राजा महेन्द्रले विसं २०१७ पुस १ गते जननिर्वाचित सरकार अपदस्थ गरेसँगै सत्तासीन कांग्रेसका प्रमुख नेताहरू पक्राउ गरिए । जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति बिपी कोइराला, सभामुख कृष्णप्रसाद भट्टराई, नेता गणेशमान सिंहलगायतका नेतालाई नजरबन्दमा राखियो । नेता सुवर्णशमशेर राणा भारतमा रहेकाले पक्राउ पर्नबाट जोगिए । विसं २०१७ माघ १२ र १३ गते भारतको पटनामा भएको नेपाली कांग्रेसको सम्मेलनले सुवर्णशमशेर राणालाई कार्यकारी सभापति घोषणा गर्यो । त्यो सम्मेलनले राजाले अपदस्थ गरेको प्रजातन्त्र पुनस्र्थापनाका लागि सशस्त्र सङ्घर्ष गर्ने निर्णय गरेको हेमराज अधिकारी शास्त्रीद्वारा लिखित ‘आजको नेपाल’ कृतिमा उल्लेख छ ।
आजको नेपाल कृतिका अनुसार कांग्रेसका कार्यकारी सभापति राणाले सम्मेलनलाई सम्बोधन गर्दै भन्नुभएको थियो, “नेपालमा राजनीतिक नेताहरू बन्दी छन् । कोही पनि आफ्नो विचार व्यक्त गर्न सक्दैनन् । सभा सम्मेलनमा रोक लगाइएको छ । आज त्यस्तै फेरि सङ्घर्ष गर्नुपर्ने अवस्था आइपरेको छ, जस्तो सङ्घर्ष हामीहरूले तानाशाही उन्मूलनका निमित्त गर्नु परेको थियो ।” सोही निर्णयको जगमा नेपाली कांग्रेसले दोस्रो पटक सशस्त्र सङ्घर्षको थालनी गर्यो ।
चितवन विद्रोह
विसं २०१८ को कात्तिक २६ गतेबाट सशस्त्र सङ्घर्ष गर्ने भनिए पनि चितवनमा माघ २६ गते कारबाही थालिएको थियो । जहानियाँ राणा शासनविरुद्धको २००७ सालको सशस्त्र सङ्घर्ष कात्तिक २६ गते सुरु गरिएकाले सोही दिन पारेर २०१८ सालको सङ्घर्ष थालिएको पाइन्छ । कांग्रेसले भारतको नरकटियागन्जमा क्याम्प खडा गरेर सशस्त्र विद्रोहको तयारी गरेको थियो । चितवनसहित तनहुँ, धादिङ नुवाकोट, लमजुङलगायत जिल्लामा सशस्त्र कारबाही गर्ने योजनासहित नरकटियागन्ज क्याम्पको नेतृत्व बखानसिंह गुरुङले गरेका थिए ।
ऐतिहासिक उपन्यास बखानमा कांग्रेसको सङ्घर्ष र चितवन विद्रोहका घटनालाई चर्चा गरिएको छ । सो आख्यान अनुसार चितवन विद्रोहका लागि नरकटियागन्जबाट चार समूह परिचालन गरिएको थियो । अघिल्लो दुई राजनीतिक समूह थियो, जसले विद्रोहको वातावरण बनायो । पछिल्ला दुई समूहमध्ये तेस्रो समूह लडाकुकै थियो । चौथो समूह चाहिँ तेस्रो समूहकै सहयोगी समूह थियो ।
माघ १० गते महेश्वरलाल श्रेष्ठको नेतृत्वमा (पहिलो समूह) नारायणप्रसाद जोशी, नायब चन्द्रबहादुर शाही, बुद्धिसागर ढकाल चितवन भित्रिए । यो समूहले कांग्रेस नेता कार्यकर्ता भेटी विद्रोहमा सरिक हुन तयारी गरेको थियो । लालध्वज गुरुङको नेतृत्वको समूह (दोस्रो समूह) ले स्थानीय प्रशासनसँग समन्वय गरी सहज तरिकाले भरतपुर कब्जा गर्ने रणनीति बनाएको थियो । इतिहासकार प्राडा ईश्वरी लौडारीका अनुसार त्यो बेला चितवन थानाका प्रमुख थानेदार भरत गुरुङ थिए । उनी लालध्वज गुरुङका साला नाताका थिए ।
विसं २००७ को सङ्घर्षका मुक्ति सेना भरत गुरुङ रक्षा दलहुँदै समायोजनबाट नेपाल प्रहरीमा सेवारत थिए । त्यो बेला उनी प्रहरी अधिकृत थिए । उनलाई भरतपुर थानासँगै राप्ती दुन परियोजनाको कार्यालय हेर्ने जिम्मेवारी पनि थियो । त्यसैले स्थानीय प्रशासनसँग समन्वय गर्ने जिम्मेवारी लालध्वजलाई दिइएको पनि हुन सक्छ । सोही कारण पनि सङ्घर्षका क्रममा कांग्रेस लडाकुले चितवन कब्जा सजिलै गरेको र लालध्वजको समन्वयकारी भूमिका प्रभावकारी देखिएको प्राडा लौडारी बताउनुहुन्छ । लालध्वजले गोप्य रूपमा भेटेर चितवन कब्जा गर्ने योजना भरतलाई सुनाएका थिए । त्यसमा आफ्नो सहयोग रहने प्रतिबद्धता भरतले दिएको बताइन्छ । लालध्वजको समूह माघ १६ गते रामनगर, ठोरी, माडी, वसन्तपुरहुँदै भरतपुर प्रवेश गरेको थियो ।
तेस्रो टोली जनमुक्ति सेनाको थियो । जसको नेतृत्व पूर्वसेनाका मेजर मेहरध्वज अधिकारीले गरेका थिए । झन्डै ४० जनाको समूह रहेको यो टोलीले भरतपुर प्रवेश गर्दै गर्दा माघ २४ गते बघौडा चौकीमा पहिलो आक्रमण गरी कब्जामा लिएको थियो । यो घटनामा जनमुक्ति सेनाले नौ थान थ्री नट थ्री बन्दुक कब्जामा लिएको प्राडा लौडारीको भनाइ छ ।
उहाँका अनुसार चौकी कब्जामा लिएर उत्साहित भएको जनमुक्ति सेनाको टोली माघ २५ गते साँझ ७ बजे गौरीगन्ज पुग्यो । नारायणप्रसाद जोशीको घरमा साँझको खाना खाई राति नै भरतपुर कब्जा गर्ने योजनासाथ टोली अघि बढ्यो । चौथो समूहको नेतृत्व जगतप्रकाशजङ्ग शाहले गरेका थिए । हरिप्रसाद गुरुङसहित २६ जनाको सो टोली गोवद्र्धनियाको बाटो हुँदै सोमेश्वरगढी, माडी वनकट्टा, धुव्रघाटको बाटो भएर माघ २६ गते दिव्यनगर आइपुगेको थियो ।
कांग्रेसको विसं २०१८ को सङ्घर्षलाई नजिकबाट अध्ययन गर्नुभएका प्राडा लौडारीका अनुसार बाटोमा यो समूहले धुव्रघाटको प्रहरी थाना आक्रमण गरी दुई नाल बन्दुक, राइफल र गोलीगट्ठा कब्जामा लिएको थियो । दिव्यनगर आइपुगेको टोली हरिप्रसाद गुरुङको घरमा खाना खाएर केही समय आराम गरी भरतपुर प्रस्थान ग¥यो । यो टोली तेस्रो समूहको ‘ब्याकफोर्स’ का रूपमा थियो । यसले भरतपुर आक्रमण सफल भए चितवनबाटै कास्की जाने तयारी पनि गरेको थियो ।

जोतियो हवाईमैदान
यसरी आएको जनमुक्ति सेनाले उज्यालो नहुँदै भरतपुरको हवाईमैदान जोते । टङ्कप्रसाद शर्मा, शिवप्रसाद श्रेष्ठ, माइते लामा र लालबहादुर ड्राइभर मिलेर त्यही ट्याक्टर र बुल्डोजर लिएर हवाईमैदान जोतेका थिए । मेघौलीको हवाईमैदान पनि लालबहादुर ड्राइभरले ट्याक्टर लगेर जोते । यसको एउटै उद्देश्य थियो, भरतपुर कब्जा गर्दा हवाईमार्ग भएर काठमाडौँबाट थप सुरक्षाकर्मी आउन नसकून् । भयो पनि त्यस्तै । आन्दोलनकारीले माघ २६ गते बिहानै भरतपुरमा प्रहरी थानाअगाडि धावा बोले । सहजै सुरक्षाकर्मीले आत्मसमर्पण गरेपछि भरतपुर जनमुक्ति सेनाको नियन्त्रणमा आएको इतिहासकार प्राडा लौडारीको भनाइ छ ।
प्राडा लौडारी भन्नुहुन्छ, “थानेदार भरत गुरुङले आन्दोलनप्रति देखाएको सद्भाव र सहयोगले नै बिनारक्तपात जनमुक्ति सेनाको नियन्त्रणमा भरतपुर आएको हो ।”
भरतपुर कब्जाका क्रममा गैँडागस्ती क्याम्प, राप्ती दुन परियोजनाको कार्यालय, झुवानीको प्रहरी थाना सबै कब्जामा लिइएको थियो । कांग्रेसका मुक्तिसेनाले भरतपुरको थानाबाट १८० थान नाल हतियार, गैँडागस्ती क्याम्पबाट २७ नाल बन्दुक कब्जामा लिएको प्राडा लौडारी बताउनुहुन्छ ।
भरतपुर कब्जा गरेको खुसियालीमा कांग्रेसले गेस्टहाउसमा सभा राख्यो । त्यो सभालाई एक्सन कमिटीका सचिव बुद्धसिंह रानाले सम्बोधन गर्दै भन्नुभयो, “राजा महेन्द्रले तानाशाही शासन चलाउने भावना राखेर पुस १ गते घातक कदम चालेकाले त्यसको विरोधका लागि हामी सङ्घर्षमा उत्रेका हौँ । सङ्घर्ष गर्नु हाम्रो बाध्यता हो । हामी प्रजातन्त्र ल्याई छाड्छाैँ ।”
खाँदाखाँदै सेनाको घेराउ
भरतपुर कब्जाको खुसियाली चलिरहँदा सेनाले भरतपुरलाई घेरा हालिसकेको थियो । कांग्रेसका सशस्त्र लडाकुले भरतपुर नियन्त्रणमा लिएको ४८ घण्टा नपुग्दै काठमाडौँबाट पुगेको सेनाले भरतपुर पुनः आफ्नो नियन्त्रणमा लिइसकेको थियो । काठमाडौँबाट शेर बटालियनका बिग्रेडियर जनरल भक्तवीर थापा, मेजर मोहनसिंह बस्नेत नेतृत्वको टोली माघ २८ गते बिहान भरतपुर ओरालिएको थियो । यो टोली काठमाडौँबाट हवाईजहाजमार्फत सिमरा उत्रिएर हेटौँडा हुँदै भरतपुर पुगेको थियो । कांग्रेसका सशस्त्र लडाकुले भत्काएका ठाउँ ठाउँका पुलमाथि सालको पटिया राखेर सेनाले गाडी तारेका थिए । चितवन कब्जामा लिने क्रममै सुरक्षाकर्मी आउने सम्भावित बाटो छेक्न उदयनाथ अधिकारीको नेतृत्वमा पूर्वबाट आउने बाटाका पुल भत्काइएको थियो ।
भरतपुरकै देउतीखोलानजिकै चौरमा कांग्रेस लडाकुसहितका आन्दोलनकारी विजयोत्सव मनाइरहेका थिए । उनीहरू कोही खाना खाइरहेका थिए । त्यसैबेला सेनाले घेरामा पा¥यो । सेनाले अन्धाधुन्ध गोली बर्साउन थाल्यो । जनमुक्ति सेनाका ११ जनालाई नियन्त्रणमा लिई एउटै डोरीले बाँधेर सेनाले लतार्दैपछार्दै चौबिसकोठी पु¥यायो । त्यहाँ तीन जनालाई गोली ठोकेर मारियो । अन्यलाई त्यहीँबाट लतार्दै घिसार्दै टिकौली जङ्गल पु¥यायो । बाँकी सात जना जनमुक्ति सेनालाई सङ्गिन रोपेर तड्पाई तड्पाई हत्या गरिएको इतिहासकारले उल्लेख गरेको पाइन्छ ।
जगतप्रकाशजङ्ग शाहलाई राजपरिवारको भनेर सेनाले मार्न सकेन । पछि उनका बारेमा राजा महेन्द्रलाई जानकारी गराइएको र राजाकै अनुमति लिएर उनलाई पुनः गेस्टहाउसमा निर्ममतापूर्वक यातना दिई मारी गेस्टहाउसबाहिर लगेर उत्तरतर्फको पातीघारीमा गाडिएको इतिहासमा उल्लेख छ ।
भरतपुर कब्जा भएको खुसियाली मनाउन भरतपुर आएका हरिप्रसाद गुरुङ, शमशेरबहादुर गुरुङ, जगतप्रकाशजङ्ग शाह, बुद्धसिंह राना, खेमबहादुर गुरुङलाई सेनाले भरतपुरमा पुनः नियन्त्रणमा लिएको पत्तो भएन । उनीहरू चारतारे झन्डा फहराउँदै सेतो गाडीमा गेस्टहाउस पुगेका थिए । भरतपुर काण्डमा हरिप्रसाद गुरुङ, बुद्धिसिंह राना, खेमबहादुर गुरुङ, शमशेरबहादुर गुरुङ, ट्राफिक तामाङ, जगतप्रकाशजङ्ग शाह, पन्चे गुरुङ, हस्तबहादुर गुरुङलगायत मारिएका थिए । ‘आजको नेपाल’ पुस्तकमा सो घटनामा ८५ जना मारिएको उल्लेख छ ।
‘आजको नेपाल’ मा लेखिएको छ, “त्यस दिन गेस्टहाउसमा मारिएका मानिसका ८५ जोर जुत्ता थिए । उनीहरूलाई हस्पिटल (भरतपुर) पछाडि खनिएको विशाल खाल्टोमा जिउँदै पुरेर मारियो । त्यसबेला विभिन्न ठाउँबाट पक्रिएर ल्याइएका मानिसलाई जिउँदै खाल्टोमा पुरेर सामूहिक हत्या गरियो ।”

देशव्यापी अपरेसन
चितवनबाट बन्दीपुरतर्फ लागेका लालध्वज गुरुङ, सर्वसिंह गुरुङ, इमानसिंह गुरुङलगायत पाँच जनालाई तनहुँ भिमाद–१, मानपाङमा पक्राउ गरी पोखरा गोश्वारामा बुझाइएको थियो । उनीहरूलाई पोखरा ट्रिब्युसन (अदालत) ले छ वर्ष कैद र पाँच हजार जरिबाना फैसला गरेर काठमाडौँ जेल चलान गर्ने बहानामा कोत्रेखोलामा ल्याएर गोली ठोकी हत्या गरिएको पाइन्छ । विसं २०१८ को सशस्त्र सङ्घर्षमा चितवनबाट भागेकाहरू पन्चे गुरुङ, आशबहादुर राना, भारत गुरुङ, खम्बसिंह तमाङ, सिंहबहादुर तमाङ, तुलाबहादुर तमाङ, छेगु तमाङ, ध्वजबहादुर तमाङ, बाबुलाल तमाङ, देउबहादुर तमाङ र टीकाप्रसाद थपलियालाई सेनाले मारेको तथ्य भेटिन्छ ।
यस्तै भुवन लामालाई रक्सौलमा, ध्वजबहादुर गोलेलाई मकवानपुरको डाँडाखर्कस्थित घरमै, रामबहादुर बरौटलाई माडीको चिताईमा, सुलेमान मियालाई पर्सामा, रामविलास यादवलाई रौतहटमा, भोला शाह कानुलाई बारा कचरामा, बलदेव रानालाई वीरगन्जमा, टेकबहादुर गुरुङलाई गोर्खामा, धनीप्रसाद गुरुङ, खेरदार गुरुङ, खेमबहादुर गुरुङ, सूर्यलाल तमाङ, जितलाल तमाङ, बहादुर गुरुङ, योजन लामा, बाको तमाङ र शमशेरबहादुर गोतानेलाई चितवनबाट भागे पनि विभिन्न जिल्लामा पुगेर सेनाले पक्राउ गरी हत्या गरेको आजको नेपाल पुस्तकमा उल्लेख छ ।
इतिहासकार प्राडा सूर्यमणि अधिकारी, प्राडा ईश्वरी लौडारीलगायतले विसं २०१८ को चितवन काण्डमा २६ जनाको मृत्यु भएको लेखहरूमा उल्लेख गर्नुभएको पाइन्छ । यो घटनामा ६६ जनालाई विभिन्न अवधिमा कैद सजाय दण्ड दिइएको थियो । उनीहरूमाथि विध्वंसात्मक अराष्ट्रिय तत्व घोषणा गर्दै यातना र मुद्दा चलाइएको थियो । महेश्वरलाल श्रेष्ठ, लालध्वज गुरुङ लगायतलाई अराष्ट्रिय तìव घोषणा गरिएको थियो । महेश्वरलाललाई मार्नेलाई त तीन लाख रुपियाँ इमान दिने घोषणा सरकारले गरेको थियो ।
टिमुरबोटे काण्ड
विसं २०१७ पछि कांग्रेसले मुख्य रूपमा २०१८ साल र २०३१ मा सशस्त्र सङ्घर्ष गर्यो । त्यसमा ओखलढुङ्गा आक्रमणका लागि पुगेका सशस्त्र कांग्रेस लडाकुको हत्या नेपाली राजनीतिक इतिहासमा निकै चर्चित रूपमा लिइन्छ । जसलाई टिमुरबोटे काण्डका रूपमा समेत लिइन्छ । विसं २०३१ मा भएको यो घटनामा ५० जनाभन्दा बढी कांग्रेस कार्यकर्ता मारिएका थिए । बिपी कोइरालाको नेतृत्वमा रहेको कांग्रेसले सञ्चालन गरेको यो सशस्त्र सङ्घर्ष ओखलढुङ्गा आक्रमणपछि काठमाडौँमा क्षति पु¥याउने योजनासाथ अघि बढेको थियो तर ओखलढुङ्गा आक्रमण नै असफल भएपछि कांग्रेस रोकिन बाध्य भएको इतिहासमा उल्लेख छ ।
‘आजको नेपाल’ पुस्तकमा उल्लेख गरिए अनुसार क्याप्टेन यज्ञबहादुर थापाको नेतृत्वमा ५३ जना क्रान्तिकारी जयनगर जनकपुर रेलवे हुँदै ओखलढुङ्गातर्फ प्रस्थान गरेका थिए । नेपाली कांग्रेसका क्रान्तिकारीहरू ओखलढुङ्गातर्फ अघि बढेको खबर सरकारले पाइसकेकाले बचाउको योजना बनाइसकेको थियो । क्रान्तिकारीहरू सोलुखुम्बुको टिमुरबोटमा एउटा ओडारमा छिपेर बसे । विसं २०३१ मा शाही नेपाली सेनाले उनीहरू बसेको ओडार पत्ता लगाई ओडारलाई घेरामा पा¥यो । अधिकांश क्रान्तिकारी सेनाको गोलीबाट त्यहीँ मारिए । यो घटनामा अणमणि राई, श्यामकुमार गुरुङ, पदमबहादुर पुरी, शिवकुमार राईलगायत ५० भन्दा बढीको हत्या भएको बताइन्छ ।
राणा शासनको अन्त्य र प्रजातन्त्रका लागि नेपालमा पटक पटक सानाठुला सङ्घर्ष भएको इतिहास पाइन्छ । कहिले सशस्त्र सङ्घर्ष त कहिले शान्तिपूर्ण सङ्घर्ष । यस्ता सङ्घर्षमा हजारौँको बलिदानी भएको पाइन्छ । राज्यका तर्फबाट गरिने दमन र त्यसको प्रतिरोधमा समेत थुप्रैको हत्या गरिएको पाइन्छ ।
विसं २०२८ माघ ३० गते भएको मोरङको झोडा काण्ड, पाँचथर ट्याङथापु काण्ड, हरिपुर काण्ड, पिस्कर काण्ड, छिन्ताङ हत्याकाण्ड, मटिहानी काण्ड, जनकपुर र विभिन्न स्थानमा भएका बम काण्ड, वीरगन्जमा बम विस्फोट, विराटनगर हवाईजहाज अपहरण काण्ड, विराटनगर काण्ड, ठोरी सङ्घर्ष, भोजपुर काण्ड, गुल्मीमा सङ्घर्ष, दिक्तेल सर्वधन काण्ड, सुर्खेत काण्ड, बझाङ काण्ड, काठमाडौँमा बम विस्फोट प्रयास, पश्चिम १ नम्बरमा किसान आन्दोलन आदि धेरै यस्ता घटना छन्, जुन नेपाली कांग्र्रेस, नेपालका कम्युनिस्टका विभिन्न घटकले पञ्चायती व्यवस्थाविरुद्ध देशव्यापी रूपमा सञ्चालन गरेका थिए ।
असफलताका आन्तरिक कारण
विसं २०१७ पछि कांग्रेसले सञ्चालन गरेका दुई सशस्त्र विद्रोह असफलताका कारण अनेकन छन् । विश्लेषक तथा पत्रकार पुरुषोत्तम दाहाल कांग्रेसभित्रको आन्तरिक विवाद र क्रान्तिप्रतिको तयारी अपूरो नै क्रान्ति असफल हुनुको मुख्य कारण मान्नुहुन्छ ।
विसं २०१७ देखि २०३६ सम्म भएका सशस्त्र सङ्घर्ष र आन्दोलनलाई ध्यानमा राखी कांग्रेसभित्र विग्रह थियो । तुलसी गिरी, विश्वबन्धु थापाहरू त राजासँगै मिलेका थिए । जेलमा रहेका कृष्णप्रसाद भट्टराई, महेन्द्रनारायण निधिलगायत हिंसात्मक आन्दोलनको पक्षमा थिएनन् । सशस्त्र सङ्घर्षमा होमिएका सुवर्णशमशेर राणा, बिपी कोइराला, गणेशमान सिंहहरूमा पनि सशस्त्र सङ्घर्षलाई हेर्ने दृष्टिकोण फरक रहेको दाहालको धारणा छ ।
प्राडा राजेन्द्र रेग्मी कांगे्रसले सञ्चालन गरेका सशस्त्र सङ्घर्ष र आन्दोलन असफल हुनुमा मुख्य कुरा कांग्रेसको तयारी नै अपूरो भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “देशविदेशका आन्तरिक कारण आफ्नो ठाउँमा छ । आन्दोलन असफल हुनुमा कांग्रेसकै तयारीको अभाव हो । कार्यसम्पादनमा त्रुटि हो । योजना र नेतृत्वविहीन आन्दोलन हो ।”
सहिद घोषणाको माग
कांग्रेसले सञ्चालन गरेका सशस्त्र सङ्घर्ष र आन्दोलनका क्रममा मारिएकाले अझै पनि सहिदको सम्मान राज्यबाट पाउन सकेका छैनन् । यसप्रति परिवारको गुनासो टड्कारो रूपमा पोखिँदै आएको पाइन्छ । कांग्रेसको विसं २०१८ को सशस्त्र सङ्घर्षका क्रममा हत्या गरिएका बुद्धसिंह रानाकी एक्ली छोरी ६४ वर्षीय लक्ष्मीकुमारी आले भन्नुहुन्छ, “देश र जनताका लागि बलिदान दिएका आफ्ना बुवालाई सरकारले अहिलेसम्म सहिदको मान्यता दिएको छैन, यसमा गुनासो छ ।” चितवन कब्जाका क्रममा हत्या गरिएका लालध्वज गुरुङका छोरा चन्द्रध्वज गुरुङ भन्नुहुन्छ, “त्यो बेला सहादत प्र्राप्त गर्ने अधिकांशलाई राज्यले अहिलेसम्म चिनेको छैन । उनीहरूको विवरण अद्यावधिक गरी सहिदको सम्मान दिइएमा मात्रै पनि परिवार र समाजले ठुलो न्याय पाउने छ ।”
– वसन्त पराजुली
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









