02/02/2026, 20:47:28
सोमबार, माघ १९, २०८२

चितवनमा दुर्गा प्रसाईंका ३ जना कार्यकर्ता पक्राउ


चितवन, माघ १९: तोकिएको स्थानमा भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि दुर्गा प्रसाईंको कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको छ ।

प्रसाईंले भरतपुरको चौबिसकोठी चोकमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन खोज्दा केहीबेर प्रहरी र प्रसाईं पक्षबीच तनावपूर्ण अवस्था सिर्जना भएको थियो । त्यसक्रममा प्रहरीले प्रसाईंका ३ जना कार्यकर्तालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए ।

प्रशासनले स्वीकृति दिएको ठाउँ भन्दा फरक ठाउँमा कार्यक्रम गर्न थालेपछि प्रहरीले हटाउन खोजेको थियो, ३ जनालाई नियन्त्रणमा लिएका छौं,’ प्रहरी नायब उपरीक्षक खनालले भने ।

प्रशासनले दुर्गा प्रसाईंलाई केन्द्रीय बस टर्मिनल चोकको एउटा कुनामा कार्यक्रम गर्न अनुमति दिएको थियो । तर प्रसाईं पक्षले चौबिसकोठी चोक परिक्रम गरेर मात्रै बसपार्क चोकमा कार्यक्रम गर्ने भन्दै माग गरेपछि प्रहरीले चौबिसकोठी परिक्रमका लागि पनि अनुमति दिएको थियो । तर उनीहरुले चौबिसकोठी चोक परिक्रमा नगरी त्यही ठाउँमा कार्यक्रम गर्न लागेपछि प्रहरीले हटाएको हो ।

त्यसअघि बोल्दै प्रसाईंले राजसंस्था स्थापना नभएसम्म निर्वाचन नहुने बताएका थिए । उनीहरु बसपार्कदेखि चौबिसकोठी चोकसम्म र्‍याली निकालेका थिए ।