01/27/2026, 11:28:11
मङ्गलबार, माघ १३, २०८२

उपप्रमुख लामामाथि कार्यालय परिसरमै कुटपिट र दुर्व्यवहार


रौतहट, माघ १३ गते । रौतहटको गुजरा नगरपालिकाका नगर उपप्रमुख रत्ना लामामाथि सोमबार कार्यालय परिसरमै कुटपिट भएको छ । नगरपालिका परिसरमा रहनुभएका लामालाई वडा नं. १ का स्थानीय महिलाहरुको समूहले कुटपिट र दुर्व्यवहार गरेका हुन् ।

कुटपिट र दुर्व्यवहार गर्नुको कुनै कारण नरहेको र अनाहकमा आफुलाई सुनियोजित ढङ्गले आक्रमण गरिएको बताउनुहुँदै गुजरा नगरपालिकाका नगर उपप्रमुख लामाले नगर प्रमुख सन्तलाल प्रसाद चौधरीको इशारामा आक्रमण भएको आरोप लगाउनुभएको छ ।

नगरपालिका परिसरमा कुटपिट अघि गुजरा नगरपालिका वडा नं. १ र ९ को सिमाना पर्ने लमाहा खोलामा नगर उपप्रमुख लामा चढेको प्रदेश २–०३–००१ झ ००२१ नं.को गाडि रोकेर स्थानीयले तोडफोड गरेका थिए ।

नगरप्रमुख चौधरीको टोल पूर्णिमनरवाका स्थानीय र उहाँका भाई भारदारले नगर उपप्रमुख लामालाई गरेको व्यवहार निन्दनीय रहेको बताउनुहुँदै गुजरा नगरपालिकाका कार्यपालिका सदस्य विजय साह बानियाँले घटनाको दोषीलाई कारबाही नभए भोलिको दिनमा नगरप्रमुख वा अन्य जुन सुकै जनप्रतिनिधिसँग यस्ता अप्रिय घटना दोहिरिन सक्ने बताउनुभयो ।

गुजरा नगरपालिका वडा नं. १ मा बुद्ध बहुउद्देशीय सहकारी संस्था र स्वयम् बहुद्देशीय सहकारी संस्थाले किसानलाई मल खाद्य उपलब्ध गराउँदै आएकोमा नगर प्रमुख चौधरीका छोरा, भाई भारदारले आफ्नो लागि नयाँ डिलर दर्ता हुनुपर्ने र साबिकको डिलरबाट मलखाद्य नलिने अडान लिएर नगर उपप्रमुखसँग बारम्बार विवाद गर्ने गरेको त्यसकै निहुँमा कुटपिट समेत गरेको कार्यपालिका सदस्य बानियाँले बताउनुभयो ।

घटना सम्बन्धमा नगरप्रमुख चौधरीले किसानले समयमा मलखाद्य नपाएका कारण आक्रोशित किसानले नगर उपप्रमुखलाई दुर्व्यवहार गरेको बताउनुहुँदै यस घटनामा आफ्नो संलग्नता नरहेको दावी गर्नुभयो ।

घटना सम्बन्धमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायव उपरीक्षक रुपा लाबुंगले जानकारी दिनुभयो ।

– प्रवीणकुमार शर्मा