नेपाल आमाको गर्भलाई धन्यवाद नदिई रहन सकिन्न उनको उर्वर कोखबाट नारायणगोपाल जस्तो सुमधुर स्वरका धनी सुपुत्रको जन्म भयो । ती होनाहार पुत्रको जन्म विसं १९९६ असोज १८ गते काठमाडौँको किलागलमा भएको थियो । निधन भने २०४७ मङ्सिर १९ गते भएको थियो । उनको पूरा नाम नारायणगोपाल गुरुवाचार्य हो । नेपाली साङ्गीतिक क्षेत्रमा स्वरसम्राट्का रूपमा चिनिने नारायणगोपाल नेपालका बहुचर्चित गायककार हुन् । अर्थात् उनी नेपालका लोकप्रिय गायक हुन् । उनको कर्णप्रिय गीतहरूले गर्दा उनलाई चर्चाको शिखरमा पु¥यायो । हाम्रोमाझ नरहे पनि उनले गाएका कालजयी गीतहरूले गर्दा अजरअमर हुन पुगेका छन्, सबैको माझ जीवन्त हुन पुगेका छन् ।
माता रामदेवी र पिता आशागोपाल गुरुवाचार्यको माइला पुत्ररत्नका रूपमा जन्मेका नारायणगोपाल सुमधुर स्वरले गर्दा नै नेपालका एक महान् हस्तीको रूपमा परिचित हुन सफल भए । आफ्नो मेहेनत र प्रतिभाले उनी अद्वितीय प्रतिभाशाली गायककारका रूपमा नेपाली साङ्गीतिक क्षेत्रमा चिरपरिचित हुन पुगे । साङ्गीतिक माहोलमा उनको जन्म भएको थियो । उनका पिता आशागोपाल उस्तादको साथै शास्त्रीय सङ्गीतका एक वाद्यवाधक पनि थिए । यसले गर्दा उनलाई गायनकला अगाडि बढाउन बाल्य कालदेखि नै प्रेरणा मिलेको थियो । ऊर्जा मिलेको थियो । उनलाई सानैदेखि गाउनमा रुचि थियो । उनका परिवारका सदस्यका अनुसार उनी खेल्दा बस्दा पनि गीत गुनगुनाई रहन्थे रे ! अर्थात् उनी सानो छँदा माटाको लुगाधुने अटललाई मादल बजाए झैँ बजाएर गीत गुनगुनाई रहन्थे रे ! गाइरहन औधी मन पराउँथे रे ! उनी गीत भनेपछि हुरुक्क हुन्थे । खेल्दा बस्दा गाइरहन्थे रे !
उनी गीत र सङ्गीतका पारखी थिए । बिहानको उदाउँदो सूर्यबाट थाहा हुन्छ कि आजको दिन कस्तो हुन्छ भनेर ! हो त्यस्तै नारायणगोपालले पनि सानैदेखि लक्षण देखाए । फलस्वरूप उनी ठुलो भएपछि महान् गायककारका रूपमा देखा परे । कर्णप्रिय एवं चर्चित गीत गाएर नारायणगोपालले नेपालीजनलाई मन्त्रमुग्ध मात्र पारेका छैनन्, नेपाली साङ्गीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान कमाउन सफल भएका छन् । उनी नेपाली गायन क्षेत्रमा आधुनिक गायकका रूपमा प्रख्यात छन् । आधुनिक गीतको सर्जकका रूपमा पनि उनी उत्तिकै प्रख्यात छन् । अर्थात् उनी आधुनिक गीतका पनि जन्मदाता हुन् ।

गोपाल योञ्जनको सङ्गीतमा ‘तिम्रो जस्तै मुटु मेरो पनि, लौ सुन म भन्छु राम कहानी’ जस्ता गीत नारायणगोपालले गाएर आधुनिक गीतको सूत्रपात गरे भने अर्को आधुनिक गीतबाट नै बढी लोकप्रियता कमाए । आधुनिक गीतबाट उनको जीवनमा परिवर्तनको लहर आयो । आधुनिक गीतबाटै उनी स्वरसम्राट्को ताजले विभूषित हुन पुगे । यसरी उनले नेपाली साङ्गीतिक क्षेत्रमा नव क्रान्ति नै ल्याए, सुगम सङ्गीतले नेपाली साङ्गीतिक क्षेत्रको श्रीवृद्धि गरे ।
मन्त्रमुग्ध स्वरले मिठा–मिठा गीत गाएर गीतमा आफ्नो छुट्टै मिठास भरे । जो कोहीले भर्न सकेका थिएनन् उनले भरे । नयाँ नयाँ भाव शैली र जीवन भोगाइका गीतहरू खोजी खोजी गाए । नेपाली साङ्गीतिक क्षेत्रको श्रीवृद्धि नै गरे । उनमा अपूर्व कला थियो । उनको गीतहरूमा छुट्टै मिठास छन् । उनले गाएका सबै गीत मुटु छुने खालका छन्, अर्थपूर्ण छन्, भाव माधुर्य छन् । उनको महरूपी स्वरमय धाराले सबैलाई मन्त्रमुग्ध पारेका छन्, सबैको मन जितेका छन्, मनमुटु भित्र बसेका छन् । उनले गाएका सबै गीत उत्कृष्ट छन्, उदाहरणीय छन् । त्यसैले उनी एक साङ्गीतिक स्रष्टाको रूपमा सुपरिचित छन् ।
नारायणगोपालका गीतहरूमा छुट्टै मिठास छ, आफ्नो छुट्टै शैली छ । उनको गलामा जादु नै थियो । जो कोही गायकमा हुन दुर्लभ छ । उनी नेपाली साङ्गीतिक क्षेत्रका अपूर्व तारा हुन् । अर्थात् थुप्रै गायककारको उदय नभएको भने होइन तर उनी जस्तो प्रतिभासम्पन्न या खुबी भएको गायकको जन्म भएको छैन । उनी ईश्वरको वरदान प्राप्त गायक थिए, जो साधारण गायकमा हुन असम्भव छ । उनले चलचित्रका र अन्य गीत गरी करिब पाँच सय जति गीत गाएका छन् । २८ वर्षको निरन्तर गायनमा उनले डेढ दर्जन चलचित्रमा गाएका छन् भने १५७ वटा गीत गाए । उनले प्रेम, वियोग र विरहका गीत गाएका छन् । उनी सर्वप्रथम कालीप्रसाद रिजालद्वारा रचित ‘मुटुमाथि ढुङ्गा राखी हाँस्नु प¥या छ’ भन्ने गीत गाएर सबैको मन जित्न सफल भएका थिए भने ‘झरेको पात झैँ भयो उजाड मेरो जिन्दगी, निभेको दीप झैँ भयो उदास मेरो जिन्दगी’ विरहका गीत गाएर सबैलाई भावुक बनाए । त्यस्तै ‘लुकु लुकु लाग्यो मलाई त्यो तिम्रो कालो केशमा’ स्वर किन्नरी तारादेवीसँग सिन्दूर फिल्ममा गीत गाएर नारायणगोपालले निकै चर्चा कमाए । लाहुरे फिल्ममा रञ्जित गजमेरको ‘वीरताको चिनु वीरको सन्तान, सहिदको रगत लाहुरेको निसानी, अब तिम्रो हातले लेख्नुछ जुगले भुलेको कहानी’ जस्ता चर्चित एवं राष्ट्रियतावादी गीत गाएर निकै प्रशंसा कमाए ।

त्यस्तै उनले चाँदनी शाहका गीतहरू पनि गाएका छन् । ‘एउटा मान्छेको मान्छेको मायाले कति फरक पर्छ जिन्दगीमा, एउटा साथीको मायाले कति फरक पर्छ जिउनुमा ।’ ‘केही मिठो बात गर, रात त्यसै ढल्की जान्छ ।’ ‘यति धेरै माया दिई मन भरी दुःख नदेऊ, जो भाग्यमा कोरिएका छन् सुःख दुःख सब स्वीकार्य छन्’, ‘मैले पुण्य मन पराए या पाप मन पराए, जे होस् मैले चुपचाप तिमीलाई मन पराए,’ आदि बहुचर्चित मिठासपूर्ण गीत गाएर स्वरसम्राट् नारायणगोपाल सबैको आँखोको तारो बन्न पुगे । आधुनिक नेपाली गीतका नायक बन्न पुगे । यी गीतहरू गाउनुअघि गायककारका रूपमा स्थापित हुन २००७ सालको क्रान्तिपछि उनले धेरै सङ्घर्ष गरे र आफ्नै सङ्गीतमा छ वटा गीत तयार गरेर गाएका थिए । रत्नशमशेरको रचनामा चार वटा एकल गीत –‘स्वर्गकी रानी, आँखाको भाका आँखैले, भो भो मलाई नछेक, मधुमासमा यो दिल’ गाएका थिए भने ‘विछोडको पीडा, ए कान्छा ठट्टैमा यो बैँश जान लाग्यो’ जस्ता दुई वटा युगल गीत गाएका थिए । यी गीतहरूबाट सर्वप्रथम उनी बिस्तारै बिस्तारै नेपाल र नेपाल बाहिरका नेपाली लोकमाझ परिचित हुन पुगे । उनले यी सबै गीत भारत गाएर रेकर्डिङ गरेका थिए ।
२० को दशकमा नेपाल आएर ‘जाग, जाग चम्क नौजवान हो,’ ‘आमा ! तिमीलाई जलभरीका औँलाहरूले चुम्न’ र कवि मविवि शाहले रचेका ‘म मरे पनि मेरो देश बाँचिरहोस्’ जस्ता देशप्रेमले ओतप्रोत गीत गाए । उनका यी गीतहरू रेडियो नेपालबाट एकपछि अर्को गरी घन्किन थाले । एक कुशल गायककारको रूपमा नेपाल र नेपाल बाहिरका युवापुस्ता माझ परिचित हुन पुगे । मन्त्रमुग्ध स्वरबाटै आफ्नो प्रशंसकसँग ख्याति कमाउन पुगे । त्यसपछि उनी आधुनिक गीततिर आकर्षित भए । उनले प्रसिद्ध सङ्गीतकार गोपाल योञ्जनको सङ्गीतमा थुप्रै आधुनिक गीत गाए । उनले आफ्नो गायन यात्रालाई निरन्तर अगाडि बढाए । आधुनिक गीतबाट उनले झनै प्रसिद्धि कमाए । गोपाल योञ्जनसँगको मित्रतापछि नारायणगोपालको जीवनमा उथलपुथल नै आयो । अर्को उथलपुथल आफूलाई औधि माया गर्ने प्रशंसिका पेमालासँगको विवाहपछि ।
विसं २०२७ मा आफ्ना प्रशंसिका पेमालासँगको विवाहपछि र गोपाल योञ्जनको मित्रतापछि नारायणगोपालको भेट कवि भूपि शेरचनसँग र गीत एवं सङ्गीतकार भीम विरागसँग हुन पुग्छ । यसपछि त नारायणगोपालले आफ्नो गीति यात्रालाई झनै उचाइमा पु¥याउन सफल भए । कवि भूपि शेरचनको ‘सानै हुरीमा, बैँशको सपना, अल्झे छ क्यारे पछ्यौरी तिम्रो चियाको बुट्टामा’ जस्ता गीतहरू नारायणगोपालको कर्णप्रिय स्वरले गाए । उनको सुमधुर स्वरले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदनमा पनि गाएका थिए । त्यसै गरी राष्ट्रकवि माधवप्रसाद घिमिरेको मालतीमङ्गले गीति नाटकमा पनि उनले गाएका थिए । नेपाली गीति–सङ्गीतमा आफ्नो जीवन समर्पित गरेका उनी भन्थे–“म गाउँछु, केवल जनताका लागि गाउँछु ।” यसबाट पनि थाहा हुन्छ कि एक सुप्रसिद्ध गाएक मात्र थिएनन्, उनी एक महान् मानवतावादी पनि थिए ।

पेमालासँग नारायणगोपालले प्रेम विवाह गरे पनि उनका सन्तान भने भएनन् । कालजयी गीतहरू नै उनका अजर–अमर सन्तान हुन्, नेपाल आमाका गौरव हुन् । उनले अध्ययनको क्षेत्रमा मानविकी शास्त्रमा स्नातकोत्तर गरेका थिए । भारतको बडोदामा शास्त्रीय सङ्गीतको अध्ययन उनले अधुरो छाडे पनि नेपाली गीति क्षेत्रमा भने सफलता कायम गरेरै छाडे । सुरुमा तबलाबादकको रूपमा साङ्गीतिक क्षेत्रमा प्रवेश गरेका नारायणगोपालले नेपाली गीति क्षेत्रमा स्वरसम्राट्को दर्जाले ख्याति कमाउन पुगे । विभिन्न पुरस्कार र सम्मानबाट उनी विभूषित हुन पुगे । नारायणगोपाल २०२३ सालमा सर्वोत्तम सङ्गीतकार र २०२४ सालमा सर्वोत्तम गायकको रूपमा रेडियो नेपालद्वारा पुरस्कृत भएका थिए । त्यस्तै २०३९ सालमा रत्न रेकर्ड पुरस्कार, २०३३ मा गोरखा दक्षिणबाहु चौथो, २०४० मा इन्द्रराज्यलक्ष्मी प्रज्ञा पुरस्कार, २०४३ मा लायन्स अवार्ड, २०४४ मा छिन्नलता पुरस्कार, २०४५ मा जगदम्बा श्री पुरस्कार, २०४७ मा उर्वशी रङ पुरस्कार, २०४८ मा त्रिशक्तिपट्ट र मरणोपरान्त पनि विभिन्न पुरस्कार तथा सम्मानबाट नारायणगोपाल सम्मानित हुन पुगेका थिए ।
बागीनाको प्रकाशन तथा संस्कृति संस्थाका महाप्रबन्धक, सञ्चार मन्त्रालयका सल्लाहकारसमेत हुन पुगेका नारायणगोपालले गीत गाउनुका साथै गीति नाटकको कथा ‘कान्छी मस्याङ’ पनि लेखेका थिए । आफ्नै सङ्गीतमा मुनामदन र मालतीमङ्गले गीति नाटकमा पनि गाएका थिए । यसबाट थाहा हुन्छ कि नारायणगोपाल कुशल गायककार मात्र नभई एक प्रखर खुबी भएका रचनाकार र सङ्गीतकार पनि थिए । उनी आज हाम्रो माझ नरहे पनि उनले गाएका कालजयी गीतहरूले गर्दा सदा अजर अमर हुन पुगेका छन् । नेपालीको मनमुटुभित्र बस्न पुगेका छन् । नेपाली साहित्यक फाँटमा ध्रुव तारा झैँ चम्किन पुगेका छन् ।
– सरिता पोखरेल वाग्ले
What if you could work from Anywhere?
Explore More with something that can change your Life!








