02/16/2026, 10:30:43
सोमबार, फागुन ०४, २०८२
रास्वपाको नागरिक करार

रास्वपाको ‘नागरिक करार’ एजेन्डा, घोषणापत्रको सट्टा वाचापत्र


काठमाडौँ, फाल्गुन ४ : रास्वपाले आफ्नो एजेन्डालाई ‘नागरिक करार’ का रूपमा सार्वजनिक गरेको छ । रास्वपा सभापति रवि लामिछानेले आइतबार सामाजिक सञ्जालमार्फत करारपत्र सार्वजनिक गरेका हुन् ।

पार्टी घोषणापत्र र प्रतिबद्धतापत्रको सट्टामा रास्वपाले वाचापत्र ल्याउन लागेको छ, त्यसैको सारसंक्षेप ‘रास्वपाको नागरिक करार’ हो ।

वरिष्ठ नेता बालेन्द्र शाहलाई भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको रास्वपाले उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा ‘वाचापत्र’ तयार पारिरहेको छ । वाचापत्र लेखनमा नेताहरू सोबिता गौतम, महेश्वर घिमिरे, क्रान्तिशिखा धिताल, अरनिको पाँडे, राम गुरुङ र नन्दन यादव लगायत संलग्न छन् । रास्वपाले वाचापत्र ७ फागुनमा कर्णालीबाट सार्वजनिक गर्ने तय भएको छ ।

रास्वपा उपसभापति वाग्लेले वाचापत्रको छोटो रूपमा करारनामा तयार पारिएको बताए । ‘हामीले यस पटक चुनावको घोषणापत्र नभनी वाचापत्र भनेका छौं । नागरिकसँगको सामाजिक करार पनि सार्वजनिक गरेका छौं, हामीलाई मत दिनुस् यति काम गर्छौं भनेर करार गरेका हौं,’  उनले भने,  ‘हाम्रो वाचापत्र यसै करारको विस्तृतीकरण हो । हामी पार्टी, मान्छे, नेतृत्व फरक भएकाले नयाँ ट्रेन्ड सेट गर्न नागरिक करारपत्र ल्याएका हौं ।

रास्वपाले निर्वाचनमा जितेर सरकार गठन गरेमा पूरा गर्न सकिने कार्यक्रम राखेर नै करारपत्र ल्याएको दाबी गरेको छ । ‘काबु बाहिरको परिस्थितिबाहेक हामी पूरा गर्न नसकिने वाचा बाँड्दैनौं, बरु तपाईंहरूको राजनीतिक विश्वासको ऋणको करार गर्छौं,’ करारपत्रमा उल्लेख छ ।

रास्वपाको करारपत्रमा पाँच प्राथमिकताका बुँदा लेखिएको छ– सदाचार र असल शासन, मध्यम वर्गीय विस्तार, काम, कनेक्टिभिटी र प्रवास । यी पाँच विषयलाई प्राथमिकतामा राखेर पार्टीले वाचापत्रमा विषयवस्तु उल्लेख गर्ने वाग्लेले बताए ।

राज्यसंरचनामा दलीय दोहन भएको र भ्रष्टाचार व्याप्त भएकाले रास्वपाले भ्रष्टाचारविरोधी महाअभियान चलाउने करारपत्रको लक्ष्यमा उल्लेख छ । रास्वपाले मध्यम वर्गका लागि औसत वार्षिक प्रतिव्यक्ति आय तीन हजार डलर नघाउन कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर (प्रचलित मूल्यमा) बनाउने लक्ष्य लिएको छ ।

शतप्रतिशत बिमा गरिएको गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने, सार्वजनिक शिक्षाको आमूल सुधार गर्ने, जन्मदेखि मृत्युसम्म आवश्यकतामा आधारित ‘एकीकृत सामाजिक सुरक्षा’ को ग्यारेन्टी गर्ने, आधुनिक बैंकिङसहित वित्तीय सेवाहरूमा सबै नागरिकको पहुँचलगायत सख्त नियमनभित्रको सहकारी र लघु वित्त, मिटरब्याज शोषणको अन्त्य गर्ने रास्वपाको चुनावी घोषणा छ ।

रास्वपाले कामको ‘लक्ष्य’मा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने घोषणा गरेको छ । प्रतिस्पर्धी अर्थतन्त्रका लागि गुणस्तरीय सडक र हवाई सञ्जाल, भरोसायोग्य ऊर्जा ग्रिड र सबै बस्तीमा तीव्र गतिको सुलभ इन्टरनेट बिस्तार गरेर कनेक्टिभिटी बढाउने लक्ष्य रास्वपाको करारपत्रमा उल्लेख छ । रास्वपाले आगामी पाँच वर्षमा विद्युत् जडित क्षमता १५ हजार मेगावाट पुर्‍याउने भनेको छ भने ३० हजार किलोमिटर राष्ट्रिय राजमार्ग निर्माण गर्ने वाचा गरेको छ ।

रास्वपाले विदेशमा बस्ने नेपालीलाई अनलाइनमार्फत मतदानको अधिकार दिने करारपत्रमा लेखेको छ । एक पटक वंशजको नागरिकता लिएमा त्यसलाई निरन्तरता दिइने जनाएको छ । विदेशमा रहेका नेपालीलाई नेपालमा लगानी गर्न विभिन्न कार्यक्रम ल्याउनुका साथै मर्यादित वैदेशिक रोजगारीका विषयमा पनि रास्वपाले करारपत्रमा उल्लेख गरेको छ ।

तपाईंहरूले हामीलाई एकल बहुमत दिलाएको अवस्थामा पनि करारबमोजिमका सर्तहरू डेलिभरीसहित ५ वर्षभित्र बुझाउन नसकी तपाईं नागरिकलाई मर्का पर्न गएमा, संविधान, मौजुदा कानुन र सामाजिक करार अनुसार हाम्रो ‘राजनीतिक नैतिकता र पद’ बाट अर्को पटकको निर्वाचनमा सजाय दिई असुलउपर गरी लिनुहोला,’  करारपत्रमा भनिएको छ,  ‘यसमा हाम्रो पार्टीको सम्पूर्ण सदस्यहरूको मन्जुरी छ । यो करारमा उल्लेख गरेको व्यहोरा साँचो हो, झूटा ठहरे सहुँला बुझाउँला ।

करारपत्रमार्फत पार्टीले आफ्ना धारणा मतदातामा सजिलोसँग बुझाउन सक्ने उपसभापति वाग्लेको भनाइ छ । ‘रास्वपाका लगभग ३ लाख सदस्यले पनि सजिलोसँग बुझ्ने र मतदातालाई बुझाउन सक्ने, उम्मेदवारले निर्वाचन अभियानमा उपयोग गर्न सक्ने मूल प्राथमिकताका विषय राखेर यो करारपत्र ल्याइएको हो,’ वाग्लेले भने ।