02/08/2026, 20:28:16
आइतबार, माघ २५, २०८२

पाेखरा विमानस्थल अनियमितता प्रकरण : तत्कालीन प्रबन्धक फुयाललाई साधारण तारेखमा छाड्न आदेश


काठमाडौँ, माघ २५ : पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल  निर्माणमा भएको अनियमितता प्रकरणमा भ्रष्टाचार मुद्दा दायर भएका नेपाल नागरिक उड्‍डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रुद्रप्रसाद फुयाललाई साधारण तारेखमा छाड्न विशेष अदालतले आदेश दिएको छ ।

न्यायाधीशहरु नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले प्रबन्ध निर्देशक फुयाललाई साधारण तारेखमा राख्ने आदेश जारी गरेको हो । विशेषमा उनी आजै हाजिर भएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता प्रकरणमा ५ पूर्वमन्त्री र १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । आयोगले ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २ सय ९७ रुपैयाँ बिगो कायम गरी विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अख्तियारले पूर्वमन्त्रीहरू पोस्टबहादुर बोगटी (दिवंगत), रामशरण महत, दीपक अमात्य, रामकुमार श्रेष्ठ र भीम आचार्य सहितलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।

विमानस्थल चीनको ऋण सहयोगमा बनाइएको राष्ट्रिय गौरवको आयोजना हो ।