काठमाडौँ, माघ २९ गते । निर्वाचन आयोगले ‘सवारीसाधनको अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ जारी गरेको छ ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले फागुन २१ गते सम्पन्न हुने निर्वाचनका लागि चुनाव प्रचार-प्रसार र मतदानको दिन सवारीसाधन प्रयोगलाई व्यवस्थित, मर्यादित र नियन्त्रित बनाउन सो कार्यविधि जारी गरिएको जानकारी दिनुभयो । निर्वाचन आयोग ऐन, २०७३ ले दिएको अधिकार प्रयोग गरी आयोगले सो कार्यविधि जारी गरेको हो ।
आसन्न प्रतिनिधिसभा निर्वाचनको सन्दर्भमा राजनीतिक दल, उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन प्रचार-प्रसारको अवधिमा तथा मतदानको दिन प्रयोग गर्ने सवारीसाधनको अनुमतिलाई व्यवस्थित गर्न आयोगले सो कार्यविधि जारी गरिएको हो । कार्यविधिमा उल्लेख गरिएको प्रावधान अनुसार राजनीतिक दल र उम्मेदवार वा उम्मेदवारका प्रतिनिधिले निर्वाचनको प्रचारप्रसार वा निर्वाचनको दिन सवारीसाधन प्रयोग गर्न पाउने निर्वाचन आयोगले जनाएको छ । कार्यविधि अनुसार प्रतिनिधि सभा सदस्य उम्मेदवारले बढीमा दुई वटा दुईपाङ्ग्रे, तीनपाङ्ग्रे वा चारपाङ्ग्रे (हलुका) सवारीसाधन मात्र प्रयोग गर्न पाउने छन् । सवारीसाधन सञ्चालन नहुने ठाउँका उम्मेदवारले बढीमा चार वटा घोडा प्रयोग गर्न पाउने छन् ।
सवारीसाधन प्रयोगका लागि उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतबाट अनिवार्य रूपमा अनुमति लिनुपर्ने हुन्छ । मौन अवधिमा सवारीसाधनको सञ्चालन पूर्ण रूपमा प्रतिबन्धित हुनुका साथै मतदान हुनु ४८ घण्टाअघिदेखि मतदान नसकिएसम्म प्रचारप्रसारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । कार्यविधि अनुसार मतदानको दिन अनुमतिप्राप्त सवारीसाधनबाहेक अन्य कुनै पनि सवारीसाधन सञ्चालन गर्न पाइने प्रावधान रहे पनि हवाई उडानको हकमा यो व्यवस्था लागु नहुने स्पष्ट पारिएको छ ।
विदेशी नम्बर प्लेट प्रयोगमा रोक
निर्वाचनको प्रचार-प्रसारका क्रममा विदेशी नम्बर प्लेट भएका सवारीसाधन प्रयोग गर्न नपाइने कार्यविधिमा स्पष्ट पारिएको छ । त्यसै गरी कार्यविधि अनुसार सवारीसाधन प्रयोगको अनुमतिका लागि राजनीतिक दल, उम्मेदवार वा निजको निर्वाचन प्रतिनिधिले तोकिएको ढाँचामा निर्वाचन अधिकृतसमक्ष निवेदन दिएर सवारीसाधन प्रयोगको अनुमति लिनुपर्ने छ । अनुमति नलिई निर्वाचन प्रयोजनका लागि सवारीसाधन प्रयोग गर्न पाइने छैन ।
त्यसै गरी कार्यविधिमा उल्लिखित प्रावधानलाई उल्लङ्घन गरेमा सवारीसाधन जफत गर्नुका साथै अनुमतिबिना वा मौन अवधिमा चलाइएका सवारीसाधन नियन्त्रणमा लिइने र निर्वाचनपछि मात्र फिर्ता गरिने आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो ।
अनुमतिपत्र नलिई सवारीसाधन प्रयोग गरेमा वा अनुमति लिएको सवारी मौन अवधिमा प्रयोग गरेमा त्यस्ता सवारीसाधन नियन्त्रणमा लिइने छ । ती सवारीसाधन निर्वाचन सम्पन्न भएपछि मात्र फिर्ता गरिने छ । निर्वाचनको प्रचारप्रसार वा मतदानका क्रममा जिल्ला आचारसंहिता अनुगमन समितिले अनुगमनका क्रममा कार्यविधिमा उल्लेख गरिएका प्रावधान उल्लङ्घन गरिएको पाइएमा स्थानीय प्रशासनलाई सवारीसाधन नियन्त्रणमा लिन निर्देशन दिन सक्ने छन् ।
मतदानको दिन सञ्चालन हुने सवारीसाधन
मतदानको दिन उम्मेदवार, सुरक्षाकर्मी, संवैधानिक निकाय तथा पदाधिकारी, राष्ट्रिय सूचना आयोग, निर्वाचन पर्यवेक्षक, कूटनीतिक नियोग, संयुक्त राष्ट्रसङ्घका नियोग, सञ्चार माध्यम, हवाई उडान, अध्यागमन तथा भन्सारसँग सम्बन्धित कार्यालय, विदेशी पर्यटक, अन्तर्राष्ट्रिय सङ्घ संस्था, अवलोकनकर्ता, अनुगमनकर्ता, विशिष्ट अतिथि तथा आयोगले तोकेका अन्य निकाय र व्यक्तिले सवारीसाधन प्रयोगको अनुमति पाउने कार्यविधिमा जनाइएको छ ।
अनुमति लिनु पर्दैन
निर्वाचनको प्रचारप्रसार वा मतदानको दिनसमेत एम्बुलेन्स, दमकल, शववाहन, अस्पताल सेवा, खानेपानी ट्याङ्कर, दुध ढुवानी, दूरसञ्चार, विद्युत् सेवा जस्ता अत्यावश्यक सेवाका सवारीसाधनले अनुमति लिनु नपर्ने कार्यविधिमा स्पष्ट व्यवस्था गरिएको आयोगका प्रवक्ता भट्टराईले जानकारी दिनुभयो । त्यसै गरी सिडी नम्बर प्लेट भएका कूटनीतिक नियोगका सवारीलाई पनि अनुमति लिनु नपर्ने कार्यविधिमा उल्लेख छ ।
– भउचप्रसाद यादव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













