01/06/2026, 10:22:42
मङ्गलबार, पुष २२, २०८२

यूएनडीपीको कर्मचारी भनी ठगी गर्दै हिँडेको आरोपमा युवक पक्राउ


लमजुङ, पुस २१ : संयुक्त राष्ट्रसंघ अन्तर्गतको यूएनडीपी (संयुक्त राष्ट्र विकास कार्यक्रम) को कर्मचारी भन्दै विभिन्न निकायबाट रकम असुली ठगी गर्दै हिँडेको आरोपमा लमजुङ प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका–१३ घर भई हाल विभिन्न स्थानमा आवतजावत गर्दै आएका २५ वर्षीय सुजन सिलवाल रहेको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

प्रहरीका अनुसार सिलवालले पछिल्ला केही दिनदेखि आफू यूएनडीपीको कर्मचारी भएको दाबी गर्दै अन्य सहयोगीसहित लमजुङका विभिन्न वडा कार्यालय, कृषि फर्म तथा विद्यालयमा पुग्ने गरेका थिए । शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा सहयोग उपलब्ध गराइदिने बहानामा उनले निवेदन तथा प्रतिलिपि सेवा शुल्क, दस्तुर लगायतका रकम उठाउँदै ठगी गरेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी परिचालन गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी रेशम बोहराका अनुसार खोज-तलासका क्रममा पुस १८ गते बेलुकी दोर्दी गाउँपालिका–४ बाट उनलाई शंकास्पद अवस्थामा फेला पारी नियन्त्रणमा लिइएको थियो । उनको साथबाट संयुक्त राष्ट्रसंघ नेपाललाई सहयोग तथा भौतिक पूर्वाधार विकासका लागि लेखिएका विभिन्न निवेदन पत्र, वडा कार्यालय तथा विद्यालयका नाममा तयार गरिएका कागजात, विभिन्न व्यक्तिहरूका फर्म दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (प्यान) दर्ता प्रमाणपत्र, नागरिकताको प्रतिलिपिहरू तथा ठगीबाट संकलन गरिएको नगद रकम बरामद गरिएको छ ।

प्रहरीले ठगीसम्बन्धी कसुरमा जिल्ला अदालत लमजुङबाट आइतबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । प्रारम्भिक अनुसन्धानबाट सिलवालले यूएनडीपीमा जागिर लगाइदिने प्रलोभन देखाएर एक जनालाई सहयोगीका रुपमा प्रयोग गरेको र सवारीसाधन भाडामा लिएर चालकसहित हिँडेको समेत खुलेको छ ।

प्रहरीले यस प्रकृतिको ठगीमा परेका अन्य व्यक्ति वा संस्था भए आवश्यक प्रमाणसहित कार्यालयमा सम्पर्क गर्न पनि आग्रह गरेको छ ।

– आश गुरुङ