12/27/2025, 14:29:04
शनिबार, पुष १२, २०८२

नागरिकमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्दै ‘सम्बोधन’ परियोजना


बागलुङ, पुस १२ गते । फेयरमेड फाउण्डेसन र नेपाल गाजा डेभलपमेन्ट फाउण्डेसनको सहकार्यमा सञ्चालित सम्बोधन परियोजनाको आयोजनामा पत्रकारहरुसँग पैरवी तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

परियोजनाले सन् २०२५ मा गरेका कामबारे समीक्षा गरिनुको साथै कार्यक्रममा सहभागीबिच अन्तरक्रिया गरियो । कार्यक्रममा परियोजनाले सबै स्वास्थ्य संस्थाको संस्थागत विकास, मातृशिशु स्वास्थ्य सुधार, उष्ण प्रदेशिया रोगविरुद्धको कार्यक्रम र पछाडि पारिएका समुदायलाई आर्थिक मुलधारमा ल्याउने र समावेशीकरणको क्षेत्रमा काम गरेको जानकारी गराइएको थियो ।

कार्यक्रम प्रस्तुतीकरण गर्दै गाजा फाउण्डेसनका बिष्णु सुवेदी, सुजन पौडेल  र फेयरमेड फाउण्डेसनको तर्फबाट प्रियंका सिंहले प्रस्तुतीकरण गर्नुभएको थियो । परियोजना मार्फत हालसम्म भएका काम, अहिलेसम्म सङ्कलन गरिएको तथ्याङ्क, आम नागरिकको सेवा प्रवाह र सञ्चार क्षेत्रले खेलेको भूमिकामा छलफल केन्द्रित थियो ।

कठिन भूगोल रहेको निसीखोला गाउँपालिका–५ को निसेलढोरदेखि बागलुङ बजारसम्मका स्वास्थ्य संस्थाको क्षमता विकासमा फेयरमेड फाउण्डेसनले खेलेको भूमिकाबारे फाउण्डेसनका टिम लिडर गणेश बरुवालले जानकारी दिँदै सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न यो अभियान चालिएको बताउनुभयो ।

कार्यक्रममा नेपाल गाजा डेललपमेन्ट फाउण्डेसनका अध्यक्ष यामप्रसाद शर्माले ग्रामीण जनताको सेवाका लागि गैरसरकारी संस्था सहयोगी भए पनि मुख्य साझेदार सरकारी संयन्त्र भएको भन्दै जबसम्म राज्यका निकायले पहिलो दायित्व लिदैनन् तबसम्म सेवाको गुणस्तर र प्रभावकारिता पनि नबढ्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष राम थापा ‘अबिरल’ले तथ्याङ्कको समन्वय नभएकाले कतिपय कामको प्रभावकारिता नदेखिएको धारणा राख्दै स्वास्थ्य मन्त्रालयले राख्ने गरेको तथ्याङ्कमा एकरुपता नभएपछि सुधार भएका सूचक प्रष्ट नभएको बताउनुभयो । गर्भवती हुनेको प्रक्षेपण र यथार्थता नमिल्दा अझैपनि ५५ प्रतिशत संस्थागत सुत्केरी भएको देखिएको भन्दै बढेको यकिन तथ्याङ्क नआएको उहाँको भनाइ थियो ।

अहिले पनि बालविवाह, होम डेलीभरी जस्ता समस्या भने अझै हटाउन नसकेकाले परियोजनाहरु सञ्चालन गर्नुपरेको र सुधार भइरहेको फाउण्डेसनका टिम लिडर बरुवालले बताउनुभयो । ‘‘सञ्चार माध्यमले देखाउने बाटोले राज्य र गैससका कामहरु सेवाग्राही लक्षित बन्ने, नीतिगत सुधार हुने हो’’ बरुवालले भन्नुभयो ।

– रामकृष्ण बोहरा