक राजनीतिक शक्तिको सबैभन्दा ठुलो अवरोध बाहिरी शक्ति होइन । न परम्परागत दल नै मुख्य बाधा हुन् । वास्तविक चुनौती वैकल्पिक भनिएका नेतृत्वभित्रकै अहङ्कार, प्रतिस्पर्धा र व्यक्तिगत महत्वाकाङ्क्षा हो । प्रत्येक नेतृत्व आआफ्नो स्थानमा लोकप्रिय छ, प्रभावशाली छ र आफ्नै पहिचान बनाइसकेको छ । इतिहास साक्षी छ, यदि यस्ता शक्ति साझा उद्देश्यभन्दा व्यक्तिगत पहिचानमा अल्झिए भने परिवर्तनको सम्भावना आफैँ क्षीण हुँदै जान्छ । नेतृत्वको होड परिवर्तनको आन्दोलनका लागि घातक हुन्छ ।

त्याग र समर्पणको अपरिहार्यता

राजनीतिक इतिहासले सधैँ देखाएको छ ठुला परिवर्तन त्याग र समर्पणबिना सम्भव हुँदैनन् । लोकतान्त्रिक आन्दोलनदेखि शासन परिवर्तनसम्म, सबै निर्णायक मोडमा केही व्यक्तिले आफ्नो व्यक्तिगत लाभभन्दा सामूहिक हितलाई प्राथमिकता दिएका छन् । आज कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङ र रवि लामिछाने र अन्य वैकल्पिक धाराका नेताहरूबाट जनताले यही अपेक्षा गरेका छन् । यहाँ नेतृत्व को हुने भन्ने प्रश्न गौण हो । प्रमुख प्रश्न हो साझा उद्देश्य, साझा न्यूनतम एजेन्डा र साझा यात्राप्रति प्रतिबद्धता । यस प्रक्रियामा जेनजी आन्दोलन र युवा नेतृत्वको भूमिका विशेष महìवपूर्ण छ । उनीहरूले केवल समर्थन होइन, दबाब पनि सिर्जना गर्नु पर्छ । एकताको पक्षमा, सहकार्यको पक्षमा ।

सम्भावित मोडेल : एकता कि सहकार्य

आजको आवश्यकता पूर्ण विलय नै हुनु पर्छ भन्ने छैन तर कम्तीमा न्यूनतम साझा मोर्चा अपरिहार्य छ । त्यो मोडेल विभिन्न हुन सक्छन् । साझा राजनीतिक घोषणापत्र, चुनावी तालमेल, न्यूनतम साझा नीति र सुशासन । जसले संसद् र सडकमा समन्वित भूमिका निर्वाह गर्न सजिलो हुन्छ । यदि कुलमान घिसिङ, बालेन साह र हर्क साम्पाङबिच स्पष्ट समझदारी र साझा राजनीतिक यात्राको सङ्केत आयो भने त्यसको प्रभाव राष्ट्रियस्तरमै देखिने छ । यसले परम्परागत दल र जड राजनीतिक संस्कारमाथि गहिरो चुनौती खडा गर्ने छ तर यदि सबै वैकल्पिक नेतृत्व आआफ्नै बाटोमा छुट्टाछुट्टै अगाडि बढे भने परिणाम लगभग निश्चित छ । केही सिट जितिएला, केही दलले थ्रेसहोल्ड पार गर्लान्, तर अन्ततः परम्परागत दल नै पुनः सत्ताको केन्द्रमा फर्किने सम्भावना बलियो रहन्छ । कारण स्पष्ट छ उनीहरूसँग अझै सङ्गठन, स्रोत र अभ्यासको बलियो संरचना छ ।

निराशाको पुनरावृत्ति कि नयाँ अध्याय

वैकल्पिक शक्ति विखण्डित रह्यो भने यसको मूल्य केवल चुनावी हारमा सीमित हुँदैन । यसले जनताको परिवर्तनप्रतिको विश्वासलाई गहिरो चोट पु¥याउँछ । यस्तो निराशा लोकतान्त्रिक सहभागिताबाट विमुखता, ‘सबै उस्तै हुन्’ भन्ने सोच र दीर्घकालीन राजनीतिक अस्थिरतामा रूपान्तरण हुन सक्छ, जुन देशका लागि अत्यन्त घातक हुन्छ । त्यसैले आजको निर्णय सामान्य राजनीतिक रणनीति मात्र होइन, इतिहासप्रतिको जिम्मेवारी हो । आज नेतृत्व ठुलो हुनुको अर्थ पद, कुर्सी वा हैसियत होइन । नेतृत्वको अर्थ हो–त्याग, समर्पण, दूरदृष्टि र साझा प्रतिबद्धता ।

अन्तिम अवसरको चेतावनी

आज देशले वैकल्पिक राजनीतिक शक्तिलाई अन्तिम अवसरका रूपमा हेरिरहेको छ । कुलमान घिसिङ, बालेन साह, हर्क साम्पाङ र अन्य नयाँ धाराका नेताहरूका काँधमा तीन करोड नेपालीको अपेक्षा र देशको भविष्य जोडिएको छ । यस्तो अवसर सधैँ आउँदैन । इतिहासले केही क्षण मात्र दिन्छ, जहाँ निर्णयले पुस्ताको दिशा तय गर्छ । आज त्यही क्षण हो । यसलाई संस्थागत परिवर्तनको ढोका बनाउने कि गुमेको सम्भावनाको अर्को अध्याय, यो निर्णय आजै लिनुपर्ने छ ।

इतिहास मौन छ तर हेर्दै छ । अब प्रश्न केवल यो हो–नेतृत्व इतिहास बन्ने छ कि इतिहासमा हराउने छ ? बेलैमा विचार गरियोस् ।

– राजेश बिद्रोही