कल्याणपुर (सप्तरी), माघ २० गते । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ लाई स्वच्छ, निष्पक्ष, भयरहित तथा शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउन जिल्ला प्रशासन कार्यालय सप्तरीले कडाइका साथ निर्वाचन आचारसंहिता पालन गर्न सबै सरोकारवालालाई निर्देशन दिएको छ ।
जिल्ला प्रशासनले निर्वाचन आयोग नेपालबाट स्वीकृत भई जारी भएको निर्वाचन आचारसंहिता २०८२ को कार्यान्वयनका सन्दर्भमा सूचना जारी गर्दै सञ्चार प्रतिष्ठान, त्यहाँ कार्यरत कर्मचारी, सञ्चारकर्मी, राजनीतिक दल, उम्मेदवार, निर्वाचन प्रतिनिधि तथा अन्य सरोकारवालाहरूलाई कसैको पक्ष वा विपक्षमा कुनै पनि किसिमको प्रचार प्रसार नगर्न आग्रह गरेको हो ।
सूचनामा एस.एम.एस., सामाजिक सञ्जाल, अनलाइन, छापा तथा विद्युतीय माध्यममार्फत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गरी वा नगरी कुनै पनि सामग्री प्रकाशन, प्रसारण वा सम्प्रेषण गर्न नपाइने उल्लेख रहेको छ ।
यस्तै, सामाजिक सञ्जालमा पोस्ट, रिपोस्ट, शेयर, कमेन्ट, प्रतिकमेन्ट, लाइभ स्ट्रिमिङ, ट्याग वा मेन्सन जस्ता गतिविधि गर्न वा गराउन नहुने अनुगमन अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जारी गर्नुभएको सूचनामा भनिएको छ ।
आचारसंहिता विपरीत यस्ता गतिविधि भएको वा गराइएको पाइएमा निर्वाचन आचारसंहिता २०८२ अनुसार आवश्यक कारबाही गरिने चेतावनी समेत जिल्ला प्रशासनले दिइएको हो ।
सबै सम्बन्धित पक्षलाई आचारसंहिता पालना गरी निर्वाचनलाई मर्यादित र विश्वसनीय बनाउन सहयोग गर्न आग्रह समेत गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ ।
– विनय कर्ण
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










