01/07/2026, 12:19:26
बुधबार, पुष २३, २०८२

रास्वपा समानुपातिक सूचीबाट नाम फिर्ता लिने मिलन लिम्बूको घोषणा


काठमाडौँ, पुस २१ : राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीबाट मिलन लिम्बूले नाम फिर्ता लिने घोषणा गरेका छन् ।

लिम्बू रास्वपाको आदिवासी जनजाति पुरुष क्लस्टरको छैटौं नम्बरमा सिफारिस भएका थिए । उनले सामाजिक सञ्जालमार्फत सोमबार समानुपातिक उम्मेदवारको सूचीबाट नाम फिर्ता लिने घोषणा गरेका हुन् ।

म, हाम्रो पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निर्वाचन आयोगमा बुझाएको प्रतिनिधिसभा समानुपातिकतर्फको ११० जनाको बन्दसूचीअन्तर्गत आदिवासी जनजाति क्लस्टरको ६ नम्बरमा समावेश रहेता पनि उक्त सूचीबाट नाम फिर्ता लिने निर्णय गरेको छु,’   लिम्बूले भनेका छन्, ‘नेपालको संविधानमा सुनिश्चित समानुपातिक/समावेशी प्रणालीलाई अवलम्बन गर्ने पार्टीको प्रतिबद्धताको आधारमा पार्टी र नेतृत्वसँगको सल्लाह अनुसार नै मैले समानुपातिकतर्फ उम्मेदवारी दिएको थिएँ । तर, एकता र ध्रुवीकरणको यस चरणमा एकताबाट आउनु भएका साथीहरूलाईसमेत समूचित रूपमा व्यवस्थापन गर्नुपर्ने बाध्यता नेतृत्वसमक्ष छ । नेतृत्वको बाध्यतालाई बुझ्दै, बन्दसूची तय गर्ने क्रममा सिर्जित परिस्थितिले पार्टीका आम सदस्य र नेता-कार्यकर्ताको भावनामा परेको प्रभाव समेतलाई आत्मसात् गर्दै बन्दसूचीबाट नाम फिर्ता लिने निर्णय लिएको हुँ ।

लिम्बूले पार्टीको दीर्घकालीन हित, आन्तरिक एकता र सामूहिक भावनाको सम्मान गर्दै उक्त निर्णय लिएको उल्लेख गरेका छन् ।

लिम्बू प्रतिनिधिसभाको इलाम क्षेत्र नम्बर २ मा २०८१ मा भएको प्रतिनिधिसभा उपनिर्वाचनमा रास्वपाका उम्मेदवार थिए । एमालेका सुहाङ नेम्वाङ निर्वाचित भएको उपनिर्वाचनमा लिम्बूले ५ हजार ५० मत पाएका थिए ।