काठमाडौँ, माघ १७ : कांग्रेस सभापति गगनकुमार थापाले बदलिएको कांग्रेसले देश बदल्ने संकल्प लिएर अगाडि बढेको बताएका छन् ।
कांग्रेस काठमाडौँ क्षेत्र नं ४ ले आज आयोजना गरेको निर्वाचन परिचालन मूल समिति घोषणा समारोहलाई सम्बोधन गर्दै उनले देश बदल्नका लागि कांग्रेस बदलिएको बताए । ‘समयक्रमसँगै कांग्रेस नयाँ काम, सोच र संकल्पका साथ अगाडि बढेको छ, कांग्रेसभित्र नेताभन्दा कार्यकर्तालाई बलियो बनाउने अभियान सुरु भएको छ,’ उनले भने ।
आगामी दिनमा टिकट लिन नेताको घरमा चाहर्ने प्रवृत्तिको अन्त्य हुनेगरी कार्यकर्तालाई बलियो बनाउन लागिएको उनको भनाइ थियो । लोकतन्त्र र सामाजिक न्यायको बारेमा कांग्रेसले कसैसँग सम्झौता नगर्ने सभापति थापाले बताए ।
आम नागरिकको चाहना सुशासन र भ्रष्टाचारमा शून्य सहनशीलता अपनाओस् भन्ने रहेको बताउँदै उनले बदलिएको कांग्रेसले आम नागरिकको चाहनालाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । विशेष महाधिवेशनले पार्टीभित्र गुट र भागबण्डाको राजनीति अन्त्य गरेको उनको भनाइ थियो । ‘युवाहरुको आवाजलाई कांग्रेसले सुनेर अगाडि बढेको छ । कांग्रेससँग सुधारको एजेण्डा र सबैलाई जोड्ने ताकत छ,’ उनले भने ।
सभापति थापाले पार्टीभित्र आफूलाई अहिलेको उचाइमा पुर्याउन काठमाडौँ क्षेत्र नं ४ का कार्यकर्ता र आम मतदाताले खेलेको भूमिकाको उच्च सम्मान गरे । ‘मलाई तपाईँहरुले लगाएको गुन जीवनभर तिर्न सक्दिनँ, दुःखको बेलाका साथी र अभिभावक तपाईँहरु हो, नेपाली कांग्रेस र अन्य पार्टीमा रहेर मलाई भोट हाल्ने मतदाताको सहयोगका कारण म यस क्षेत्रबाट तीनपटक निर्वाचित भएँ, यसको श्रेय तपाईँहरु आम क्षेत्र नं ४ वासीलाई जान्छ,’ उनले भने ।
सभापति थापाले मधेशलाई काठमाडौँसँग जोड्न र मधेशको मुद्दा बुझ्नका लागि आफूले सर्लाही क्षेत्र नं ४ बाट उम्मेदवारी दिएको प्रस्ट पारे । कांग्रेस काठमाडौँ क्षेत्र नं ४ का उम्मेदवार सचिन तिमल्सिनाले काठमाडौँ क्षेत्र नं ४ को विकासका लागि आफू निरन्तर लाग्ने प्रतिबद्धता व्यक्त गरे ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













