01/26/2026, 17:42:53
सोमबार, माघ १२, २०८२

मधेस जाँदैछु, किनकि म देश जोड्न चाहन्छु : कांग्रेस सभापति थापा


काठमाडौँ, माघ १२ : कांग्रेस सभापति गगन थापाले देशलाई जोड्न मधेस जान लागेको बताएका छन् । काठमाडौं-४ का मतदातालाई सम्बोधन गर्दै थापाले सोमबार एक भिडियो सन्देश जारी गर्दै आफू देशलाई जोड्न मधेस जान लागेको बताएका हुन् ।

देशको एक ठाउँको अवस्था अर्को ठाउँमा सुनाउनुपर्ने सभापति थापाको भनाइ छ । ‘म मधेस जाँदैछु किनकि म देश जोड्न चाहन्छु । म काठमाडौंका कथाहरू मधेस लगेर सुनाउन चाहन्छु । अनि मधेसका कथाहरू, मधेसका पीडाहरू, मधेसका व्यथाहरूलाई बुझ्दै काठमाडौं ल्याएर सुनाउन पनि चाहन्छु । म सबैको सम्मान रहँदै गर्दा मात्रै हामीसँगै नेपालीहरूको सम्मान रहन्छ भन्ने कुरामा विश्वास राख्छु,’  सभापति थापाले भने, ‘म उत्तेजनाको राजनीतिमा विश्वास राख्दिनँ तर म अधिकार नभइकन सबैको बीचमा एकता हुन्छ भन्ने कुरामा विश्वास राख्दिनँ ।

२०७० को संविधानसभा निर्वाचन, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं-४ बाट निर्वाचित भएका सभापति थापा आगामी फागुन २१ को निर्वाचनमा सर्लाही-४ बाट उम्मेदवार बनेका छन् । काडमाडौं-४ का मतदाताले यसपटक निर्वाचन क्षेत्र नछोड्न भनेर आग्रह गरेको अवस्थामा पनि मधेससँगको सम्बन्ध बिस्तार गर्न आफू सर्लाही जान लागेको थापाको भनाइ छ ।

म भर्खर मात्र विशेष महाधिवेशनबाट पार्टीको सभापति भएको छु । यो पटक पार्टीका साथीहरूले कुनै पनि हालतमा निर्वाचन क्षेत्र छोड्नु हुँदैन भनेर भन्नुभयो । तर मलाई कांग्रेस पार्टीको एउटा जिम्मेवारी निर्वाह गरिरहँदै गर्दा मधेशसँगको सम्बन्धलाई अझै प्रगाढ बनाउनु पर्छ भन्ने मेरो तीव्र इच्छा रह्यो,’ सभापति थापाले भने, ‘सर्लाही क्षेत्र नम्बर ४ का साथीहरूले माया गरेर बोलाउनुभयो । म त्यहाँ जाँदैछु । मधेसको प्रतिनिधित्व गर्दै गर्दा र त्यहाँका मुद्दाहरूलाई बुझ्दै गर्दा, त्यसको समाधानको लागि मैले पहल गर्दै गर्दा प्रकारान्तरले मैले सिंगो नेपालको मुद्दाहरूलाई नै हल गर्ने कुरामा ठूलो आफ्नो भूमिका निर्वाह गर्नसक्छु भन्ने विश्वास राखेको छु ।

सभापति थापाले मधेससँग जोडिनका लागि काठमाडौंबाट सर्लाही जाने निर्णयमा पुगेको सभापति थापाको भनाइ छ । काठमाडौं-४ मा कांग्रेसले सचिन तिमिल्सिनालाई उम्मेदवार बनाएको छ ।

माघ ६ मा वारेस मार्फत मनोनयन दर्ता गरेका सभापति थापा सोमबार सर्लाही-४ पुगेका छन् ।