महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘कुञ्जिनी’ खण्डकाव्य र ‘पहाडी जीवन’ निबन्धमा चर्चा गर्नुभएको गाउँ हो, झिल्टुङ । त्यसपछि नै नेपाली साहित्यका पाठकले झिल्टुङ सुने, बुझे र जाने ।
महाकविको मामा-ससुराली गाउँ पनि रहेछ, झिल्टुङ ।
युवा स्रष्टा प्रतीक घिमिरेको झिल्टुङ जाने प्रस्तावमा यात्राको तारतम्य मिल्न पुग्यो । एउटा माइव्रmो बसमा २०८२ पुस १९ गते यात्राको तारतम्य मिल्यो ।
यात्रा भनेपछि मेरो मन त्यसै त्यसै फुर्फुरिन्छ । बिहान सबेरै आँखा खुले पनि शरीर ओछ्यानमै थियोे । पुसको उपद्रो जाडो कसै गरी पनि शरीरबाट ओढ्ने हटाउन दिँदैन । जाडोसँग जोरजबरजस्ती गर्दै दिनभरका लागि न्यानो ओढ्नेसँग अनायास सम्बन्धविच्छेद गरेर ओछ्यानबाट बाहिरिन्छु ।
लमकलमक लम्किन्छु, चव्रmपथ सडकमा । उताबाट राजन पुडासैनीको फोन आउँछ । मेरो कानमा राजनको स्वर गुञ्जिन्छ, “लीला सर ! कता हुनुहुन्छ ? हामी माछा पोखरीबाट हिँड्यौँ है ! रातो माइव्रmो रन्किएर आउँदै छ ।”
स्वयम्भू चोकमा उभिएर आउने गाडीहरूलाई नियाल्छु । अब त आउने गाडी सबै रातैराता पो देखिन थाले । सात बजेर ३४ मिनेट गएको छ । घामको किरणले उज्यालो देखिएको छ, स्वयम्भू वरिपरिको परिवेश ।
घामको किरणमा बढ्दै गएको न्यानोपनले पुच्छर लुकाएर ङिच्च गर्दै भाग्न खोज्दै छ, जाडो । अन्तः छोपिएकाले घरीघरी मेरा गालामै चुम्न खोज्छ, यो असत्ती पुसे ठन्डी ।
केही समयमा आइपुग्यो रातो माइव्रmो बस । चढ्न बाँकी म मात्रै छु । ढोकाबाट भित्र पस्दा देख्छु, हरेकका अनुहार उत्साहित छन् । खाली सिट अन्तिममै भेटिन्छ । बस्छु म पनि । गाडीमा आसनका आधारमा हाम्रो नामावली बन्छ ।
दुर्गाभवानी भट्ट, एन्जल निलु, डिल्लीराज अर्याल, राजन पुडासैनी, दीपक लोहनी, शुकदेव उपाध्याय, विष्णुप्रसाद शर्मा पराजुली, गङ्गाप्रसाद भेटुवाल, चिरञ्जीवी नेपाल, प्रतीक घिमिरे, लीलाराज दाहाल, प्रमोद गिरी र कात्यायन छौँ आजका सहयात्री ।
गाडीका चालक श्रीकृष्ण महर्जन स्वयम्भूबाट सीतापाइला–धार्के सडकमा निकाल्ने ध्याउन्नमा माइव्रmो बसलाई भित्री बाटो समात्छन् ।
हामी गफको तालमा छौँ । गाडी आफ्नै तालमा गुड्दै छ । काठमाडौँको पश्चिमी चुचुरोमा पुगीवरी गाडी उतापट्टिको ओरालो झर्ने व्रmममा छ । भन्ज्याङ आउँछ, जान्छ । काठमाडौँ धादिङ सिमाना आउँछ, जान्छ । आरुखोला आउँछ, जान्छ । रुप्सेखोला आउँछ, जान्छ । गाडीको सिसाबाट बाहिर पनि नियाल्दै छु । बिहानी घामको किरणमा धुनीबेँसीका खेत, फाँट चम्केका छन् । बालीनाली र वन बुट्यानको हरियालीले शृङ्गार गरिदिएको छ, पूरै फाँट ।
साथीहरूलाई चियाको तलतलले सताएको रहेछ । कसैलाई लघुशङ्काले पनि दुःख दिइरहेको थियोे होला । कुरा बुझेछन् गुरुजीले । अनि त धुनीबेँसी, अर्जेलटारमा पुगेर चिया पसलमा अडियो गाडी । होटेलका कामदार नउठ्दै हामी चिया पिउन तम्सिएका रहेछौँ । एक घण्टा हुन लागिसक्यो, चिया आउँदैन ! पछि थाहा पाइयो, हामीलाई चिया ख्वाउन दुध नभएकाले थानकोट पुगेर दुध लिएर आउँदा पो विलम्ब भएको रहेछ ।
त्यहाँबाट अगाडि बढ्यौँ । गाडीमा यात्रारत रहँदा हाम्रो यात्राको आयव्ययको अभिलेख राख्ने प्रतीकले भन्नुभयो, “चिया होटेलको आँगन र बरन्डा फराकिलो भए पनि साहुको मन भने निकै साँघुरो रहेछ ।”
हामीले बुझ्यौँ, होटेलका साहुले हिसाबकिताबमा अलिकति गोलमाल गर्न खोजेछन् । केहीबेरमा धार्के पुग्यौँ । मूलबाटो समातेर हाम्रो सवारी पूर्ण यौवनको धावक झैँ दौडिरहेको छ, सडकमा । गल्छी पुगेर त्रिशूली जाने सडकमा मौडियौँ । अलिमाथि कोल्पुखोला पुल पनि काटियो । त्यही ठाउँनिर कोल्पुखोलाले गहिरो त्रिशूलीमा हेलिएर आफ्नो जीवन समाप्त पार्दा रहेछन्, मान्छेहरू ।
अझै अगाडि बढेपछि कोल्पुटार आयो । त्यही कोल्पुटारबाट दाहिने मोडिएर उकालो लाग्नुपर्ने रहेछ, झिल्टुङ जान । हामी पहिलो पटक आउनेलाई के थाहा ! हामी त नुवाकोटकै दुर्गाभवानीको भर परेका छौँ । गुरुजीको भर परेका छौँ । गाडी पूर्ण रफ्तारमा कुदेको छ । तारुकाघाट कटिसक्यो । रातमाटे कटिसक्यो । एउटा सानो सानो बजार पनि कटिसक्यो । काँसीटार आइपुगेपछि दुर्गाभवानीले भन्नुभयो, “यता त होइन कि क्या हो !”
बाटोमा भेटिएका बटुवालाई सोधेपछि थाहा भयो, हामी त झिल्टुङ छुटिने ठाउँ छोडेर निकैमाथि पो आइपुगेछौँ !
त्रिशूली नदी किनारका रमणीय हरियाली र उर्वर खेतबारी नियाल्न पाउँदा रमाइरहेको थिएँ । अचानक फर्कनुपर्दा मेरा आँखाहरूको चित्त बुझाउन मलाई हम्मेहम्मे परेको थियोे । फर्केर आयौँ र कोल्पुटारबाट उकालो लाग्यौँ । उबड-खाबड धुले बाटोमा हाम्रो माइव्रmो बस अल्छी गर्दै गुड्न थाल्यो । मैले मनमनै सोचेँ, सबै ठाउँमा गल्छी–त्रिशूली जस्तै चिल्लो कालोपत्रे बाटो त कहाँ भेटिन्छ र ! हाम्रो जिन्दगी जस्तै त हो नि यात्रा पनि !
जङ्गलबिचको बाटोमा उकालो उकालो, अलि अलि घुम्ती, तेर्सो तेर्सो गुडेर गाडी अगाडि बढिरहेको छ । धुलोमाटोको खार नाकभित्र भित्र पुग्दै छ । झन्डै आधा घण्टाभन्दा बढी गुडेपछि हामी पुग्छौँ माझगाउँ । यहाँ केही झुरुप्प बस्ती रहेछ । यो ठाउँ नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५ मा पर्दो रहेछ । एक÷दुई होटेल, केही किराना पसल, उखु पेल्ने कोल र कुटानीपिसानीको मिल रहेको यस ठाउँ विकासको तीव्र प्रतीक्षामा रहेछ ।
हामी आउँदै छौँ भनेर केही स्थानीय बुढापाका, सङ्घ संस्थाका प्रतिनिधि र वडा सदस्य जम्मा हुनुभएको रहेछ ।
होटेलमा खानेकुराका लागि आग्रह गरेपछि होटेलले खानेकुराको चाँजोपाँजो मिलाउन्जेल हामी स्थानीय रहनसहन, कलासंस्कृति, पाटीपौवा नियाल्ने विचार गरेर वडा सदस्य गोकर्ण नेपालको पछि लाग्यौँ । बाटोवरिपरि, तलमाथि मिलेर बसेको नेवार बस्ती, केही पक्का, केही कच्चा घरहरू लाइन लागेर उभिएका छन् । नेवार समुदाय बढी जस्तो व्यापारमा, बाहुनक्षेत्री समाजसेवा, खेतीकिसानी र राजनीतिमा, अन्य जातिहरू आआफ्नै पुख्र्यौली पेसामा रहेको अवस्था रहेछ, यहाँको ।
बाटोमा जाँदाजाँदै गोकर्णजीले स्थानीय नेवारी समुदायमा रहेको अर्बासिनी प्रथाका बारेमा केही कुरा बताउनुभयो । कुनै जात्रामा, खेतीको काममा र स्थानीय झैझगडाका लागि बस्ने पञ्चकचहरीमा जम्मा भेला हुन जारी हुने सूचना पु¥याउने कार्य नै ‘अर्बासिनी प्रथा’ रहेछ ।
हामी अगाडि बढ्दै गयौँ र पुग्यौँ झिल्टुङ डबलीमा । पहिले पहिले मुद्दा मामिलाको सुनुवाइ हुने र न्याय निसाफ गरिने ठाउँ रहेछ, यो डबली । वडा सदस्य गोकर्णका अनुसार यसको अस्तित्व ५०/५१ सालसम्म थियो रे ।
यस क्षेत्रका खास सांस्कृतिक जात्रामा हिलेजात्रा र झिल्टुङ लाखेजात्रा रहेछ । नागपञ्चमीदेखि श्रीकृष्ण जन्माष्टमीसम्म चल्ने रहेछ, यो लाखेजात्रा । घर घरबाट लाखे निकालेर यस डबलीमा जात्रा देखाइने रहेछ । संस्कृति र परम्परामा पनि धनी लाग्यो झिल्टुङ । नेवार, बाहुन र दलितको सहअस्तित्वपूर्ण रहनसहन यस ठाउँको विशेषता रहेछ । तल तलको होचो ठाउँमा बस्ती छैन तर यो अग्लो डाँडामा बस्ती रहेछ । अग्लो डाँडामा बस्ती भएकाले पानीको दुःख हुनु स्वाभाविक भइहाल्यो ।
पहिलेको झिल्टुङ गाउँ पञ्चायत, त्यसपछि दुईपिपल गाउँ विकास समिति र अहिले बेलकोटगढी नगरपालिकामा रूपान्तरित भएको यो ठाउँ झिल्टुङ नाउँको अस्तित्व गुमाएर बसे पनि महाकवि देवकोटाले यस नाउँलाई अमरत्व दिनुभएको हो । अहिले जग्गाको स्रेस्तामा मात्रै भए पनि झिल्टुङ नाउँ अभिलेखित छ ।
गोकर्णजीले हामीलाई कुमारीमाई मन्दिर, विष्णुमन्दिर, कोटघर र कोटथोक अवलोकन गराउँदै, तिनको विशेषता वर्णन गर्दै हामीलाई फर्काएर माझगाउँमै ल्याइपु¥याउनुभयो । बाटोमा रामबहादुर विश्वकर्माको आरनघरमा पसेर दलित जातिको अवस्था, विगत र वर्तमानबारे बुझ्ने प्रयास ग¥यौँ ।
सुकदेव नेपाल, डिल्लीराज अर्याल र गङ्गाप्रसाद भेटवालले रामबहादुरबारे खोजीनिती गर्दै सोध्नुभयो, “स्थानीय सरकारबाट केकस्ता सहयोग पाउनुभएको छ ?”
रामबहादुरले लजाउँदै भन्नुभयो, “वडा सरकारले यो आरनमा घेराबेरा गरिदिए हातहतियार हराउने थिएनन् हजुर ।”
नगरपालिकाले त्यो गरिदिने भन्ने आश्वासन वडा सदस्यले दिँदा उहाँ निकै हर्षित देखिनुभयो । कुरैकुरामा गोकर्णले थप्नुभयो, “रातरातो रङको झुरुमझुरुम बदाम, उखु र कोदो यहाँका प्रसिद्ध बाली हुन् ।”
होटेलको माथिल्लो बरन्डामा हामी यात्रुलाई स्वागत गर्ने तारतम्य मिलाउनुभएको रहेछ, झिल्टुङ बचत तथा ऋण सहकारीका पदाधिकारी साथीले । सोहीमुताबिकका कार्यव्रmम पनि सञ्चालन भए । दिउँसोको १ बजिसकेको हुँदा हामी कमजोर कमजोर र भोक भने बलियो बलियो हुँदै गएको अनुभूति हुन थाल्यो । भोजनपछिको हाम्रो बाँकी काम थियोे, कुञ्जिनीपार्क अवलोकन । हामी कत्ति पनि ढिला नगरी अगाडि बढ्यौँ । केही उकालो उक्लेपछि तेर्सैतेर्सो बाटोमा पैदलयात्रामा थियौँ । सल्लाका बोटहरूले सुन्दरता थपिरहेका थिए, बाटैभरि । चारैतिरबाट तारजालीले घेरेर कुञ्जिनीपार्क बनाइएको रहेछ खड्कछापमा ।
१९९७ सालमा महाकवि देवकोटा बस्नुभएको घरको आडैमा । महाकविको सालिक पनि मनमोहक लाग्यो मलाई । सालिकमा केही लेख्दै गरेको जस्तो भूमिकामा महाकवि देवकोटा । महाकविको सालिकछेउमा बसेर हामीले पनि केही अनुभूति पस्कने काम गरेका थियौँ । केदार नेपाल, नारायण नेपाल, बच्चुराम लामिछाने यस क्षेत्रलाई साहित्यिक पर्यटनको केन्द्र बनाउन लागिपर्नुभएको रहेछ । स्थानीय नगरपालिका र पर्यटन मन्त्रालयको आर्थिक सहयोगमा काम हुँदै गरेको रहेछ अहिले पनि ।
यो झिल्टुङगाउँ महाकविकी पत्नी मनदेवी देवकोटाको मावली गाउँ हो । स्थानीयको भनाइ अनुसार महाकविलाई उपचारका लागि भारतको राँचीमा लगेर ल्याएपछि पनि ठिक नभएको भन्ने ठानी झारफुक पद्धतिबाट उपचार गर्न भनी विसं १९९७ मा यहाँ ल्याइएको रहेछ । महाकवि झिल्टुङमा एक महिनासम्म रहँदा यहाँको गाउँघर, डाँडापाखा, खोलानाला सबै चहार्नुभएको र यसै गाउँको कथालाई टपक्क टिपेर गोरेलाई नायक र कुञ्जिनीलाई नायिकाका रूपमा उभ्याई ‘कुञ्जिनी’ जस्तो कालजयी खण्डकाव्य र ‘पहाडी जीवन’ जस्तो खँदिलो निबन्ध लेख्नुभएको हो भनेर भन्ने गरिन्छ ।

नियात्राकार निर्मोही व्यासले संस्मरणात्मक नियात्रा
‘झिल्टुङको यात्रा कुञ्जिनीको खोजीमा’ लेख्नुभएको छ । २०४३ सालको असार महिनामा व्यासले यस क्षेत्रको भ्रमण गर्नुभई महाकविका नातेदारको घरमा महाकवि स्वयम्ले प्रयोग गर्नुभएको पिर्कामा बसी खाना खाएको र महाकवि सुत्ने गरेको ओछ्यानमा सुतेर महाकविप्रति असीम श्रद्धा प्रकट गरेको नियात्रामा लेख्नुभएको छ ।
झिल्टुङले केही समय आफ्नो अस्तित्व गुमाउनुपरे पनि अहिले स्थानीय युवा झिल्टुङलाई स्थानीय, प्रदेश र राष्ट्रियस्तरमा चिनाउन लागिपरेका छन् । महाकवि एक महिनासम्म बसेको घर भत्केकाले त्यो पवित्र घर हेर्ने हाम्रो चाहना भने पूरा हुन पाएन ।
बेलुकाको ४ बजेकाले काठमाडौँ फर्कनलाई हामी झर्न थाल्यौँ, ओरालैओरालो । यस सुन्दर ठाउँ झिल्टुङलाई छोडेर फर्कनुपर्दा मनमा कस्तो कस्तो नरमाइलो लागिरहेको थियो । बाटोघाटो बन्दै गरेको र देवकोटा पार्कको पनि निर्माण हुँदै गरेकाले पछि फेरि समय मिलाएर आउने कुरा मनमा खेलाउँदै हामी बस चढ्यौँ ।
– लिलाराज दाहाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














