रेसुङ्गा(गुल्मी), माघ १३ गते । उम्मेदवार चुनावी अभियानमा मतदातासँग भोट माग्न गाउँ छिरे । निर्वाचन आयोगले पनि आवश्यक व्यवस्थापकीय काम गरिरहेको छ । तर नेपाल प्रहरीलाई निर्वाचन प्रहरीको व्यवस्थापन गर्न हम्ये–हम्ये परेको छ । त्यो पनि माग अनुसारको सङ्ख्या पुर्याउन ।
गुल्मीमा निर्वाचन प्रहरीका लागि महिलाहरुको आकर्षण कम देखिएको छ । समग्रमा महिला पुरुषकै सङ्ख्या अपुग भएर पटक–पटक आवेदन माग गर्ने अवस्था आएको थियो । तीन पटक आवेदन माग गरेपनि १९९ महिला अझै अपुग देखिएका छन् । पहिलो चरणमा पुस २५ देखि माघ १ गतेसम्म आवेदन माग गरिएको थियो । जसमा पुरुष ९४९ र महिला २३५ गरेर एक हजार १८४ जनाले आवेदन दिएका थिए ।
माग सङ्ख्या अपुग भएपछि माघ २ र ३ गते थपिएको समयभित्र पुरुष १७४ र महिला ६० गरेर २३४ जनाले आवेदन दिएका थिए । गुल्मीमा तेस्रो पटक माघ १० र ११ गते निर्वाचन प्रहरीका लागि आवेदन माग भएको थियो । यो चरणमा भने पुरुष ६१६ र महिला १८२ गरेर ७९८ जनाले आवेदन दिए । तीन पटकमा पुरुष एक हजार ७३९ र महिला ४७७ गरेर दुई हजार २१६ जनाले आवेदन दिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिनुभयो ।

आवेदनको अवस्था हेर्दा अहिले पुरुषको ५२१ बढि आवेदन परेको छ । जिल्ला प्रहरीको माग सङ्ख्या एक हजार ६९५ मध्ये पुरुष एक हजार १९ र महिला ६७६ जना आवश्यक छ । तर अझै पनि १९९ महिला अपुग रहेको प्रहरी नायब उपरीक्षक सारुले जानकारी दिनुभयो ।
गुल्मीमा आगामी प्रतिनिधी सभा निर्वाचनका लागि एक हजार ८७४ निर्वाचन प्रहरी भर्ना आह्वान गरिएको थियो । जिल्ला प्रहरी कार्यालय, गुल्मी र सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मी मार्फत दरखास्त माग गरिएको छ । जिल्ला प्रहरी कार्यालयतर्फ एक हजार ६९५ र सशस्त्र प्रहरीका लागि १७९ जना निर्वाचन प्रहरी माग गरिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्रसाद गैरेले जानकारी दिनुभयो ।
उहाँका अनुसार दुवै तर्फ भर्ना एकीकृत हुनेछ । सशस्त्र प्रहरी तर्फ तीन पटकमा १७२ पुरुष र २९ महिला गरेर २०१ जनाले आवेदन दिएको सशस्त्र प्रहरी वल, नेपाल नं ३७ गुल्मका सशस्त्र प्रहरी नायब उपरीक्षक सुदिप प्रसार्इँले जानकारी दिनुभयो । अघिल्लो निर्वाचनमा भन्दा अहिले ४१४ बढी निर्वाचन प्रहरी माग भएको छ । गुल्मीमा दुई लाख २९ हजार ५४९ मतदाता कायम भएको छ । गुल्मीमा १४५ मतदानस्थल र २८४ मतदानकेन्द्र रहेका छन् । दुई निर्वाचन क्षेत्रबाट ४३ जना उम्मेदवारले चुनावी प्रतिस्पर्धा गर्दैछन् ।
– टोपलाल अर्याल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












