02/02/2026, 05:58:15
सोमबार, माघ १९, २०८२

“म खलनायक बनेर इतिहासका पानामा हराउन चाहन्नँ”


काठमाडौँ, माघ १८ : नेकपा संयोजक पुष्पकमल दाहालले सत्ताको भागबण्डामा सहभागी नहुने बताएका छन् । आइतबार भिडियो सन्देश जारी गर्दै दाहालले आफू अरु पुराना नेताहरूजस्तो नभएको दाबी गरेका हुन् ।

आजको यो घडी मेरा लागि केवल सत्ताको कुरा होइन। यो त यो देशको भविष्य र विशेष गरी मेरा युवा साथीहरू जेन-जीका छोराछोरीहरूको सपनाको कुरा हो। धेरैलाई लाग्न सक्छ म र म जस्ता पुराना नेताहरु एउटै हुन्। तर म आज यो सार्वजनिक मञचबाट प्रस्ट भन्न चाहन्छु। म ती पुराना नेताहरूको भीडमा छैन। म त्यो सत्ताको भागबण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्न जसले देशलाई बन्धक बनाएर राखेको छ,’ प्रचण्डले भनेका छन् ।

प्रचण्डले परिवारका सदस्य मात्र नभई हजारौँ सहयोद्धा र सहयात्रीलाई पनि गुमाएको उल्लेख गरेका छन् । व्यक्तिगत त्याग र संघर्षको भावना आफ्नो खुला किताबजस्तै भएको पनि उनको भनाइ छ । सन्तान, जीवनसंगिनी र सहयोद्धाहरू गुमाएपछि आफूलाई अब सत्ताको लोभ नभएको प्रचण्डको भनाइ छ । ‘म त्यो पिता हुँ जसले आफ्नै आँखाअगाडि आफ्नो जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनु पर्‍यो । म त्यो श्रीमान् हुँ जसको जीवन संगिनीले बीच बाटोमै साथ छोडेर गइन्,’ उनले भने ।

परिवार र सहयात्रीहरूको बलिदान खेर जान नदिने पनि उनले उल्लेख गरेका छन् । अहिले युवाहरूको मागजस्तै भ्रष्टाचारको अन्त्य पारदर्शिता र एउटा बलियो सरकार आफूले जनयुद्धका दिनदेखि नै उठाउँदै आएकै माग र एजेन्डा भएको पनि प्रचण्डको भनाइ छ । प्रचण्डले अगाडि भनेका छन्, ‘मैले लामो समयदखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्दछ। यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो त्यो हामी सबैले देखेका छौँ भोगेका छौँ। त्यसैले म भन्छु मेरो माग र तपाईहरुको माग एउटै हो ।

प्रचण्डले सम्बोधनका क्रममा हलिउड फिल्म ‘द डार्क नाइट‘ (२००८) को हार्भे डेन्ट नामक पात्रको संवादसमेत उल्लेख गरेका छन् । ‘म तपाईंहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ । हलिउडमा एउटा चर्चित संवाद छ या त तिमी नायकका रूपमा मर या त आफूलाई खलनायक बनेको हेर्न जीवित रह,’  क्रिस्टोफर नोलन निर्देशित फिल्मको संवाद उल्लेख गर्दै दाहालले भने ।

प्रचण्डले आफू खलनायकका रूपमा बिदा हुन नचाहेको उल्लेख गर्दै भनेका छन्, ‘यदि म धेरैअघि बिदा भएको भए सायद देशले मलाई नायकका रूपमा मात्र सम्झिन्थ्यो होला तर म खलनायक बनेर इतिहासको पानामा हराउनन चाहन्नँ । म यो देशलाई सही दिशामा नपुर्‍याएसम्म विश्राम लिने छैन। तपाईंहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ यो तपाईंहरूको स्वतन्त्रता र अधिकारको कुरा हो। तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ जब तपाईंहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नु हुनेछ ।

आफू नयाँ विचारहरूका लागि सधैं खुल्ला रहेको पनि प्रचण्डले बताएका छन् । ‘म नयाँ पुस्तालाई स्वागत गर्दछु र नयाँपनलाई आत्मसात गर्न तयार छौ। तर एउटा कुरा याद राख्नुस् हरेक चम्किलो चिज हिरा हुँदैन। आजको यो डिजिटल युगमा सामाजिक संजालका भ्रमहरूले तपाईंहरूलाई बहकाउन सक्छन्। कसैले तपाईंहरूलाई सानो महसुस गराउन नदिनुस्,’ उनले भनेका छन् । प्रचण्डले आम नागरिकलाई स्वतन्त्र चिन्तनका लागि अपिल गरेका छन् ।

प्रश्न सोध्न नछोड्नुस्। म त्यसको जवाफ दिन तयार छु। मलाई अझ बढी दबाब दिनुस् म त्यसको सामना गर्न तयार छु । किनकि मलाई थाहा छ। मेरो शक्तिको स्रोत तपाईँहरु नै हो,’  प्रचण्डले भनेका छन् ।