01/17/2026, 13:58:18
शनिबार, माघ ०३, २०८२

बिमा सेवाको रकम नपाउँदा डायलाइसिस र आमा सुरक्षा प्रभावित


नेपालगन्ज, माघ ३ गते । भेरी अस्पतालले लामो समयदेखि बिमितको उपचार गरेवापतको ठुलो रकम भुक्तानी नपाएपछि अस्पतालमा बिमा सेवा नै बन्द हुने अवस्थामा पुगेको छ ।

बिमा र विपन्न नागरिक कार्यक्रमबापतको करिव १५ करोड रुपियाँ अस्पतालले भुक्तानी नपाउँदा बिमा सेवासँगै अस्पतालका अन्य अत्यावश्यक सेवाहरु पनि बन्द हुने अवस्थामा पुगेका हुन् ।

भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. निराजन सुवेदीका अनुसार बिमा रकम भुक्तानीमा ढिलाइ हुँदा बिमामार्फत प्रदान गरिने उपचार सेवामात्र नभएर अस्पतालले प्रवाह गर्ने अन्य सेवाहरु डायलाइसिस, क्याथल्याव, आमा सुरक्षा कार्यक्रम अन्तर्गत डेलिभरी र शल्यक्रिया जस्ता अत्यावश्यक सेवाहरु समेत प्रभावित भई बन्द हुने अवस्था सृजना भएको छ ।

उहाँले बिमा र विपन्न कार्यक्रमको करिब १५ करोड रुपियाँ हालसम्म भुक्तानी नभएकोले बिमा बोर्डलाई पटक–पटक पत्राचार गरी भुक्तानीको माग गरिए पनि बेवास्ता गरेर रकम नपठाउँदा यसले अस्पताललाई आर्थिक सङ्कटतर्फ धकलिदिएको बताउनुभयो ।

प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. सुवेदीले थप्नुभयो, ‘‘डायलाइसिस सेवा त एक हप्तामात्रै चल्ने अवस्था छ । त्यसपछि बन्द हुन्छ । सोही प्रकारले अन्य अत्यावश्यक सेवाहरु पनि क्रमशः बन्द हुनेछन् ।’’

बिमा उपचार सेवा बापतको करोडौँ रुपियाँ भुक्तानी नहुँदा अस्पताललाई औषधी आपूर्तिकर्ताहरुले औषधी तथा औषधिजन्य सामग्री उपलब्ध गराउन नसक्ने अवस्था सिर्जना भएकाले अन्य सेवाहरु पनि बन्द हुने अवस्था आएको डा. सुवेदीको भनाइ छ ।

स्वास्थ्य बिमा गरेका नागरिकको उपचार गरेवापतको रकम अस्पतालले दाबी गरेपछि स्वास्थ्य बिमा बोर्डले अस्पताललाई भुक्तानी गर्नुपर्छ । भेरी अस्पतालले गत लामो समयदेखि सो रकम दावी गर्दै माग गरेपनि सरकारबाट अनुदान नै नपाएको जनाउँदै बिमा बोर्डले भुक्तानी दिन नसकेको बोर्डले जनाउँदै आएको छ ।

बिमितको सङ्ख्या बढ्दै जाँदा सरकारले विनियोजन गरेको रकम अपुग भएकाले समयमै भुक्तानी दिन नसकिएको बोर्डका निर्देशक डा.रघुराज काफ्लेले बताउनुभएको छ ।

यसैबिच, नेपालगन्जका नागरिक अगुवाहरुले पश्चिम नेपालका हजारौं बिरामीको उपचार गर्ने एउटा राम्रो अस्पतालको रुपमा स्थापित भएको भेरी अस्पतालका सेवाहरु बन्द हुने अवस्था आउन नदिन सरकार सचेत हुनुपर्ने कुरामा जोड दिएका छन् ।

नागरिक सरोकार मञ्च बाँकेका संयोजक कृष्ण प्रसाद श्रेष्ठले बिमा रकम नआउँदा अस्पताल समस्यामा परेको हुँदा सो तर्फ सरकारले तत्काल ध्यान दिनुपर्ने माग गर्नुभयो ।

– सिराज खान