01/05/2026, 10:00:37
सोमबार, पुष २१, २०८२

सूर्यविनायक–धुलिखेल सडक विस्तार: मुख्य राजमार्गमै पहुँच सडक बनाइदिन दबाब


बनेपा, पुस २० गते । अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तारको कामले गति लिएको छ ।

पछिल्लो समय सडक विस्तारको कामले गति लिएपछि राजमार्ग विस्तारका क्रममा विभिन्न समस्या समेत देखा परेका छन् । राजमार्ग विस्तारको कामले गति लिइरहँदा भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको करिब १६ किलोमिटर सडकखण्डका विभिन्न स्थानमा समस्या देखिएका हुन् । राजमार्ग विस्तारको काम सुरु गर्दा विद्युत् पोल, खानेपानी, ढलको पाइप स्थानान्तरण, घरटहरा भत्काउने लगायतका समस्या देखिए पनि पछिल्लो समय यसका साथै अन्य समस्या समेत देखा पर्न थालेका छन् ।

पछिल्लो समय सडक विस्तारका क्रममा दुवै जिल्लाका विभिन्न स्थानमा चोक बनाइदिनुपर्ने, मुख्य राजमार्गमै एक्सेस रोड दिनुपर्ने लगायतका दबाब आउन लागेको छ । सूर्यविनायक–धुलिखेल सडक आयोजनाका आयोजना प्रमुख सुपरिन्टेन्डेन्ट इन्जिनियर विजयकुमार महतोले सडक विस्तारको कामले गति लिइरहँदा भक्तपुर र काभ्रेपलाञ्चोकका विभिन्न स्थानमा चोकको माग गर्दै मुख्य राजमार्गमै निमास मार्ग माग गर्ने क्रम बढेको बताउनुभयो ।

सडक विस्तारको कामले गति लिइरहेको समयमा हरेक चोकमा मुख्य राजमार्गमै निकास सडक चाहियो, मोड चाहियो भन्दै विभिन्न स्थानीय तहका प्रमुख, वडा कार्यालय, वडाध्यक्ष र नागरिकबाट दबाब आउन थालेको छ,” आयोजना प्रमुख महतोले भन्नुभयो । उहाँले मुख्य राजमार्गमै पहुँच सडक दिँदा तथा राइट टर्न दिँदा राजमार्गमा सवारीको गतिमा कमी आउनुका साथै दुर्घटनाको जोखिम धेरै हुने भएकाले स्थानीयवासीलाई सम्झाउने काम भइरहेको बताउनुभयो । उहाँले मुख्य राजमार्गमा पहुँच सडक दिन नसकिने तथा त्यसका बेफाइदाका बारेमा जनप्रतिनिधि, स्थानीयवासीलाई सम्झाउने काम भइरहेको बताउनुभयो ।

आयोजना प्रमुख महतोले सडक विस्तारका क्रममा सूर्यविनायकदेखि धुलिखेलसम्मको सडकका विभिन्न स्थानमा पानीसहितको कालोमाटो देखिएकाले सडक विस्तारको काममा ढिलाइ भएको जानकारी दिनुभयो । “सडक विस्तारका क्रममा सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकखण्डमध्ये करिब ४० प्रतिशत स्थानमा कालोमाटो देखिएको छ, कालोमाटो देखिएपछि हामीले सडकको डिजाइनसमेत परिवर्तन गरेर काम सबग्रेड लेभलमै सबसर्फेस ड्रेनेज बनाएर जमिनभित्रको पानी बाहिर निकाल्ने काम गरेका छौँ,” महतोले थप्नुभयो । उहाँले पहिला सडक विस्तारको काम सुरु गरिएको साँगादेखि धुलिखेलसम्मको काभ्रेपलाञ्चोकतर्फको खण्डमा हालसम्म ६० प्रतिशत भौतिक प्रगति भएको बताउनुभयो ।

यस्तै सूर्यविनायकदेखि साँगासम्मको भक्तपुर खण्डमा हालसम्म ४५ प्रतिशत भौतिक प्रगति भएको आयोजनाले जनाएको छ । सडक विस्तार अन्तर्गत हालसम्म करिब ८० प्रतिशत घरटहरा हटाउने, करिब ८५ प्रतिशत विद्युत् पोल, खानेपानी, ढल स्थानान्तरण गर्ने काम सम्पन्न भएको छ । अरनिको राजमार्गको सूर्यविनायकदेखि धुलिखेलसम्मको १६ किलोमिटर सडकलाई दुई खण्डमा विभाजन गरी साढे दुई वर्षदेखि सडक विस्तारको काम हुँदै आएको छ । सूर्यविनायकदेखि साँगासम्मको ७.५ किलोमिटर सडक सडक निर्माणका लागि आशिषकुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँग भ्याटसहित तीन अर्ब ८८ करोड ९३ लाख रुपियाँको लागतमा २०७९ पुस महिनादेखि काम गर्दै आएको छ ।

यस्तै काभ्रेपलाञ्चोकतर्फ साँगादेखि धुलिखेलसम्मको ८.५ किलोमिटर सडक निर्माणका लागि लामा कन्स्ट्रक्सनसँग भ्याटसहित चार अर्ब पाँच करोड ६४ लाख रुपियाँमा ठेक्का सम्झौता गरी २०७९ मङ्सिरदेखि सडक विस्तारको काम गर्दै आएको हो । साँगादेखि धुलिखेलसम्मको जिम्मा पाएको लामा कन्स्ट्रक्सनको सम्झौता २०८२ मङ्सिरमा सकिएको र सूर्यविनायकदेखि साँगासम्मको सडकको जिम्मा पाएको आशिषकुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीको सम्झौता २०८२ पुस महिनामा सकिने आयोजनाले जनाएको छ ।

तीन वर्षमा सडक विस्तारको काम सम्पन्न गर्ने गरी सुरु गरिएको सूर्यविनायक–धुलिखेल सडक विस्तार आयोजना अन्तर्गत काभ्रेपलाञ्चोक खण्डमा पर्ने साँगादेखि धुलिखेलसम्मको सडक विस्तारको ठेक्का पाएको निर्माण व्यवसायीको म्याद मङ्सिर २५ गतेबाट सकिएको छ । सम्झौताको म्याद सकिएपछि आयोजनाले सडक विस्तारको काम सम्पन्न गर्नका लागि ठेक्का पाएको लामा कन्स्ट्रक्सन प्रालिलाई एक वर्षको समय थप गरेको छ । यता सूर्यविनायकदेखि साँगासम्मको ठेक्का पाएको आशिषकुमार श्रेष्ठ÷बन्धन÷भगवती जेभीसँगको सम्झौताको म्याद भने पुस २५ गतेसम्म रहेको छ । निर्धारित समयमै सडक विस्तारको काम सम्पन्न नहुने अवस्था आएपछि सम्झौताको म्याद थपको प्रव्रिmया अघि बढाइएको छ ।

बजेट अभावको डर

अरनिको राजमार्ग अन्तर्गत सूर्यविनायक–धुलिखेल सडक विस्तारका लागि चालु आर्थिक वर्षका लागि सडकतर्फ ६० करोड र पुलतर्फ १० करोड गरी कुल ७० करोड रुपियाँ विनियोजन भएको छ । चालु आवमा विनियोजन भएको बजेट सकिन लागेको छ । आयोजना प्रमुख महतोले कार्यालयमा निर्माण व्यवसायीले पे गरेको बिलको भुक्तानी दिँदा आयोजनासँग करिब चार करोड रुपियाँ मात्रै बजेट बाँकी रहने बताउनुभयो । उहाँले आयोजनाका लागि चालु आवमा विनियोजन गरेको बजेटले नपुग्ने भएपछि करिब साढे चार अर्ब रुपियाँ बजेट थप गर्नका लागि अर्थ मन्त्रालयमा फाइल पु¥याए पनि मन्त्रालयले स्रोत सुनिश्चित गरिनसकेको जानकारी दिनुभयो ।

– केदार तिमल्सिना