01/17/2026, 11:48:02
शनिबार, माघ ०३, २०८२

भिमफेदीमा कार दुर्घटना : तीन जना घाइते


हेटौँडा, माघ ३ गते । हेटौँडा–काठमाडौँ सडक खण्ड अन्तर्गत मकवानपुरको भिमफेदीमा कार दुर्घटना  हुँदा तीन जना घाइते भएका छन् ।

भिमफेदी गाउँपालिका–६ जुरिखेतमा भएको दुर्घटनामा कार चालक काभ्रे धुलिखेल नगरपालिका–९ का ६८ वर्षीय शिवप्रसाद सिक्देल, काभ्रे मण्डलदेवपुर नगरपालिका–१ का ४७ वर्षीय रामेश्वर ढकाल र काठमाडौँ महानगरपालिका–३२ का ६१ वर्षीय दीपक केसी घाइते हुनुभएको हो । दुर्घटना शुक्रबार भएको हो ।

घाइतेहरूको छाती, हात, टाउको, ढाड र अनुहारमा चोट लागेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुस्कर बोगटीले जानकारी दिनुभयो । हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र.०१–०२६ च ३८९० नम्बरको कार सडकबाट करिब ३० मिटर तल खसेर दुर्घटना भएको थियो ।

घटनापछि इलाका प्रहरी कार्यालय भिमफेदीका प्रहरी निरीक्षक सन्त कुमार श्रेष्ठको नेतृत्वमा सात जना ट्राफिक प्रहरीले घाइते तीनजनालाई उद्धार गरी उपचारका लागि भिमफेदी अस्पताल  पठाइएको थियो । कार भने घटनास्थलमै रहेको छ ।

– अनिल पराजुली