02/16/2026, 10:16:16
सोमबार, फागुन ०४, २०८२

तीन नयाँ चलचित्र प्रदर्शनमा


काठमाडौँ, फागुन ४ गते । हलहरूमा यो साता तीन नयाँ चलचित्र प्रदर्शनमा आएका छन् । ‘श्री बुकुरो : द होम कलिङ’, ‘बिगुल’ र ‘शिवांश : च्याप्टर १’ प्रदर्शनमा आएका हुन् । ‘श्री बुकुरो : द होम कलिङ’ लाई सुदीपभूपाल सिंह, ‘बिगुल’ लाई रमेश कोइराला र ‘शिवांश : च्याप्टर १’ लाई सन्तोषकुमार आत्रेयले निर्देशन गरेका छन् । यी चलचित्र महाशिवरात्रिको छेको पारेर प्रदर्शनमा आएका हुन् ।

सुदीपभूपाल सिंह निर्देशित ‘श्री बुकुरो : द होम कलिङ’ पारिवारिक कथामा आधारित चलचित्र हो । पारिवारिक मूल्यमान्यता, घर फर्कने चाहना र मानवीय सम्बन्धका भावनात्मक पक्षहरूलाई चलचित्रको कथामा देखाउन खोजिएको छ । निर्देशक सिंह स्वयम्को लेखन रहेको चलचित्रलाई रुबी सेन सिंहले निर्माण गर्नुभएको हो । चलचित्रमा आशीर्वाद क्षेत्री, लक्ष्मी गिरी, निकिता आचार्य, प्रतीकराज आचार्य, रोशनी कार्की, राजन ईशान, लय सङ्ग्रौला, मोहन निरौला लगायतको अभिनय रहेको छ । चलचित्रको पटकथा र संवाद प्रदीप भारद्वाज र मौनता श्रेष्ठले लेख्नुभएको हो । चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको चलचित्रलाई सञ्जय लामा र राजेश श्रेष्ठले छायाङ्कन गर्नुभएको छ ।

रमेश कोइराला निर्देशित ‘बिगुल’ मा देशको वर्तमान राजनीतिक अवस्थाको कथालाई उजागर गर्न खोजिएको छ । विशेष गरी ‘जेन-जी’ को आन्दोलन र भ्रष्टाचारविरुद्धको आवाजलाई चलचित्रले मुख्य विषय बनाएको छ । दिनेश कोइराला निर्माता रहनुभएको चलचित्रमा बेनिशा हमाल, नरेन खड्का, नीर शाह, रमेश बुढाथोकी, विनोद न्यौपाने, शिशिर बाङदेल, हेमन्त बुढाथोकी, गीता अधिकारी, रवीन्द्र खड्का लगायतको अभिनय रहेको छ । चलचित्रलाई शिव ढकालले छायाङ्कन तथा तारा थापा किम्भेले सम्पादन गर्नुभएको हो ।

शिवरात्रिको छेकोमा प्रदर्शन भएको अर्को चलचित्र हो ‘शिवांश’ । भगवान् शिवको पौराणिक कथावस्तुमा आधारित शिवको भेषमा बसेर गरिने आपराधिक क्रियाकलाप चलचित्रको कथामा समेटिएको छ । प्रवीण खतिवडा, तेज गिरी, विमला लिम्बू, रुसा न्यौपाने, विकास जोशी, प्रदीपकुमार चौधरी, सबिर चुरौटे, उदयकुमार सुब्बा, टीका निरौला लगायत कलाकारको चलचित्रमा अभिनय रहेको छ । चलचित्रको कथा अन्जान केसीले लेख्नुभएको हो भने स्क्रिन प्ले बारत लिम्बूको रहेको छ । केसी स्वयम् निर्माता रहनुभएको चलचित्रको सहनिर्मातामा शोभा भण्डारी र अनिश केसी बोगटी हुनुहुन्छ । चलचित्रका कार्यकारी निर्मातामा शम्भु थापा रहनुभएको छ भने शरद महतोको डिओपी बनिश शाहको चलचित्रमा सम्पादन रहेको छ ।