काठमाडौँ, माघ २ : ‘तपाईंहरू पनि बालेनको मान्छे हो ?’ झापाको बहुप्रचारित दमक–३ स्थित भ्युटावर अगाडि भेटिएकी ५० वर्षीया पवित्रा धिमालले सुरुमै प्रश्न गरिन् । उनको प्रश्नले नै हामीलाई बुझायो, झापामा बालेन्द्र शाह प्रति चासो कति छ । मतदाताको मुड बुझ्न बालेन्द्र र सिंगो रास्वपाका तर्फबाट भइरहेको ‘फिल्ड भिजिट’ ले पनि स्थानीयको चासो झन् बढाएको छ । यसबीचमा धेरै सर्वेक्षण भएका छन् ।
‘चहलपहल बुझ्न भन्दै कापी–कलम, कम्प्युटर (ट्याब) बोकेर आउँछन्, धेरैजसोले पहिले अनेक कुरा गरेर अन्तिममा कसलाई भोट दिने हो भन्दै सोध्छन्,’ धिमालले भनिन्, ‘तपाईंले पनि त्यही सोध्ने हो ?’
पार्टीकै कार्यकर्तासँग बोल्दा कसले के भन्ने हुन् भन्ने संकोच उनलाई लाग्छ । तर हामी पत्रकार हौं भनेपछि उनले यसपालि नयाँलाई छान्ने कि भन्ने सोचिरहेको बताइन् । कुरा गर्दै गएपछि अझै खुलेर भनिन्, ‘बालेनलाई धेरैले राम्रो उम्मेदवार भनिरहेका छन्, काठमाडौंको फोहोर ठाउँलाई राम्रो बनाए रे, यहाँ कसो नबनाउलान् ? मेरो परिवारका सबैले उनलाई नै भोट दिने सोचेका छौं ।’
कतिपय आफन्तले भने पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भोट दिनुपर्छ भन्दै आफूलाई फकाउने गरेको उनी बताउँछिन् । ‘मेरै परिवारमा पनि बा (ओली) लाई नै दिनुपर्छ भन्छन्,’ उनले भनिन्, ‘मैलेचाहिँ नयाँलाई दिइहेर्ने कि भनेकी छु ।’
तीन वर्षअघि भएको संसदीय निर्वाचनमा झापा–५ बाट एमाले अध्यक्ष ओलीले देशभरकै सर्वाधिक मत ल्याएका थिए । उनी ५२ हजार ३ सय १९ मतसहित विजयी हुँदा प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीको २३ हजार ७ सय ४३ मत थियो । २८ हजार ५ सय ७६ मतान्तरले जितेका ओलीसँग आसन्न प्रतिनिधिसभा चुनावमा प्रतिस्पर्धा गर्न काठमाडौं महानगरपालिकाका मेयर एवं रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाह आउने चर्चाले माघको ठिहीमा पनि झापा रनक्क तातेको छ ।
झापा–५ लाई आफ्नो सर्वाधिक बलियो गढ मान्ने एमाले चुनावतर्फ मोडिएको मात्र छ, तर बालेन्द्र र रास्वपाले भने अनेक टोली पठाइसकेका छन् । अहिले पनि बालेन्द्रका सहायक स्वकीय सचिव नवीन भण्डारीसहितको टोली झापा–५ मा छ । रास्वपाले चुनावी अभियानका लागि दमक–३ मा घर भाडामा लिएको छ ।
‘हाम्रा वरिष्ठ नेता बालेन्द्र शाहज्यूको चुनावी तयारीका लागि कम्तीमा ४५ जना निरन्तर यहीँ बस्ने भएकाले तीन वटा घर खोजिरहेका छौं,’ रास्वपा झापाका सभापति प्रकाश पाठक भन्छन्, ‘त्योमध्ये एउटा घर टुंगो लागेको छ, त्यसमा १५ जनाजति साथी बस्नुहुन्छ । बाँकी त्यही हिसाबले घर खोज्दै छौं ।’
बालेन्द्रलाई भेट्न पाठकसहितको टोली २७ पुसमा काठमाडौं आएको थियो । ज्वागलमा भएको भेटको प्रसंग सुनाउँदै उनले भने, ‘त्यो भेटमै उहाँले झापा–५ बाट पूर्वप्रधानमन्त्री ओलीविरुद्ध चुनाव लड्ने स्पष्ट बताउनुभएको थियो, त्यहीअनुसार तयारी तीव्र भइरहेको छ ।’
बालेन्द्रले ३ माघमा मेयरबाट राजीनामा दिने र दुई दिनपछि जनकपुरमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यसपछि उम्मेदवारी दर्ताका लागि उनी झापा–५ पुग्नेछन् । काठमाडौंका मेयर चुनाव लड्न आफ्नो पुस्तौनी जिल्ला महोत्तरीसमेत नाघेर सुदूरपूर्व झापा किन पुग्दै छन् ? बालेन्द्रका पूर्वस्वकीय सचिव एवं रास्वपाका सहमहामन्त्री भूपदेव शाह भन्छन्, ‘जेन–जी आन्दोलनमा जसले दमन गरेर कलिला युवाको ज्यान लियो, उसलाई सम्बन्धित निर्वाचन क्षेत्रमै हराएर परिवर्तनको एजेन्डा स्थापित गर्न खोजेका हौं ।’
प्रजातन्त्र पुनर्बहालीपछि २०४८ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन प्रधानमन्त्री, कांग्रेस कार्यवाहक सभापति तथा प्रधानमन्त्रीका सम्भावित उम्मेदवारसमेत रहेका कृष्णप्रसाद भट्टराईलाई काठमाडौं–१ मा पराजित गरेर एमालेका युवा महासचिव मदन भण्डारीले आफ्नो र पार्टीको चर्चा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्याएका थिए ।
बालेन्द्र अहिले त्यस्तै इतिहास दोहोर्याउन, आफूलाई निर्विकल्प राष्ट्रिय नेताका रूपमा स्थापित गर्न र झापाको चुनावले देशभरि पार्टीका पक्षमा ध्यान खिच्न त्यहाँ पुग्दै छन् । उबेला भण्डारी ३९ वर्षका मात्र थिए भने भट्टराई ६७ वर्षका । अहिले बालेन्द्र ३६ वर्ष पुग्दै छन् भने ओली दोब्बरभन्दा दुई वर्ष बढी ।
रास्वपाका जिल्ला सचिव शम्भुप्रसाद ढकाल पनि काठमाडौं आएर बालेन्द्रलाई भेट्ने टोलीमा थिए । बालेन्द्र पछिल्लो नेपाली राजनीति र सम्भावनाको एउटा ‘ब्रान्ड’ भएकाले मतदाताले जिताउने दाबी गर्छन् उनी । बालेन्द्र मेयर बनेपछि काठमाडौंमा नागरिकले नाक थुन्नुपर्ने अवस्था नरहेको उल्लेख गर्दै उनले भने, ‘बालेनले उतै सम्भावना देखाइसक्नुभएको छ । उहाँलाई देशको भूगोल थाहा छ, सम्भावना पनि थाहा छ । यो कुरा मतदाताले राम्ररी बुझेका छन् । त्यसमाथि झापा चितवनपछि रास्वपाको सबैभन्दा धेरै सक्रिय सदस्य भएको जिल्ला पनि हो ।’
सधैं चुनावअघि नै ओलीको विजय निश्चित भएको बताउने मतदाता यसपालि फरक नतिजा आउन सक्ने विश्लेषण गर्न थालेका छन् । ‘ओली यहाँ निकै बलिया छन् । उनलाई पुराना नेता कसैले हराउन सक्दैनन्,’ दमक चोकमा भेटिएका दमक–९ का मतदाता रामप्रसाद कोइरालाले भने, ‘तर, बालेनजस्ता नयाँ पुस्ताका नेताले उनलाई हराइदिन सक्छन्, उथलपुथल ल्याइदिन सक्छन् । यति भन्न धक मान्नु पर्दैन ।’
ओली झापामा अविजित भने होइनन् । २०४८, २०५१, २०५६, २०७०, २०७४ र २०७९ मा गरी ६ पटक उनले संसद्मा झापाको प्रतिनिधित्व गरेका छन् । २०६४ मा भने माओवादी उम्मेदवार विश्वदीप लिङ्देनले उनलाई करिब १२ सय मतान्तरले हराएका थिए ।
२०७९ को निर्वाचनमा भन्दा पनि २०७४ मा उनले अझ धेरै मत र मतान्तरले विजयी भएका थिए । ओलीले ५७ हजार १ सय ३९ मत ल्याउँदा कांग्रेसका अधिकारीले २८ हजार २ सय ९७ मत ल्याएका थिए । गत निर्वाचनमा ओलीले २८ हजार ८ सय ४२ मतान्तरले जित्दा रास्वपाका सुरेशकुमार पोखरेलले ११ हजार ७ सय ४८ मत ल्याएर तेस्रो भएका थिए ।
समानुपातिकतर्फ भने रास्वपाले १८ हजार २ सय ५ मत पाएको थियो । तर बालेन्द्रले उम्मेदवारी दिने चर्चाले अहिल्यै पुराना उम्मेदवारलाई रक्षात्मक बनाइसकेको कोइराला जिकिर गर्छन् । ‘अहिलेसम्म बालेन यता आएका छैनन्, मतदाताले मिडियामा मात्र उनलाई सुनेका हुन् । यत्तिकैमा उत्साह छ, झन् उनी भोलि घरघरमा हिँड्न थालेपछि माहोल कस्तो होला ?’ उनी भन्छन्, ‘अहिले घरघरमा बालेनकै विषयमा कुराकानी भइरहेको छ ।’
कुल मतदाता १ लाख ६३ हजार ३ सय ७९ मतदाता रहेको झापा–५ मा करिब १० हजार मतदाता नयाँ हुन् । हामीले भेटेका अधिकांश युवा मतदाता ओलीको पक्षमा खुलेर बोलेनन् । पाका मतदाता भने पूर्वप्रधानमन्त्री ओलीलाई मत दिने बताउँछन् । ‘हामीलाई विकास गर्ने, देश बचाउने र जिल्लालाई माया गर्ने नेता चाहिएको छ । अस्तिको आन्दोलन विदेशीको चलखेल हो, हामीलाई देशको पुत्र चाहिएको हो,’ दमक ट्याक्सी स्ट्यान्डमा भेटिएका तुलाराम बाँस्तोला (७२) ले भने, ‘उम्मेदवारी दिन त जसले पनि पायो तर जित्नेचाहिँ ओलीले नै हो ।’
दमक नगरपालिका–८, किरात चोकका ८७ वर्षीय तारानिधि सापकोटाले त स्थानीय क्षेत्रभन्दा बाहिरबाट आउने उम्मेदवारले जिते पनि केही काम नगर्ने ठोकुवा गरे । ‘धेरै वटा चुनावमा भोट हालेको छु, बाहिरका मान्छेले केही गर्न सक्दैनन् भन्ने बुझेको छु,’ उनले भने, ‘बरु धेरैले ओलीलाई चाहिँ बुझ्न सकेनन् । बच्चाबच्चीको ज्यान गयो, त्यसमा साह्रै दुःख लागेको छ तर प्रधानमन्त्रीले मारेको हो त ?’
बुधबार र बिहीबार झापा–५ का विभिन्न स्थानमा भेटिएका १८ देखि ३५ वर्षसम्मका अधिकांश मतदाता यसपालि केही नयाँ गर्ने मुडमा देखिए । यद्यपि कतिपय भने बालेन्द्रले जित्नेमा शंका गर्छन् । ‘जित्न त केपी बाले नै जित्लान् तर मचाहिँ यसपालि बालेन्द्र शाहलाई मत दिने मात्र होइन, भोट माग्दै घरघरमा पनि निस्किन्छु,’ सम्झना बराल (३३) भन्छिन्, ‘म कांग्रेसको समर्थक थिएँ तर प्रधानमन्त्रीको उम्मेदवार भनेर ओलीलाई भोट हाल्दै आएकी थिएँ । यसपालि मेरो भोट बालेनलाई हुन्छ ।’
ओलीलाई पटक–पटक मत हालेर जिताए पनि केही काम नभएको बरालको गुनासो छ । ‘भ्युटावर र दुई/तीन ठाउँ सडक बने होलान् तर त्यही भ्युटावरमा सपिङ सेन्टर खुल्यो भने सामान किन्ने पैसा कहाँबाट आउँछ ?’ उनी भन्छिन्, ‘रोजगारीको केही अवसर छैन, बाले फेरि पनि जितेर केही हुँदैन ।’
कमल गाउँपालिका–२ का ईश्वरी गौतमले भने फरक मत सुनाए । ‘म सधैं एमालेको छत्रछायामा हुर्किएको मान्छे हुँ । तर यसपालि म भोट नहाल्ने गरी बसेको छु । तर बाहिरका उम्मेदवारलाई भेट्नसमेत गाह्रो छ, त्यहीँको मान्छेले स्थानीय समस्या बुझेका हुन्छन् । त्यसैले बालेनलाई कठिन हुने देख्छु,’ उनले भने, ‘बालेनलाई पनि जनताले चिनेका छन्, काठमाडौंमा मेयर भएपछि जनतालाई भेटघाटमा समेत निषेध गरे । त्यसैले ओलीका लागि परिस्थिति असहज छैन ।’
एमाले नेताहरू ओलीसँग जनताको भेटघाट सहज भएको र प्रधानमन्त्री हुँदा झापा–५ मा गरेका काम नै जितका लागि पर्याप्त हुने बताउँछन् । ‘ओली प्रधानमन्त्री हुँदा दमक क्षेत्रमा योजनाको चाङ नै लाग्यो । कसलाई छान्नुपर्छ भन्ने मतदाताले राम्रोसँग बुझेका छन्,’ एमाले दमक नगरका अध्यक्ष राम पौडेल भन्छन्, ‘एक पटक अर्को उम्मेदवारलाई जिताउँदा कति समस्या भयो भन्ने बुझेकाले पनि मतदाताले त्यो गल्ती दोहोर्याउँदैनन् ।’
ओलीले बेलाबेला आफैं फोनसमेत गर्ने गरेको कतिपय स्थानीयले बताए । ‘बालेन यहीँको बासिन्दा भए फरक स्थिति पनि हुन सक्थ्यो होला, तर काठमाडौंबाट केही दिनका लागि आउनेलाई कसले भोट दिन्छ ?’ बेलडाँगी रोडमा भेटिएकी ३० वर्षीया सुनिता अधिकारीले भनिन्, ‘बालेन व्यक्तिगत रूपमा राम्रो मान्छे होलान्, तर भोलि हामीलाई समस्या पर्दा उनलाई भेट्न सकिन्छ ?’
एमाले समर्थकहरू ओलीले झापा–५ मा विकासको लहर ल्याएकाले उनको विकल्प कसैले नसोचेको दाबी गर्छन् । दमक भ्युटावर निर्माणदेखि सडकसम्ममा धेरै काम भएको उनीहरूको भनाइ छ । युवा मतदाता भने त्यस्ता अधिकांश योजना अलपत्र रहेको बताउँछन् । ‘ओलीले दमकमा ल्याएका जति योजना अरू कसले ल्याउँछ भन्नेहरू पनि छन्, तर ती योजनामा कति काम भएका छन् भन्ने कसैले सोचेको छ ?’ पर्वत बस्नेत (२५) प्रश्न गर्छन्, ‘खासमा उनले अघि सारेका योजना सुन्दा मात्र प्रिय लाग्छन्, काम सबै अलपत्र छन् ।’ बस्नेत जेन–जी आन्दोलनमा सक्रिय थिए ।
दमकमा युवालाई लक्ष्य गरेर नाटकघर बनाउने योजना वर्षौंदेखि अलपत्र परेको बरु कुनै प्रतिफल नआउने भ्युटावर बनाउन ओली अग्रसर भएको उनको आरोप छ । ओलीबाहेक अरूले बजेट ल्याउन सक्दैनन् भन्ने भाष्य नै गलत भएको उनको भनाइ छ । ‘झापा–५ ले ओलीबाहेक अरूलाई अवसर दिएको छ र ?’ उनी भन्छन्, ‘बालेन पनि प्रधानमन्त्रीको उम्मेदवार भएकाले यस विषयमा मतदाताले चिन्ता गर्नु पर्दैन ।’
देशकै अग्लो भ्युटावरका रूपमा बहुप्रचारित दमक व्यापारिक भवन ओलीकै पहलमा निर्माण भए पनि पूर्ण रूपमा सञ्चालनमा आएको छैन । १८ तले भवन जेन–जी आन्दोलनमा तोडफोड भयो । त्यस्तै कमल गाउँपालिका–५, गेउरियामा ‘आदिवासी जनजाति रंगशाला’ बनाउन २०६६ देखि प्रयास भए पनि नामको विवादले अलपत्र छ । आदिवासी जनजातिले समाधिस्थलका रूपमा प्रयोग गरेको जग्गामा ‘आदिवासी रंगशाला’ बनाउने गरी वैशाख २०६७ मा तत्कालीन रक्षामन्त्री विद्या भण्डारीले शिलान्यास गरेकी थिइन् । तर २०७२ मा प्रधानमन्त्री हुँदा ओलीले रंगशालाको नाम फेरेर ‘मदन भण्डारी रंगशाला’ का नाममा बजेट छुट्याएका थिए । तर आदिवासी जनजातिले विरोध गरे । नाम परिवर्तनको प्रस्तावमा कांग्रेसले पनि साथ दिएन । त्यहाँ निर्माण अघि बढाउन नसकिने भएपछि ओलीले पछि दमक–३, हंसे–दुम्से सामुदायिक वनको जग्गामा रंगशाला बनाउने घोषणा गरे । तर त्यो पनि अलपत्र छ ।
दमकमा ६४ अर्ब ९० करोड रुपैयाँ लगानीमा नेपाल–चीन मैत्रीपूर्ण औद्योगिक पार्क बनाउने भन्दै ओलीले १७ साउन २०७६ मा शिलान्यास गरेका थिए । तर अहिलेसम्म पनि काम अघि बढ्न सकेको छैन । दमकलाई नमुना सहर बनाउनेदखि प्रदेशकै सबैभन्दा ठूलो सभागृह दमकमै बनाउनेसम्मका योजना अलपत्र छन् । यिनै विषयलाई एजेन्डा बनाएर ओलीविरुद्ध अभियान चलाउने तयारी रास्वपाको छ ।
दमकमा जेन–जी आन्दोलन आह्वानकर्तासमेत रहेका सुगम सिग्देल (१९) एमाले अध्यक्ष ओलीसँग मतदाता निराश रहेको जिकिर गर्छन् । ‘विगतमा दलहरूले मतदातालाई क्षमतावान उम्मेदवार विकल्प नदिँदा ओलीले जित्दै आएका थिए, तर यसपालिको अवस्था त्यो होइन । बालेन्द्रजस्तो विकल्प पाउँदा मतदाताले दायाँबायाँ गर्दैनन्,’ उनी भन्छन् ।
दमक बहुमुखी क्याम्पसमा बीबीएस अध्ययनरत उनी हरेक घरका जेन–जीले आफ्ना बुबाआमासँग बालेन्द्रलाई नै मत हाल्न आग्रह गरिरहेको बताउँछन् । ‘अनेक नीति ल्याएर भ्रष्टाचार गर्नेविरुद्ध बालेन जत्तिको उम्मेदवार चाहिन्छ, झापा–५ का मतदाता उनलाई स्वागत गर्न तयार भएर बसेका छन्,’ उनी भन्छन्, ‘जेन–जी आन्दोलनपछिको म्यान्डेट पनि युवा आउनुपर्छ भन्ने हो, त्यसमाथि देशको भावी प्रधानमन्त्री बालेनलाई उम्मेदवारका रूपमा पाउनु दमकका लागि भाग्यको कुरा हो ।’
एमाले दमक नगर अध्यक्ष पौडेल भने झापा–५ का मतदाता जुनसुकै पार्टीमा आबद्ध भए पनि मतपत्रमा सधैं ओलीकै पक्षमा उभिँदै आएको दाबी गर्छन् । ‘बालेन आउँदैमा केही समस्या हुँदैन, ओलीका पक्षमा स्थिर मतदाता छन्,’ उनले भने, ‘हामीले बालेनलाई प्रमुख प्रतिस्पर्धीसमेत ठानेका छैनौं । विगतमा कांग्रेससँग प्रतिस्पर्धा भएको हो, यसपालि पनि कांग्रेसकै उम्मेदवारसँग प्रतिस्पर्धा हुने हो ।’ कांग्रेसबाट यसपालि ओलीका पूर्वप्रतिद्वन्द्वी खगेन्द्र पाण्डव अधिकारीसहित अइन्द्रविक्रम केरुङ, पदमबहादुर पौडेल, मन्दरा चिमरिया, देवीप्रसाद दाहाल, मेदनी सिटौला र सिरम कार्कीको नाम सिफारिस भएको छ ।
विगतका निर्वाचनलाई हेर्दा झापामा ओलीको पकड भए पनि उनले जित सुनिश्चित गराउन राप्रपासँग तालमेल गर्दै आएका छन् । २०७४ को निर्वाचनमा राप्रपाबाट एक्ला सांसदका रूपमा झापा–३ बाट राजेन्द्र लिङ्देनले जित्दा एमालेसँग तालमेल थियो ।
पछिल्लो निर्वाचनमा पनि एमाले र राप्रपाबीच औपचारिक तालमेल भएको थियो । कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई दोस्रो पटक हराएर लिङ्देन झापा–३ बाट विजयी हुँदा झापा–५ मा ओलीले ढुक्कसँग जितेका थिए । झापामा यसपालि पनि एमाले र राप्रपाबीच तालमेल हुने एमालेका स्थानीय नेताहरूको दाबी छ । यहीबीच २३ पुसमा एमाले अध्यक्ष ओली र राप्रपा अध्यक्ष लिङ्देनबीच राजधानीमा भेट पनि भएको छ ।
दमक नगरपालिकामा राप्रपाका नेता राम थापा मेयर छन् । यद्यपि स्थानीय तह निर्वाचनमा राप्रपाले कांग्रेस लगायतसँग गठबन्धन गरेको थियो । राप्रपाका झापा जिल्ला अध्यक्ष केशव ओझा यो पटक गठबन्धनका विषयमा कुनै छलफल नभएको बताउँछन् । ‘झापा–५ बाट लक्ष्मी संग्रौला र गोपाल पौडेल सिफारिस हुनुभएको छ, सकभर गठबन्धन नगर्ने पक्षमा छौं,’ उनी भन्छन् ।
यसपालि झापा–५ सहित पूर्वका धेरै निर्वाचन क्षेत्रमा वैकल्पिक शक्तिका लागि हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी ठूलै चुनौती हुने सम्भावना छ । धरानका मेयरसमेत रहेका साम्पाङले बालेन्द्रलाई नै निसाना बनाएर अभिव्यक्ति दिँदै आएका छन् । बालेन जहाँबाट उठे पनि हराइदिने भन्दै आएका साम्पाङले बिहीबार बेलुकीसमेत सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी ओली र बालेन दुवैलाई झापा–५ मा पाहा पछराई पछार्ने छौं, जति नै भ्रमको अँध्यारो छर, म आएर बोलेपछि एकै सेकेन्ड तिमरूको भ्रम टिक्नेवाला छैन ।’
श्रम संस्कृति पार्टीका प्रवक्ता सत्य घले आफूहरूले पार्टी सहमहासचिव समीर तामाङलाई झापा–५ मा उम्मेदवार बनाउने तयारी गरिरहेको बताउँछन् । ‘धरानको मेयर सा’बले पनि भनिरहनुभएको छ, ओली वा बालेन जोसुकै हुन्, हामीले हराउने हो,’ उनले भने, ‘श्रम संस्कृति पार्टीले कोहीसँग गठबन्धन गर्दैन ।’
झापा–५ मा आदिवासी जनजाति समुदायको मत निर्णायक रूपमा महत्त्वपूर्ण छ । रास्वपाबाट अघिल्लो निर्वाचनमा झापा–५ बाट उम्मेदवार बनेका सुरेशकुमार पोखरेल भन्छन्, ‘बालेन उठ्दा र हामी उठ्दाको परिस्थिति स्वाभाविक रूपमा फरक हुने भइहाल्यो, तर झापा–५ मा राई, लिम्बूलगायत आदिवासी जनजाति समूहको मत पनि चुनाव जित्नलाई महत्त्वपूर्ण हुन्छ ।’
उनले विगतमा आफूले पार्टीको उपस्थिति नै नभएका बेलासमेत माइक बोकेर प्रचारप्रसारमा हिँडेको सम्झँदै भने, ‘यसपालि उहाँ आउँदा मैले पनि साथ दिने हो ।’ झापा–५ मा दमक नगरपालिका, कमल गाउँपालिका पर्छन् । त्यस्तै, गौरादह नगरपालिकाका वडा नं. १ देखि ८ सम्म र गौरीगन्ज गाउँपालिकाका वडा नं. ३, ४, ५ र ६ पनि समेटिएका छन् । यस क्षेत्र एकतिहाइ मतदाता आदिवासी जनजाति छन् ।
बालेनका पक्षमा रहेका कतिपय मतदाता भने विगतमा देखिएको फराकिलो मतान्तरका कारण उनको उम्मेदवारी जोखिमपूर्ण मान्छन् । जीवनचक्रम समाज नेपालसँग आबद्ध दमक–१ का गणेशप्रसाद गौतम भन्छन्, ‘बा पुस्ताले हैरान गरेकाले मतदाताले विकल्प खोजिरहेका छन्, तर चुनावी मैदान हो, धेरै मतान्तर छ । त्यसैले तीव्र प्रतिस्पर्धा हुन्छ भन्ने लाग्छ । काठमाडौंमा जस्तो यहाँ उठ्न सहज त नहोला । हाम्रो चाहना बालेनले जितून् भन्ने नै छ ।’
– गौरव पोखरेल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















