काठमाडौँ, माघ २५ गते । नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी देशव्यापी रूपमा ‘फागुन २१ का लागि मेरो २१ दिन‘ विशेष अभियान सञ्चालन गर्ने भएको छ ।
आइतबार सभापति गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टी केन्द्रीय कार्यसम्पादन समितिको भर्चुअल बैठकले निर्वाचन कमान्डलाई चुस्त बनाउन यस्तो रणनीतिक निर्णय गरेको हो ।
बैठकले महामन्त्री गुरुराज घिमिरेद्वारा प्रस्तुत विभिन्न प्रस्तावहरूमाथि छलफल गर्दै निर्वाचन परिचालनका लागि विशेष निर्देशन समेत जारी गरेको छ ।
‘जसको जिम्मेवारी जहाँ, उहीँ खट्ने’ नीति
कांग्रेसले ‘नेपाली कांग्रेस निर्वाचन परिचालन निर्देशिका–२०८२’ को बुँदा नं. २१ मा नयाँ व्यवस्था गर्दै फागुन १ देखि २१ गतेसम्मका लागि ‘जसको पदीय जिम्मेवारी जहाँ, उसले खट्ने त्यहाँ‘ नीति अघि सारेको छ । यस अभियान अन्तर्गत पार्टीका सबै तहका नेता तथा कार्यकर्ताहरू अनिवार्य रूपमा निर्वाचन मैदानमा खटिनुपर्ने छ ।
अभियानका प्रमुख विषेशताहरू:
कार्यक्षेत्रमा केन्द्रित हुनुपर्ने: केन्द्र, प्रदेश, जिल्ला र क्षेत्रले खटाएका प्रतिनिधिहरूले तोकिएको जिम्मेवारी पूरा गरी पुनः आफ्नै जिल्ला, क्षेत्र, पालिका र वडामा केन्द्रित हुनुपर्ने छ ।
स्व-स्थान परिचालन: विशेष जिम्मेवारीमा रहेका बाहेक अन्य सबै तहका पदाधिकारी तथा सदस्यहरू आ-आफ्नो थातथलो (क्षेत्र र वडा) मा क्रियाशील रहनुपर्ने छ ।
वडा जिताउने सङ्कल्प: ‘हाम्रो वडा हामी जिताउँछौँ‘ भन्ने मूल मन्त्रका साथ क्रियाशील सदस्यहरूलाई आफ्नै वडामा केन्द्रित हुन निर्देशन दिइएको छ ।
दुई निर्देशिका पारित र अनुशासन समिति गठन
बैठकले उपसभापति विश्वप्रकाश शर्माद्वारा प्रस्तुत ‘नेपाली कांग्रेस प्रतिनिधि सभा निर्वाचन परिचालन निर्देशिका–२०८२’ र ‘नेपाली कांग्रेस सार्वजनिक कार्यक्रम व्यवस्थापन निर्देशिका–२०८२‘ लाई परिमार्जनसहित पारित गरेको छ ।
त्यस्तै, पार्टीको विधान बमोजिम निर्वाचनको समयमा आन्तरिक अनुशासन कायम राख्न केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा तीन सदस्यीय केन्द्रीय अनुशासन समिति गठन गरिएको छ । समितिको सदस्यहरूमा केन्द्रीय सदस्य धना खतिवडा र सुवासकुमार पोखरेल रहनुभएको छ ।
नेताहरूको धारणा
बैठकमा उपसभापति पुष्पा भुसाल, सहमहामन्त्रीहरू फरमूल्लाह मन्सुर, डा. डिला सङ्ग्रौला, मुक्ताकुमारी यादव, उदयशम्शेर राणा, योगेन्द्र चौधरी र प्रवक्ता देवराज चालिसेले चुनावी रणनीति र समसामयिक राजनीतिक विषयमा आ-आफ्नो धारणा राख्नुभएको थियो ।
पार्टीका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाहरूलाई समेत यो २१ दिने अभियानमा सक्रियतापूर्वक सहभागी हुन का.वा. मुख्य सचिव कृष्णप्रसाद दुलालमार्फत अपिल गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













