काठमाडौँ, माघ १८ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले बदलिएको कांग्रेसका लागि सत्ताभन्दा पार्टीको सिद्धान्त र आदर्श प्राथमिकतामा रहेको बताउनुभएको छ ।
नेपाली कांग्रेस ओखलढुंगा–काठमाडौँ सम्पर्क समितिद्वारा आयोजित ‘निर्वाचन केन्द्रित भेटघाट कार्यक्रम’ लाई सम्बोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

सभापति थापाले पार्टी स्थापनाका मूल्य–मान्यता र आदर्शबाट विचलित नहुने संकल्प गर्दै भन्नुभयो, ‘‘सत्ताभन्दा ठूलो सिद्धान्त हुन्छ । गाह्रो होला, बरु भुइँमा बस्छौँ तर बदलिएको कांग्रेसले सिद्धान्तविपरीत गएर सरकारमा सहभागी हुने सम्झौता गर्ने छैन ।’’
उहाँले काँग्रेसमा आएको यो बदलाव केवल स्वरूपमा नभई सोच र कार्यशैलीमा आएको उल्लेख गर्नुभयो । परिस्थितिका कारण सोच बदलिएको र सोच बदलिएपछि काम गर्ने शैली स्वतः परिवर्तन हुने उहाँको तर्क थियो ।
सभापति थापाले भन्नुभयो, ‘‘हाम्रो सोच, संकल्प र शैली नयाँ छ, यो कसैको लहडमा जन्मिएको होइन, बरु पुरानै काँग्रेसलाई परिष्कृत गरेर ल्याइएको नयाँ स्वरूप हो, सभापति थापाले थप्नुभयो, अब हामी नागरिकले देश बदल्न गरेका आह्वान र मुद्दाहरूलाई प्रमुख प्राथमिकताका साथ बोक्छौँ ।’’ ओखलढुंगालाई सहिदहरूको जिल्ला र काँग्रेसको किल्लाको रूपमा चित्रण गर्दै उहाँले आगामी निर्वाचनमा उच्च मनोबलका साथ विजय हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा पूर्व सांसद रामहरि खतिवडाले ओखलढुंगा काँग्रेसभित्र कुनै पनि मतभेद नरहेको र सबै मिलेर उम्मेदवार जिताउन लाग्ने बताउनुभयो ।
कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीप सुनुवार र ओखलढुंगा काँग्रेसका सभापति तेजेन्द्र खनालले निर्वाचनका लागि विभिन्न समिति गठन गरी काम अगाडि बढाइसकिएको जानकारी दिँदै एकताको सन्देश प्रवाह गर्नुभयो ।
काँग्रेसका उम्मेदवार कुमार लुइटेलले अग्रज नेताहरूले देखाएको बाटोमा हिँडेर जिल्लाको समग्र विकास र नीति निर्माणमा महत्वपूर्ण योगदान दिने अठोट व्यक्त गर्नुभयो ।

त्यस्तै, भेटघाट कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँ, पूर्व सांसद चन्द्रकान्त दाहाल, नेता बालकृष्ण दाहाल, समानुपातिक उम्मेदवारहरू खिलनाथ दाहाल, गोमा केसी, सविता राई लगायतले काँग्रेसको विजय सुनिश्चित गर्न सबै सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महिला संघकी अध्यक्ष संगीता तामाङ, तरुण दलका अध्यक्ष प्रविण हाङ र नेविसंघका अध्यक्ष रोशन महतरा र समितिका अध्यक्ष खिला लुइटेल लगायतका भ्रातृ संगठनका प्रतिनिधिहरूले पनि आफ्नो मन्तव्य राख्नु भएको थियो ।
समितिका अध्यक्ष खिला लुइटेलले मन्तव्य राख्दै निर्वाचनमा पार्टीलाई विजयी गराउन सम्पर्क समितिले खेल्नुपर्ने भूमिका र तयारीका बारेमा प्रष्ट पार्नुभयो । उहाँले जिल्लाबाट काठमाडौँ आएर बसेका सबै नेता–कार्यकर्ताहरूलाई गोलबन्द गर्दै चुनावी अभियानलाई सशक्त बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











