भारदह (सप्तरी), माघ २९ गते। सप्तरी जिल्लाको राजविराजस्थित एकमात्र सरकारी अस्पताल गजेन्द्रनारायण सिंह अस्पतालमा बिरामीको चाप अत्यधिक बढेपछि सेवा प्रदान गर्न कठिनाइ भइरहेको छ।
अस्पतालको आकस्मिक कक्षमा दैनिक ५० देखि ६० जना बिरामी आउने गरेपछि बेड र जनशक्तिको अभावका कारण उपचार गर्न समस्या भइरहेको आकस्मिक कक्षका इन्चार्ज अमित यादवले बताउनुभयो। अस्पतालमा अन्य बिरामीसँगै झाडापखाला तथा ज्वरोका बिरामी पनि आउने गरेका छन्, जसमा बालबालिकाको संख्या बढी रहेको उहाँले जानकारी दिनुभयो। बिरामीको चाप बढेपछि बेड अभावका कारण कतिपय बिरामीलाई भुइँमै राखेर उपचार गर्नुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
आकस्मिक कक्षमा एक सिफ्टमा एक जना चिकित्सकसहित तीन जना स्वास्थ्यकर्मीको ड्युटी भए पनि उनीहरूले ५० देखि ६० बिरामीको उपचार गर्न कठिनाइ भइरहेको बताइएको छ। हाल अस्पतालको आकस्मिक कक्ष, वार्ड र एचडीयू कक्ष सबै बिरामीले भरि-भराउ छन्।
वर्षौंदेखि स्रोत–साधन र जनशक्तिको अभाव झेलिरहेको यस अस्पतालले बिरामीको चाप धान्न कठिनाइ भइरहेको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट अवधेश मिश्रले बताउनुभयो। उहाँका अनुसार ५० शय्याको अस्पतालमा लामो समयदेखि १६२ बेड बराबरका बिरामीलाई सेवा दिइँदै आएको छ, जसका कारण सेवा व्यवस्थापनमा थप चुनौती सिर्जना भएको छ। ५० शय्याको अस्पतालमा पाँच प्रतिशत अर्थात् पाँच बेड आकस्मिक सेवाका लागि छुट्याउनुपर्ने प्रावधान भए पनि यहाँ २५ बेडको आकस्मिक सेवा सञ्चालनमा रहेको र त्यसभन्दा दोब्बर बिरामीको नियमित उपचार गर्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो।

सङ्घीय अस्पतालका रूपमा परिचित यस अस्पताल तीन सय शय्याको हुनुपर्ने भए पनि दरबन्दी अनुसार विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको अस्पतालका प्रशासन शाखा प्रमुख रेवन्तकुमार यादवले जानकारी दिनुभयो। “विशेषज्ञ चिकित्सक उपलब्ध नभएको अवस्थामा गम्भीर प्रकृतिका बिरामी आए उपचार गर्न कठिन हुन्छ,” उहाँले भन्नुभयो। जनशक्ति अभावका कारण ड्युटीमा नभएका स्वास्थ्यकर्मीसमेत बाध्यतावश खटिनुपर्ने अवस्था रहेको उहाँले बताउनुभयो।
आवश्यक जनशक्ति, भौतिक संरचना र उपकरण उपलब्ध गराइएमा बिरामीलाई सहज रूपमा उपचार सेवा प्रदान गर्न सकिने अस्पताल प्रशासनको भनाइ छ।
– सुधा देव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











