भारदह (सप्तरी), माघ १८ गते । जनता समाजवादी पार्टी (जसपा) नेपालका राष्ट्रिय अध्यक्ष एवम् प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर–३ का उम्मेदवार उपेन्द्र यादवले मधेश जनविद्रोहकै कारण मुलुकमा बसोबास गर्ने पछाडि पारिएका जातजाति तथा समुदायका अधिकार सुनिश्चित भएको बताउनुभएको छ ।
सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिकामा शनिबार आयोजित चुनावी छलफल तथा भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश आन्दोलनले मधेशी, महिला, दलित, आदिवासी, जनजाति, थारु, मुस्लिम, पिछडावर्ग, अल्पसंख्यक लगायत विभेदमा पारिएका समुदायका लागि आरक्षणको व्यवस्था सुनिश्चित गरेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “यदि मधेश आन्दोलन भएको नभए शोषित, उत्पीडित जाति तथा समुदायका लागि आरक्षण सुनिश्चित हुने अवस्था नै रहने थिएन ।” तत्कालीन मधेशी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी नेपालले मधेशका सपूतहरूले दिएको बलिदानीका कारण अधिकार र अवसर सुनिश्चित गराउन सफल भएको बताउँदै उहाँले अझै बाँकी रहेका अधिकारका लागि निरन्तर सङ्घर्ष आवश्यक रहेको धारणा राख्नुभयो ।
अधिकार, पहिचान, स्वाभिमान र प्रतिनिधित्वका लागि सङ्घर्ष गर्ने पार्टी जसपा नेपाल नै भएको उल्लेख गर्दै उहाँले पार्टीलाई बलियो बनाउन सकेमात्र शोषित, उत्पीडित वर्ग तथा पछाडि पारिएका समुदायका अधिकार पूर्ण रूपमा सुनिश्चित हुने बताउनुभयो ।

जनताको बलिदानीबाट प्राप्त उपलब्धिमाथि प्रहार भइरहेको भन्दै अध्यक्ष यादवले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई स्थायित्व प्रदान गर्दै सबल बनाउन आम जनता सजग रहनुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले भन्नुभयो, “जसपा नेपाल मजबुत भएमा मात्र सङ्घीय लोकतान्त्रिक गणतन्त्र मजबुत हुन्छ र देश विकास तथा समृद्धिको बाटोमा अगाडि बढ्छ ।”
कार्यक्रममा जसपा नेपालकी नेता तथा पूर्वमन्त्री रेणु कुमारी यादव, केन्द्रीय सचिव एवम् पूर्व अर्थमन्त्री शैलेन्द्र प्रसाद साह, समानुपातिक उम्मेदवारहरू चुल्हाइ मण्डल, मानती सदा, स्वस्तिका चौधरी लगायतले आ–आफ्ना धारणा व्यक्त गर्नुभएको थियो ।
– सुधा देव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












