02/12/2026, 20:01:23
बिहिबार, माघ २९, २०८२

८.९७ अङ्कले बढ्यो सेयर बजार, ११ अर्बभन्दा बढीको कारोबार


काठमाडौँ, माघ २९ गते  । साताको कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक (नेप्से) मा सामान्य वृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से सूचक ८.९७ अङ्कले बढेर २६७१.०७ विन्दुमा पुगेर बन्द भएको छ ।

आज बजारमा कारोबार रकमले पनि उत्साहजनक साथ दिएको छ । दिनभरिमा ३३७ कम्पनीका २ करोड ७७ लाख कित्ता किनबेच हुँदा कुल ११ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

बजारको स्थिति हेर्दा आज १३९ कम्पनीको सेयर मूल्य बढेको छ भने ११५ कम्पनीको मूल्य घटेको छ । बाँकी ६ कम्पनीको मूल्य भने स्थिर रहेको देखिन्छ ।

आज ८ सूचकमा वृद्धि हुँदा पाँच वटा सूचकमा गिरावट आएको छ । विकास बैङ्क समूहमा सर्वाधिक १.१८ प्रतिशत वृद्धि हुँदा होटल र टुरिजम समूह सर्वाधिक १.६५ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा दुई वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किटको अवस्था देखिएको छ । मध्य भोटेकोशी जलविद्युत कम्पनीको मूल्य ९.९९ प्रतिशत र रसुवागढी हाइड्रोपावरको मूल्य ९.८८ प्रतिशतले बढेको छ । कालिञ्चोक दर्शनको मूल्य आज सर्वाधिक ७.५९ प्रतिशतले घटेको देखिन्छ ।

यस्तै, खानीदोला हाइड्रोपावर ७.०२ प्रतिशत, श्रीनगर एग्रोटेक ६.२९ प्रतिशत र साञ्जेन जलविद्युतको मूल्य ६.१० प्रतिशतले बढ्दै धेरै कमाउने शीर्ष पाँच कम्पनीमा परेका छन् ।

कारोबार रकमका आधारमा आज ङादी ग्रुप पावर लिमिटेड अग्रस्थानमा रह्यो । यस कम्पनीको ७० करोड ५३ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

यस्तै, एसवाई प्यानलले ४३ करोड ४२ लाख, रिडी पावर कम्पनी ४१ करोड ९७ लाख, आँखुखोला जलविद्युत ३९ करोड ९१ लाख र तेह्रथुप पावर कम्पनी ३५ करोड ४० लाखको कारोबार भएका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..