01/17/2026, 20:57:57
शनिबार, माघ ०३, २०८२

कांग्रेस उपसभापति शर्मा उम्मेदवार नबन्ने भएपछि झापा-१ मा नयाँ नाम सिफारिस


झापा, माघ ३ : नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ ।

शनिबार बसेको कांग्रेस क्षेत्र नं १, क्षेत्रीय समितिको बैठकले पाँच जनाको नाम केन्द्रीय समितिमा सिफारिस गरेको क्षेत्रीय सभापति इन्द्र बुढाथोकीले जानकारी दिए । सिफारिस हुनेमा अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्वाङ, अधिवक्ता अशोककुमार पोखरेल, बिना तामाङ, गौतम मजुमदार र सुवेशकुमार पनेरू रहेका छन् ।

पार्टीका तत्कालीन महामन्त्री एवम् वर्तमान उपसभापति शर्मा २०७९ को निर्वाचनमा यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए ।

गत महिना पार्टी क्षेत्रीय समितिले उपसभापति शर्माको एकल नाम उम्मेदवारका रूपमा सिफारिस गरेको थियो । शर्माले यसपटक उम्मेदवार नबन्ने घोषणा गरेपछि पुनः नयाँ नाम सिफारिस गरिएको क्षेत्रीय सभापति बुढाथोकीले बताए ।